जहिल्यै विपत् र प्रकोपको मारमा पर्यटन, लगानीकर्तामा निराशा

जेनजी आन्दोलनले पाँच वर्ष पछाडि धकेलियो

काठमाडौं । पर्यटन सधैं शान्ति, स्थायित्व र सुरक्षासँग जोडिएको क्षेत्रको रुपमा लिइन्छ । यो अति संवेदनशील क्षेत्र भएको हुँदा जब देशमा प्राकृतिक प्रकोप, राजनैतिक एवं सामाजिक अस्थिरता, आन्दोलनजस्ता घटना हुन्छन्, त्यसपछि सबैभन्दा छिटो प्रभावित हुने क्षेत्रका रुपमा पर्यटनलाई लिइन्छ । 

गत भदौ २३ र २४ गते जेनजी पुस्ताले भ्रष्टचारविरुद्ध प्रदर्शन गर्दा ७२ जनाले ज्यान गुमाए । सयौं निजी र सार्वजनिक संरचना ध्वस्त भए । प्रर्दशनपछि देशभर कफ्र्यू जारी भयो । हिँडडुल गर्ने सहज परिस्थिति भएन । त्यसले प्रत्यक्ष असर पुग्यो पर्यटकमा । निश्चित गन्तव्यसम्म पुग्नलाई सहज यातायातको व्यवस्था हुन नसक्दा पर्यटकले सास्ती भोग्नुपर्यो ।

प्रदर्शनको क्रममा विश्वकै ठुलो चेन होटलमध्येको होटल हिल्टनमा आगजनी भयो । त्यहाँभित्र रहेका पर्यटकलाई सुरक्षित रुपमा उद्धार गरियो तर यो घटनाले भने विश्वमै नकारात्मक सन्देश सम्प्रेषण भयो । उक्त घटनापछि पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको छ । पर्यटन बोर्डको तथ्यांकअनुसार जेनजी प्रर्दशनपछि नेपालमा ४० प्रतिशत विदेशी पर्यटक आगमन घटेको छ । पर्यटन व्यवसायीहरुका अनुसार जेनजी घटनाले पर्यटनलाई पुनः चार÷पाँच वर्ष पछि धकेलिएको छ ।

नेपालमा २०७२ सालमा महाभूकम्प गयो । महाभूकम्पमा परी ८ हजारभन्दा बढीले ज्यान गुमाए । कयौं संरचनाहरु ध्वस्त भए । भूकम्पका कारण पर्यटकीय स्थलहरुमा क्षति पुग्यो । भूकम्पपछि पनि नेपालबारे अन्तर्राष्ट्रिय जगत्मा नकारात्मक सन्देश पुग्यो, नेपाल पर्यटकको लागि सुरक्षित छैन भनेर । जसले गर्दा नेपालको पर्यटन क्षेत्रलाई ठूलो धक्का लाग्यो । 

भूकम्पले थला परेको पर्यटन क्षेत्र पुनः पहिलेकै अवस्थामा फर्किन केही वर्ष लाग्यो । भूकम्पले थला परेको पर्यटन क्षेत्र विस्तारै उठ्दै थियो फेरि कोभिड–१९ ले प्रभावित बनायो । यसरी एकपछि अर्को विभिन्न घटनाक्रमले नेपालको पर्यटन क्षेत्रलाई प्रभावित बनाइरहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

शान्ति नभई पर्यटन फस्टाउँदैन

पर्यटन क्षेत्र शान्तिको अवस्थामा मात्रै फस्टाउने होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन् । उनले भने, ‘पर्यटन क्षेत्र शान्तिको अवस्थामा मात्रै फस्टाउँछ । होलिडे मनाउन, रमाइलो गर्न मानिसहरू जहाँ शान्ति हुन्छ त्यहीँ जान्छन् । आन्दोलन, कर्फ्यू वा अशान्ति हुँदा पर्यटन स्वाभाविक रूपमा प्रभावित हुन्छ ।’

अध्यक्ष शाहका अनुसार राजनैतिक अशान्तिले मात्रै नभएर प्राकृतिक प्रकोप र विपत्तिले पनि पर्यटनमा ठूलो असर पार्छ । ‘एक ठाउँमा बाढी आयो, पहिरो खस्यो भन्ने घटनाले पनि पर्यटक आउन हिचकिचाउँछन् । यो नेपालमा मात्र होइन, विश्वभर हुन्छ,’ उनी थप्छन् ।

पर्यटन व्यवसायी तथा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे राजनैतिक, प्राकृतिक प्रकोपजस्ता विपद्जन्य घटनाले सबैभन्दा पहिले र बढी प्रभावित पर्यटन क्षेत्रलाई पार्ने तर्क राख्छन् । नेपालको पर्यटन क्षेत्र विदेशी पर्यटकमा आधारित छ । 

पर्यटकहरु यात्रा गर्नुअघि कुनै पनि ठाउँ राजनीतिक, प्राकृतिक हिसाबले सुरक्षित छ कि छैन भनेर चासो लिने गर्छन् । यदि असुरक्षित महसुुस भए पर्यटकहरु घुम्नको लागि नेपाल आउन चाहँदैनन् । जसको कारण नेपालको पर्यटन आगमनमा प्रत्यक्ष असर पर्ने गरेको पाण्डे बताउँछन् ।

कुनै पनि घटनाले छोटो समयको लागि होस् या दीर्घकालिन पर्यटनलाई प्रभावित बनाउँदै आएको उनको तर्क छ । ‘अहिलेको जेनजी आन्दोलन छोटो समयको लागि रह्यो, त्यसले पनि पर्यटक आगमनमा ठूलो असर परेको छ ।’

नेपालमा भएका हरेक प्राकृतिक होस् या मानवीय घटना । ती घटनाहरूबाट भने पर्यटकलाई कुनै क्षति नपुगेको तर्क पर्यटन व्यवसायीहरूको छ । ‘महाभूकम्प होस् या १० वर्षे जनयुद्ध । ती घटनाहरुमा पर्यटकलाई क्षति पुग्यो भन्ने सुनिएन, अध्यक्ष पाण्डे भन्छन्, ‘अस्ति भर्खर भएको जेनजी आन्दोलनमा पनि विदेशी पर्यटकलाई क्षति पुगेको त्यस्तो कुनै समाचार आएन, पर्यटकले त्यस्तो धेरै सास्ती पनि खेप्नु परेन ।’

विदेशी पर्यटकले सास्ती खेप्नु नपरेको भए पनि यस्ता घटनाहरुले विश्वमा राम्रो सन्देश नजाने उनको तर्क छ । नेपालमा मात्रै होइन, संसारमा भइहरने यस्ता घटनाहरुले विश्वमा राम्रो सन्देश जाँदैन, विश्व पर्यटकमाझ नेपाल पर्यटकको लागि सुरक्षित छ भन्नको लागि क्याम्पिएन नै बनाएर बढ्नुको अर्को विकल्प छैन ।’

लगानीकर्ता र व्यवसायी हतोत्साही

पर्यटन व्यवसायी शिव अधिकारी कोभिड-१९ को असरबाट भर्खरै तंग्रिन थालेको अवस्थामा हालैको आन्दोलन र यसले निजी क्षेत्रलाई गरेको आक्रमणले यो क्षेत्र फेरी  केही वर्ष पछि धकेलेको बताउँछन् । अधिकारीले जेनजीको आन्दोलनले निजी क्षेत्र हतोत्साही भएको बताए । 

व्यवसायी अधिकारी भन्छन्, ‘कोभिड–१९ पछि पर्यटन विस्तारै लयमा फर्कँदै थियो । अन्तर्राष्ट्रिय चेन होटलहरूले लगानी गर्न थालेका थिए । तर, पछिल्लो आन्दोलनले निजी क्षेत्रमा निराशा बढाएको छ ।’

भूकम्प, राजतन्त्रको उतारचढाव र कोभिडजस्ता चुनौतीबाट पार हुँदै अन्तर्राष्ट्रिय चेन होटलहरूले लगानी गरिरहेको अवस्थामा यो आन्दोलनले त्यही चेन होटलमा क्षति पु¥याउँदा विदेशी लगानीकर्ताको मनोबल घटेको उनी सुनाउँछन् । 

उनले भने, ‘विदेशीहरू नेपालमा लगानी गर्न पहिल्यै डराइरहेका थिए, नेपालमा लगानीको राम्रो वातवारण छैन भन्थे । अस्ति आन्दोलनले त्यत्रो ठूलो चेन होटल जल्दा त्यो कुरा उदाहरणकै रुपमा देखियो ।’

यो घटनाले अन्तर्राष्ट्रिय लगानीकर्ताहरू हतोत्साही भएको र अर्बौं रुपैयाँ लगानी गरिरहेका हिल्टनजस्ता होटलहरूको लगानी डुबेको अवस्था आएको अधिकारी बताउँछन् । जेनजी घटनाले नेपालमा सुरक्षा रहेनछ, आर्मी–पुलिसले पनि काम गर्न सक्ने रहेनछन्’ भन्ने गलत सन्देश प्रवाह भएको उनको भनाइ छ । 

पर्यटनलाई अति संवेदनशील क्षेत्रको रुपमा व्याख्या गर्दै अधिकारीले सुरक्षाको ग्यारेन्टी नभई कोही पनि पर्यटक रमाउन नआउनेमा थप प्रष्ट पार्छन् । त्यस्तै चुनावले पनि पर्यटन क्षेत्रलाई प्रभाव पार्ने उनको तर्क छ । 

‘यो वर्ष चुनाव हुने घोषणा भइसकेको छ । चुनावमा पनि आन्दोलन र आतंक हुन्छ भनेर पर्यटक आउँदैनन् । चुनावको बेला पर्यटक एक्ससाइटिङ भएर आएको थाहा छैन,’ उनले भने । 

आन्तरिक समस्या

नेपालको पर्यटन क्षेत्रमा विपद्जयन्य घटनासँगै आन्तारिक समस्याले पनि पर्यटन क्षेत्र प्रभावित हुने गरेको व्यवसायीहरुको तर्क छ । व्यवसायीहरुका अनुसार विश्वको तुलनामा नेपालमा एयरलाइन्सको टिकट धेरै नै महँगो छ । टिकट महँगो हुँदा पनि पर्यटकहरु नेपाल आउन नचाहने व्यवसायीहरुको भनाइ छ । 

एयरलाइन्सको संख्या सीमित हुँदा पनि टिकट महँगो भएको व्यवसायीहरु बताउँछन् । त्यस्तै पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव समेत रहेको औल्याउँछन् व्यवसायीहरु । यो क्षेत्रमा धेरैजसो ६ महिना काम पाउने र बाँकी ६ महिना बेरोजगार भएर बस्नुपर्ने अवस्थाले कामदारहरु विदेसिने गरेका छन् ।

व्यवसायीहरुका अनुसार नेपालमा वार्षिक ३६ लाख पर्यटकलाई सेवा दिन सक्ने होटल संरचना तयार भइसकेको छ । तर, हालसम्म आगमन १२ लाखको हाराहारीमा सीमित छ । नेपालमा आउने पर्यटकहरु पनि छोटो समयको लागि आउने बढी छन् । व्यवसायीहरु पर्यटकको संख्या र बसाई अवधि बढाउनेतर्फ ध्यान दिनुपर्ने औल्याउँछन् । त्यसका लागि यो क्षेत्रमा सुधार गर्नुपर्ने धेरै कुरा छन् । 

नेपालमा पर्यटनको सम्भावना धेरै छन् । एडभेन्चर, कल्चर, सातै प्रदेशमा पर्यटकीयस्थल छन् । पर्यटनका सम्भावना भएका ती ठाउँहरुलाई प्रचारप्रसार गर्न सके नेपालमा पर्यटकको अभाव नहुने व्यवसायीहरु बताउँछन् । यद्यपि सम्भावना मात्रै भएर नहुने यसका साथै देशमा शान्ति, स्थायित्व र भरोसा कायम हुनुपर्ने आवश्यकता रहेको विज्ञहरु औल्याउँछन् । 
 

Share News