काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आगामी ११औं महाधिवेशनपछि अध्यक्षको पदबाट हट्ने संकेत दिएका छन् । एमाले नेतृत्वमा दुई कार्यकाल बिताइसकेका ओलीले अहिलेको बदलिँदो राजनीतिक परिदृश्य र व्यक्तिगत स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै पार्टी नेतृत्व हस्तान्तरण गर्ने मनस्थिति बनाएको एमालेका एक पदाधिकारीले जानकारी दिए ।
ती पदाधिकारीका अनुसार ओली अब वैचारिक नेताको भूमिकामा सीमित हुन चाहन्छन् । कार्यकारी नेतृत्व नयाँ अनुहारलाई दिने तयारी उनको छ ।
ओली निकट एमालेका ती नेताले विकासन्युजसँग भने, ‘अध्यक्षज्यूले पार्टीमा नयाँ पुस्तालाई अघि ल्याउने सोच बनाउनु भएको छ, उहाँ अब मार्गदर्शक बनेर बस्नुहुन्छ ।’
उसो त ओलीले बुधबारको पार्टी केन्द्रीय समिति बैठकमा आफूलाई सामाजिक सञ्जालमा नभई पार्टीको कमिटीमा अध्यक्षबाट हट्न आग्रह गरेमा आफू पछि हट्ने बताएका थिए ।
हालैको दोस्रो विधान महाधिवेशनले ओलीलाई आगामी महाधिवेशनमा पुनः अध्यक्ष बन्ने वैधानिक बाटो खोलेको छ । तर, एमाले स्रोतका अनुसार ओली आफै नेतृत्व हस्तान्तरणको पक्षमा छन् ।
तर, ओलीले नेतृत्व लिन चाहेमा एमालेभित्र उनलाई चुनौती दिन सक्ने नेताको अभाव रहेको ती नेताको बुझाइ छ ।
‘अहिले पनि ओलीले चाहनु भयो भने पुनः अध्यक्ष बन्न सक्नुहुन्छ तर अहिले उहाँ नै नेतृत्व हस्तान्तरणको पक्षमा हुनुहुन्छ,’ ती पदाधिकारीले भने, ‘उहाँ योग्य उत्तराधिकारीको खोजीमा हुनुहुन्छ ।’
ती पदाधिकारीका अनुसार पार्टीको आगामी ११औं महाधिवेशनपछि ओली पक्षधर नेताहरूले बहुमत ल्याउने वातावरण तयार भइरहेको छ । यस्तो अवस्थामा ओलीले आफूसँग राजनीतिक, वैचारिक र सांगठनिक अनुभव भएको नयाँ अनुहारलाई अगाडि सार्न सक्छन् ।
‘ओलीले चाहेको नेतृत्व चयनमा कठिन भएमा ओली आफै पुनः अध्यक्ष निर्वाचित भई उपाध्यक्षमध्ये एक जनालाई कार्यवाहक अध्यक्ष तोकेर अघि बढ्ने सम्भावना पनि खुला नै छ,’ ती नेताले भने ।
यदि ओलीले साँच्चै आगामी महाधिवेशनमा कार्यकारीबाट बिदा लिने मनस्थिति बनाए भने दोस्रो विधान महाधिवेशनबाट पारित भएको विधान संशोधनसमेत गर्न सकिने ती नेताको भनाइ छ । पछिल्लो घटनाक्रमले एमालेको आगामी महाधिवेशनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाउने देखिन्छ । एमालेले मंसिर अन्तिमसम्ममा महाधिवेशन गरिसक्ने निर्णय गरिसकेको छ ।
नेताहरूले खुलेरै गर्न थाले आलोचना
कुनै बेला ओलीको आलोचना गर्न नरुचाउने एमालेका नेताहरु अहिले सार्वजनिक रूपमै आलोचना गर्न थालेका छन् । विशेषगरी जेनजी आन्दोलनपछि एमालेमा नेताहरूले उनीमाथि खुलेर असन्तुष्टि पोखिरहेका छन् ।
बुधबार सुरु भएको पार्टीको केन्द्रीय बैठकमै केही नेताहरूले उनको आलोचना गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठाएका छन् । संगठन विभागका सचिव माधव ढुंगेल, केन्द्रीय सदस्य रचना खड्का, युवराज बास्कोटा, रविन कोइराला, रामलाल साह, नवीना लामा र ममता गिरीलगायत नेताहरूले अब ओलीले पदबाट बिदा लिनुपर्ने धारणा राखेका छन् ।
उनीहरूले सार्वजनिक रूपमा धारणा राखेपछि पार्टीभित्रको अन्तरसंघर्ष सतहमा आएको छ । गत केही वर्षदेखि एमालेमा अध्यक्ष ओलीको एकल निर्णय, संगठनको नियन्त्रण र विचारधारात्मक दिशाबारे आलोचना भइरहेकै हो । तर, यसअघि ती आवाजहरू सीमित वृत्तभित्र मात्र सुनिन्थे ।
अब भने माधव ढुंगेलजस्ता संस्थागत भूमिकामा रहेका नेताबाट नै विद्या भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने र ओलीले नेतृत्वबाट बिदा हुनु पर्ने आवाज उठाइरहेका छन् ।
केन्द्रीय सदस्य रचना खड्का पनि नेतृत्व परिवर्तन गरी नयाँ ऊर्जा ल्याउनु जरुरी रहेको बताउँछिन् । उनले भनिन् ‘एमाले संस्थागत निर्णय र वैचारिक सहमतिको पार्टी हो, तर पछिल्लो समयमा त्यसको अभ्यास हराउँदै गएको छ । अब नेतृत्व परिवर्तनमार्फत नयाँ ऊर्जा ल्याउन जरुरी छ ।’
त्यस्तै, गोकुल बास्कोटा नेतृत्व हस्तान्तरण समयको माग रहेको बताउँछन् ।
उनले बैठकमा भने, ‘ओलीले गरेको योगदानको कदर रहन्छ, तर राजनीतिक संगठनलाई एउटा व्यक्तिको निर्णयमा बाँधेर राख्न सकिँदैन । नेतृत्व हस्तान्तरण समयको माग हो । एमालेमा धेरै नेताहरूले अहिले ओलीलाई सौजन्यपूर्ण बहिर्गमनको सुझाव दिइरहेका छन्। । धेरैको सुझाव ओली सर्वोच्च नेता बनेर बस्ने र कार्यकारी नेतृत्व हस्तान्तरण गर्नुपर्ने रहेको छ ।’
‘बोल्ने धेरै नेताहरूले लोकप्रियता सधैं संस्थागत हुनुपर्छ, व्यक्तिमा केन्द्रित हुँदा संगठन कमजोर हुन्छ,’ उनले थपे।