काठमाडौं । बुधबार देशकै सबैभन्दा बढी सुनका गरगहना खरिदबिक्री हुने ठाउँ न्यूरोड पुग्दा पसलहरु भरिभराउ थिए । अधिकांश मानिसहरुले सुन बिक्री गर्नेभन्दा पनि खरिद गरिरहेका थिए । तर, सुन व्यवसायीले भने सुन नभएको भन्दै फर्काइरहेका थिए । सुन पसलमा पुगेका अधिकांश ग्राहकको व्यवसायीलाई प्रश्न थियो– सुन चाँदी छ ?
व्यवसायीले स्टक सकिएको भन्दै फर्कारहेका थिए । सुन चाँदी खरिद गर्न न्यूरोड पुगेका अधिकांश ग्राहक रित्तै हात घर फर्किदै थिए । हामीले एक जना सुन चाँदी व्यवसायीलाई प्रश्न गर्यौं– ग्राहकलाई किन फर्काइरहनु भएको छ ? उनले जवाफमा भने, ‘सुन चाँदीको मूल्य दैनिक बढिरहेको छ, आज बिक्री गर्नुभन्दा भोलि पर्सी बिक्री गर्दा हामीलाई पनि फाइद्या हुन्छ नी,’ उनले थप्दै भने, ‘हामीले पनि त नाफा खानु पर्यो ।’
अहिले न्यूरोडका अधिकांश व्यवसायीले ग्राहकलाई सुनको अभाव भएको भन्दै घर फर्कारहेका छन् । आजभन्दा भोली बढ्ने र भोलीभन्दा पर्सी बढी बढ्ने अपेक्षासहित बढीभन्दा बढी नाफा खोज्न व्यवसायीले सुनलाई स्टकमै राखेर ग्राहकलाई घर फर्कारहेका छन् ।
पछिल्लो केही समया सुनको मूल्यले हरेक दिन ऐतिहासिक रेकर्ड कायम गर्दै जान थालेपछि बजारमा सुनको कृत्रिम अभाव देखिन थालेको छ । सुनको मूल्य अझै बढ्ने र बजारमा त्यहीअनुसार माग बढेको हुँदा अभाव देखिन थालेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्य भने बजारमा वास्तविक रुपमै सुनको अभाव हुन थालेको बताउँछन् । उनका अनुसार अहिले बजारमा सुनचाँदी दुवैको अभाव छ । सरकारले दैनिक २० किलोभन्दा सुन ल्याउन दिँदैन तर बजारमा अहिले सुनको माग धेरै हुँदा त्यहीअनुसार पु¥याउन समस्या भएको उनको भनाइ छ ।
पूर्वअध्यक्ष शाक्य अमेरिकी अर्थतन्त्र डामाडोल हुँदा डलर कमजोर हुँदै गएको र त्यसको सिधा असर विश्व अर्थतन्त्रमा पनि पर्ने बताउँछन् । शाक्यले डलर कमजोर हुँदा सुनको मूल्य बढिरहेको बताए ।
डलर कोल्याप्स होला भन्ने डरले आफूलाई सुरक्षित राख्नका लागि संसारभरिका बैंकहरूले सुनको माग बढाउँदै गएको र यसले गर्दा पनि सुनको भाउ धेरै बढ्न सक्ने सम्भावना रहेको उनको बुझाइ छ । उनले पछिल्लो समय नेपाली व्यवसायीहरुले पनि सुन खरिद गरिरहेको सुनाए ।
सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिय रत्न शाक्यका अनुसार अहिले सुनको अत्यधिक मूल्य वृद्धिका कारण साना लगानीकर्तालाई सुनचाँदीमा लगानी बढाउन कठिन भइरहेको छ । यसले गर्दा पनि बजारमा सुन अभाव हुन सक्ने उनले बताए ।
महासंघका प्रथम उपाध्यक्ष भाइचन्द्र श्रेष्ठ सुनको मूल्य महंगिदै गएसँगै धेरैले मंसिरमा किन्नुपर्ने सुन अहिले नै लिन खोजेको कारण अभाव हुन थालेको बताए । त्यस्तै उनले सुन हुँदा हुँदै पनि केही व्यवसायीले अहिले बेच्दिन भनेर सुन अभाव गराएको हुन सक्ने सुनाउँछन् ।
उनका अनुसार साउथ अफ्रिका, ब्राजिल, रसिया, चाइनालगायत देशहरुले ब्रिक करेन्सी भनेर डलरको अगेन्समा ल्याउन खोजिरहेका छन् । पछिल्लो पटक भारत पनि त्यसमा संलग्न भएको छ । उनले यदि ब्रिक करेन्सी ल्याउने हो भने डलरको भाउ खस्किनेवाला छ । किनभने अहिलेसम्म डलर मात्रै अन्तर्राष्ट्रिय मुद्रा भनेर चलिहरहेको थियो ।
श्रेष्ठले डलरको भाउ घट्नुअघि चीन र रसियाले सुनसँग डलर साटिरहेका छन् । जसको कारण सुन अभाव भएको उनले बताए ।
विश्लेषकहरूले सन् २०३० सम्ममा सुनको मूल्य प्रतिऔंस ५ हजार डलरसम्म पुग्ने अनुमान गरेका छन् । त्यसपछि पनि सुनको मूल्यवृद्धि जारी रहने सम्भावना विश्लेषकहरूले गरेका छन् । नेपाली व्यवसायीहरूले पनि सुनको मूल्य छिट्टै ३ लाख रुपैयाँ नाघ्ने अनुमान गरिरहेका छन् ।
नेपालमा विशेषगरी दशैं-तिहारजस्तो चाडपर्व र विवाह, ब्रतबन्धको सिजनमा सुनको माग अत्यधिक हुन्छ । अहिले चाडपर्वको सिजन र बिहेको सिजन पनि नजिकिँदै गएसँगै बजारमा महँगो नै भएपनि सुनको माग बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।
अहिले सुनचाँदीको अभाव देखाउँदै व्यवसायीले जर्ती पनि मनलाग्दी रुपमा असुल्न थालेका छन् ।
सम्बन्धित सामग्री : सुनको मूल्य छिट्टै ३ लाख पुग्ने प्रक्षेपण, वार्षिक २० प्रतिशतको प्रतिफल