माओवादीमा प्रचण्डको ‘विकल्प’ खोजी, पार्टीभित्रै तात्यो ‘राजनीति’

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बाहिर शान्त देखिए पनि बैठकभित्र भने निकै तातो बहस भइरहेको छ । पार्टीका शीर्ष नेतादेखि भुइँस्तरका प्रतिनिधिसम्म एउटै प्रश्नमा केन्द्रित देखिन्छन्– माओवादी केन्द्रको अबको बाटो के हो ?

अध्यक्ष पुष्पकमल दाहालले औपचारिक एजेन्डा प्रस्तुत गरी प्रारम्भ गरेको बैठकमा केन्द्रीय सदस्यहरूले तातो माहोल सिर्जना गरेका छन् । अध्यक्ष दाहालले पार्टीको संगठनात्मक पुनर्संरचना, निर्वाचन तयारी, वैचारिक बहस र राष्ट्रिय राजनीति प्रतिको धार स्पष्ट पार्ने एजेन्डा टेबुल गरे । 

तर, हलमा सुरु भएको बहस भने अझै गहिरो विषयतर्फ उन्मुख भयो । बहस नेतृत्व परिवर्तन र विशेष महाधिवेशनतर्फ मोडिएको हो ।

नेतृत्व संकट : अध्यक्ष दाहालमाथि खुलेआम प्रश्न

लामो समयदेखि अध्यक्ष दाहाल पार्टीको सर्वमान्य नेता मानिँदै आएका छन् । २०५२ सालदेखि सुरु भएको सशस्त्रयुद्ध, २०६२/६३ को ऐतिहासिक आन्दोलन हुँदै आजसम्म दाहालकै नेतृत्वमा माओवादी राजनीति अगाडि बढेको छ । तर, बिहीबारको बैठकमा पहिलो पटक नेताहरूले खुलेरै प्रश्न उठाए । उनीहरूको एउटै प्रश्न थियो– पार्टी दाहालकै वरिपरि घुमिरहनुपर्ने हो ?

उपमहासचिव जनार्दन शर्माले स्पष्ट रूपमा भने, ‘हामीले पनि विगतमा ठूलो योगदान दिएका छौं ।’ 

उनका अनुसार योगदानको मापदण्ड फेरिइसकेको छ । त्यही मेसोमा शर्माले थपे, ‘अहिलेको समय नयाँ पुस्ताले नेतृत्व लिनुपर्नेछ । अध्यक्ष दाहालको योगदान ऐतिहासिक भएपनि अब भविष्य निर्माणका लागि पार्टीले नयाँ विकल्प खोज्नैपर्छ ।’

यसै लाइनमा अन्य केही नेताहरू पनि उभिएका छन् । उनीहरूले हालको राजनीतिक परिदृश्यमा पूरानो नेतृत्वले मात्र जनविश्वास पुनःस्थापना गर्न नसक्ने भन्दै संगठनको पुनर्जन्म नयाँ पुस्ताबाटै सम्भव हुन्छ भन्ने धारणा राखेका छन् ।

विशेष महाधिवेशनको प्रस्ताव

यस पटकको बैठकमा बढी तातेको विषय भनेको विशेष महाधिवेशनको मुद्दा हो । उपमहासचिव शर्माले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई महाधिवेशन आयोजक समितिको संयोजक बनाउने प्रस्तावले हलमा ठूलो तरंग ल्याएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् । 

यसलाई कतिपयले दाहालको उत्तरकालीन तयारी भनेर पनि व्याख्या गरेका छन् । तर सशस्त्र युद्धबाट आएका तमाम नेता कार्यकर्ता भने श्रेष्ठलाई नेता मान्न तयार देखिएनन् । बरु उल्टै श्रेष्ठले भन्दा शर्माले नै नेतृत्व गर्नुपर्ने आवाज हलमा उठ्यो ।
 
विशेष महाधिवेशनको पक्षमा सबै नेता देखिएका छन् । तर मिति र समयमा भने विवाद देखिएको छ । नेताहरूका अनुसार पार्टीले नयाँ परिस्थितिलाई सम्बोधन गर्ने ढंगमा आफ्नो मार्गचित्र पुनर्लेखन गर्न जरुरी भइसकेको छ । यसका लागि विशेष महाधिवेशन अपरिहार्य छ ।

निर्वाचनको तयारी अर्को प्रमुख बहस

बैठकको अर्को मुख्य एजेन्डा भनेकै फागुन २१ गते हुने आमनिर्वाचन हो । निर्वाचनमा पार्टी कसरी जाने भन्नेबारे नेताहरूबीच फरक-फरक विचार देखिएको छ ।

केही नेताहरूले गठबन्धनमै जाने पक्षमा आवाज उठाएका छन् । उनीहरूका अनुसार माओवादी केन्द्र एक्लैले ठूलो परिणाम निकाल्न नसक्ने भएकाले गठबन्धन नै व्यावहारिक विकल्प हो । तर, केही नेताहरूले भने गठबन्धनले पार्टीलाई निरन्तर सहायक भूमिकामा मात्र सीमित पारेको भन्दै आपत्ति जनाएका छन् । उनीहरूको सुझाव गठबन्धन होइन, संगठन सुदृढीकरण र जनतासँग प्रत्यक्ष सम्पर्क भन्ने रहेको छ ।

यस विषयमा अन्तिम निर्णय अझै टुंगो लागिसकेको छैन । तर, बैठकले निर्वाचन रणनीतिलाई स्पष्ट पार्नुपर्ने दबाब बढिरहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

संगठनात्मक पुनर्संरचना र जनसम्पर्क

महासचिव देव गुरुङले प्रस्तुत गरेको एजेन्डामा पार्टीको आन्तरिक संरचना सुधार मुख्य बिन्दु थियो । विभिन्न भौगोलिक इकाइ, प्रवासी माओवादी संगठन, महिला तथा युवा संगठनलाई पुनर्संरचना गर्ने प्रस्ताव आएको छ ।

यससँगै जनसम्पर्क अभियानलाई व्यापक बनाउने र विपद् व्यवस्थापन, राहत र पुन:निर्माण मा पार्टीलाई सक्रिय बनाउने कुरा पनि बैठकमा उठाइएको छ । नेताहरूको बुझाइमा माओवादीलाई फेरि जनताको घर–घरमा पुर्याउने काम तत्काल गर्न जरुरी छ ।

सम्भावित परिदृश्य

बैठकमा उठेका बहस र प्रस्तावहरूलाई विश्लेषण गर्दा दुइटा सम्भावित परिदृश्य देखिन्छन् । पहिलो दृष्य– दाहाल नेतृत्वकै निरन्तरता । सम्भवत: बैठकले दाहालकै नेतृत्वलाई अझै निरन्तरता दिने र मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गर्नसक्छ । यसो भए चुनावसम्म दाहालकै पकड बलियो रहनेछ, तर आन्तरिक असन्तोष दीर्घकालीन चुनौती बन्न सक्छ ।

दोस्रो परिदृष्य– सम्झौतामुखी मोडेल हुनसक्ने । तत्काल महाधिवेशन त्यसको तयारी स्वरूप संयोजक समिति बनाएर भविष्यतर्फ धकेल्ने मोडालीटी पनि बलियो रहेको एक नेता दाबी गर्छन् । ती नेताका अनुसार यसो गर्दा दुवै धारलाई सन्तुलनमा राख्ने प्रयास हुने सम्भावना रहन्छ ।

काठमाडौंको प्रज्ञा भवन अहिले केवल एउटा बैठक स्थलमात्र होइन, नेपालको बाम राजनीति कुन दिशातर्फ मोडिने हो भन्ने निर्णायक थलो बनेको छ ।

यसले केही प्रश्नको उत्तरसमेत दिनुपर्ने छ । पहिलो प्रश्न हो के माओवादी केन्द्रले प्रचण्डमै भरोसा गर्नेछ ? वा नयाँ पुस्ताले नेतृत्व समात्नेछ ? या गठबन्धन वा स्वतन्त्र यात्राको बाटो रोज्नेछ ? यी सबै प्रश्नको जवाफ भने समयले बताउनेछ । 

Share News