दसैँमा यसरी गरौं खानपान व्यवस्थापन

दैनिक जीवनमा स्वस्थकर खानेकुराको निकै महत्त्व छ । अन्न भनेको जीवन हो । जसरी श्वास फेर्न वायु चाहिन्छ, त्यसैगरी शरीर धान्न, शारीरिक र मानसिक रूपमा स्वस्थ रहन स्वस्थ खानेकुराको जरुरत पर्छ । जस्तो किसिमको अन्न खाइन्छ हाम्रो मन पनि त्यस्तै हुन्छ । मानसिक रूपमा स्वस्थ, अस्वस्थ रहने कुरा पनि हाम्रो खानेकुराले निर्धारण गर्छ ।

बच्चा आमाको पेटमा हुँदादेखि नै खानाको महत्त्व छ । आमाले जे खान्छिन्, बच्चाले त्यही खान्छ । उनले स्वस्थकर खाइन् भने भ्रुणले पनि त्यही पाउँछ र पछि स्वस्थ बच्चा जन्मिन्छ । मान्छेलाई मात्र होइन, जीवजन्तु तथा बिरुवालाई समेत खाना चाहिन्छ । खानाबिना हामी बाँच्न सक्दैनौँ । केही योगीहरू हुन्छन् जो केही वर्षसम्म नखाएर बसेका हुन्छन्, यो अपवाद हो । 

स्वस्थकर खानेकुरा 

हामीले दैनिक जीवनमा खाँदै आएको दालभात, तरकारी, अचार, दूध, दही, मोही, हलुवा, खिचडी स्वस्थकर खानेकुरा हो । आफूले घरमा पकाएर खाइने खानेकुराहरू प्रायजसो सबै स्वस्थ नै हुन्छ । विभिन्न किसिमका सलाद, फलफूल पनि स्वस्थकर नै हुन्छन्  ।

आलुको तरकारी हामी सबै जनाले खान्छौं । तर त्यही आलु जब फ्रेन्च फ्राइको रूपमा खाइन्छ, बारम्बार एउटै तेलमा पकाइन्छ भने त्यो  अस्वस्थकर हुन्छ । यस्तै रोटी, दाल, चामल अथवा सेल तथा पुरी स्वस्थकर खाने कुरा हो । तर, त्यही सेल तथा पुरीलाई एउटै तेलमा बारम्बार पकाएर खायो भने त्यो पनि अस्वस्थकर हुन्छ ।

स्वस्थकर आटाबाट रोटी बन्छ । त्यही आटालाई फेरि मैदा बनाएर अन्य किसिमको पत्रु खाना बनायो भने त्यो अस्वस्थकर हुन जान्छ । स्वस्थकर खाने कुरालाई पनि कस्तो प्रकारले बनाइन्छ र त्यो कसरी अस्वस्थकर हुन जान्छ भन्ने कुरा थाहा पाउनुपर्छ । 

दसैँको बेला मासु कम खाने 

पहिले मासु खानलाई दसैँ नै पर्खिनु पर्थ्यो । हामी सानो हुँदा आज भन्दा ५०/५५ वर्ष अगाडि दसैँ आएपछि मासु खान पाइन्छ भनेर हामी निकै खुसी हुन्थ्यौँ । अरूको घरमा गएपछि मासु खान दिन्छन्, मासुभात, मासु चिउरा दिन्छन् भनेर खुसी भइन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन, हुनेहरू दिनहुँ मासु खान्छन् । तैपनि दसैँ भनेपछि फेरि यस्तो संस्कृतिसँग जोडिएको छ कि दसैँ र मासु भने त्यसलाई छुट्याउनै सकिँदैन ।

कसैले घरमा खसी काट्छन्, कति जनाले बाहिरबाट किनेर ल्याउँछन् अघिपछिको समयभन्दा दसैँमा अझ बढी मासु खाने चलन छ । दसैँको बेलामा मासुका विभिन्न परिकारहरू बनाइन्छन् । यस्तो बेला मेरो पेटलाई कति चाहिन्छ भन्ने कुराको ख्याल गर्नुपर्छ । आफ्नो पेटले जति सक्ने हो त्योभन्दा बढी मासु खाने अथवा बिहानदेखि बेलुकासम्म अथवा विभिन्न ठाउँहरूमा जाँदा सबैको घर-घरमा मासु-भात, मासु-चिउरा, विभिन्न किसिमका मासुका परिकारहरु खाने गर्दा समस्या पर्न सक्ने हुनाले जिब्रोलाई अलिकति लगाम दिनुपर्छ । 

मासुमा रेसादार तत्व नभएको हुनाले मासु धेरै खाँदा कब्जियत हुनसक्ने सम्भावना हुन्छ । दुई/तीन टुक्रा मासु खाँदा हरियो तरकारी, काँक्रो, विभिन्न किसिमका सलादहरू पनि प्रयोग गर्नै पर्छ । अहिले विभिन्न किसिमका स्वास्थ्य समस्या भएका व्यक्तिहरू धेरै छन् । उनीहरूले खानेकुरा खाँदा ख्याल गर्नुपर्छ । कस्तो किसिमको खाने कुरा कति खाने भन्ने कुरा आफ्ना चिकित्सक सल्लाह अनिवार्य लिनुपर्छ ।

कसले कति खाने ?

खानेकुरा कुन व्यक्तिले कति खाने भन्ने कुरा त्यत्तिकै भन्न सकिँदैन । कसको शरीरले कति खानेकुरा पचाउँछ भन्ने कुरा मान्छेको शरीर अनुसार फरक पर्छ । दिनभर काम गरेर खाने, बसेर खाने वा शारीरिक काम गर्नुपर्ने वा मानसिक काम गर्नुपर्ने व्यक्तिमा पनि फरक पर्छ ।

आयुर्वेद विज्ञान र अहिलेको आधुनिक विज्ञानले के स्पष्ट रूपमा सिद्ध गरेका छन् भने हामीलाई जति भोक लाग्छ, त्यसको ८० प्रतिशत मात्रै खानुपर्छ । आयुर्वेदले हजारौं वर्ष पहिले नै भनेको कुरा जसलाई अहिले आधुनिक विज्ञानले प्रमाणित गरेको छ । अहिले नेपालमा नसर्ने रोगहरू जसरी बढिरहेको छ, त्यसको प्रमुख कारण अस्वस्थ जीवनशैली र अस्वस्थकर खानेकुरा हो । म जहिले पनि जहाँ पनि भन्ने गर्छु हाम्रो पाँच, साढे पाँचदेखि छ फिटको शरीरलाई सानो दुई/तीन इन्चको जिब्रोले धोका दिइरहेको छ । 

आफ्नो शरीरलाई स्वस्थ बनाउन चाहने हो भने जिब्रोलाई नाइँ भन्न सक्नुपर्छ । त्यसको अर्थ फेरि मीठोमसिनो नखाने भनेको होइन, तर आफूलाई अलिकति संयम गर्न सिकियो भने दसैँतिहार मनाएपछि काममा जाँदा पनि एकदम आनन्दको अनुभूति हुन्छ । दसैँतिहारमा मज्जासँग खाँदा पेट गडबड हुँदा विभिन्न किसिमका समस्या देखा पर्यो भने काममा जान पनि सकिँदैन । त्यसैले भविष्यको विचार खानेकुरा खानुपर्छ । 

कवाडी खाना 

अहिले बजारमा आएका जंकफुडहरूलाई म पत्रु खानेकुरा भन्छु । जसमा नुन, चिनी बढी हुन्छ,  त्यसले हाम्रो शरीरलाई बेफाइदा गर्छ । पत्रु भनेको कवाडी खाना हो । जसले शरीरमा कुनै पनि पौष्टिक तत्वहरू दिँदैन । विभिन्न किसिमका सूक्ष्म पोषक तत्वहरू दिँदैन । त्यसलाई म पत्रु खानेकुरा अथवा कवाडी खानेकुरा भन्छु । जिब्रोले चाहिँ मीठोमीठो मान्ने तर शरीरलाई एकदमै बेफाइदा गर्छ । बालबालिकाहरूलाई पनि आमाबुबाहरूले ‘ल खाऊ’ भनेर दिइरहेका हुन्छन् । 

तर, आमाबुबाहरूले के विचार गर्दैनन् भने एकछिनको जिब्रोको स्वादले पछि कति असर पार्छ भनेर । त्यसमा कसरी नकारात्मक असर पार्न सक्छ । यो विषयमा थुप्रै अध्ययनहरु पनि भएका छन् । शारीरिक स्वास्थ्य मात्र होइन मानसिक स्वास्थ्यमा पनि समस्या पर्छ । 

मैले ३/४ वर्ष अगाडि एउटा तालिम लिएको थिएँ । तालिममा जाँदा मानसिक रोग विज्ञहरूले अस्वस्थकर खानेकुराहरूले मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्न सक्छ भनेर भन्नु भएको थियो ।  ‘न्युट्रिसन एण्ड साइक्याट्रिक डिसअर्डर’ अथवा मानसिक स्वास्थ्य समस्याहरू पर्दा खेरि कसरी भोजनले यसमा प्रभाव पर्न सक्छ भन्ने बारेमा लेखेको एउटा किताब छ । त्यसले पनि हामीले खाने खानेकुराले शरीरलाई मात्र नभइ मानसिक रूपमा पनि असर पर्छ भनेको छ । 

पेट सफा भए सबै रोग टाढा

‘पेट सफा तोे हर रोग दफा’ पहिलेका बुढा पाखाले भनेको सुनिन्थ्यो । अहिलेको विज्ञानले यो सिद्ध पारेको छ । पेटको स्वास्थ्य स्वस्थ राख्नु भनेको हामीले स्वस्थ्यकर खानेकुराहरू खानु हो । रेसादार तत्व भएका खानेकुरा सूक्ष्म पोषक तत्व भएका खानेकुरा खानु हो । रेसाधार खानेकुराले जुन अघि मैले भने नि किटाणुहरू, मासु खाँदा रेसादार तत्व भएन भने पेटमा समस्या पर्छ । त्यसकारण दसैँतिहारमा माछा मासु खाँदा रेसादार तत्व भएका खानेकुराहरू जस्तै-सब्जी, तरकारी, टुसा उमारेका खानेकुराहरू प्रयोग गर्नुपर्छ । 

पहिले र अहिलेको खानपानमा आकाश जमिनको फरक छ । हामी सानो हुँदा अहिलेको जस्तो बिस्कुट, चाउचाउ लगायतको जंकफुड थिएन । खानेकुरा दाल, भात, तरकारी थियो । दिउँसोको खाजामा पनि भुटेको भात, चना, आलु, रोटी, दही चिउरा खाइन्थ्यो । दसैँमा पनि अम्बा र नास्पाती फल्ने समय भएकाले धेरै फलफुलहरू ल्याइन्थ्यो । घरमै बनाएको स्वस्थकर खानेकुरा खान्थ्यौँ । त्यही बेलाको खानेकुरा खाएको हुनाले होला म ६८ वर्षको उमेरसम्म पुग्दा अहिलेसम्म नसर्ने रोग लाग्न पाएको छैन ।

अब भोलि के हुन्छ थाहा छैन तर अहिलेसम्म मधुमेह, उच्च रक्तचाप, मुटुको रोग, घुँडा दुख्ने, ढाड दुख्ने, टाउको दुख्ने, यस्तो किसिमको समस्या भएको छैन । अहिले फलफूल सलादभन्दा बढी मदिरा र मासु हुन्छ । मदिरा नखानेहरू कोकाकोलाजस्ता पेयपदार्थहरू लिएर मासु खाने चलन बढी छ । घरभित्र भान्छामा पकाएको  खानेकुरा भन्दा आजभोलि बजारको खानेकुरा दसैँमा बढी हुन्छ  । यस्ता खानेकुराले भोलिको दिनमा ठूलो समस्या निम्त्याउन सक्छ । सबै जनाले एकदम रमाइलोसँग दसैँ मनाउनुहोस् । दसैँ तिहार मनाएपछि पछि पनि आफ्नो स्वास्थ्य राम्रो रहोस् भनेर खानपिन गर्नुहोस् ।  स्वास्थ्य जीवनशैलीमा, योगासन, व्यायाममा चाहिँ ध्यान दिनुहोस् । 

(पोषणविद डा. अरुणा उप्रेतीसँग इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)

Share News