‘संस्कार र अनुशासनले बनाउँछ स्थिर पुँजी बजार’

हाम्रो जीवन बहुआयामिक छ । हामीले सन्तुलनसहित पेशागत, पारिवारिक, सामाजिक र सांस्कृतिक जीवनलाई समय दिनुपर्छ । पेशागत जीवनमा जिम्मेवारी पुरा गर्नुपर्छ भने  पारिवारिक जीवनमा परिवारसँग समय बिताउनुपर्छ । सामाजिक जीवनमा समुदाय र सम्बन्ध सुदृढ गर्नुपर्छ भने  सांस्कृतिक जीवनमा पर्व र परम्परालाई सम्मान गर्नुपर्छ । 

नेपाल संवत् हाम्रो गौरवशाली इतिहासको प्रतीक हो । म्ह:पूजा, तिहार र छठले हामीलाई उज्यालो, आशा, संस्कार  र कृतज्ञता सिकाउँछन् । यी पर्वहरूले हामीलाई धेरै ठुलो महत्व र अवसर प्रदान गरिरहेका हुन्छन् । ठीक यही मूल्य र मान्यता हामी पूँजी बजारमा पनि अपनाउन सक्छौं । विश्वास, पारदर्शिता, अनुशासन र दीर्घकालीन सोच नै स्थिर र दिगो बजारको आधार हो ।

यी संस्कारहरू र पर्वहरूको सामीप्यताले गर्दा सम्पूर्ण पूँजी बजारमा आबद्ध रहनु हुने लगानीकर्ताहरू, सदस्यहरू, नियामक निकाय, पूँजी बजारमा सक्रिय व्यक्तित्वहरू र सम्पूर्ण नेपालीहरूको मुहारमा खुसी ल्याओस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

बजारको स्थिरता सम्पूर्ण पूँजी बजारमा आबद्ध रहनुहुने लगानीकर्ताहरू, सदस्यहरू, नियामक निकाय, पूँजी बजारमा सक्रिय व्यक्तित्वहरूको सहकार्यमा निर्भर गर्दछ । ब्रोकर एसोसिएसन पनि हाम्रो बजारको मेरुदण्ड हो । तपाईंहरूको निष्ठा, ज्ञान र सेवा बिना बजार दिगो रहन सक्दैन । सकारात्मक लगानी, संस्कृतिको विकास केवल नियम र प्रणालीबाट होइन, हाम्रो व्यवहार, सोच र समर्पणबाट पनि निर्भर गर्छ ।

पेशागत, पारिवारिक, सामाजिक र सांस्कृतिक जीवनमा सन्तुलन आवश्यक छ । पेशागत जिम्मेवारीले अनुशासित बनाउँछ । पारिवारिक जीवनले संवेदनशील र सहयोगी बनाउँछ । सामाजिक जीवनले जिम्मेवार र समर्पित बनाउँछ । सांस्कृतिक जीवनले उत्साह, आशा र उज्यालो दिन्छ । यी चारै आयाम सन्तुलनमा हुँदा जीवन मात्र सफल हुँदैन, हाम्रो पेशागत क्षेत्र र पूँजी बजार पनि बलियो र पारदर्शी हुन्छ ।

महस्पूजा, तिहार, छठको उज्यालो, आशा र कृतज्ञता बजारका लागि प्रेरणा हो । अन्धकारभन्दा उज्यालो रोजौं, नकारात्मकता होइन, विश्वास र पारदर्शिता कायम राखौं । व्यक्तिगत र सामाजिक जिम्मेवारी बुझौं, हरेक कारोबारमा अनुशासन र इमानदारी कायम राखौं ।

संस्कृति, अनुशासन, इमानदारी, पारदर्शिता र दीर्घकालीन सोचसँगै अघि बढ्दा मात्र बजार स्थिर, दिगो र सशक्त बन्न सक्छ । नेपाल ब्रोकर्स एसोसिएसनलाई यस कार्यक्रम आयोजना र बजार विकासमा देखाएको निरन्तर सहयोगको लागि हार्दिक  धन्यवाद दिन चाहन्छु ।

(स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एस्बान) ले आयोजना गरेको दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंको मन्तव्य)

Share News