मुलुक सञ्चालन र व्यवस्थापनको शिरमा हुन्छ- नेतृत्व । नेतृत्वको सक्षमता, सबलता र सशक्तताको परिणामबाट मात्र अपेक्षित लाभ र प्रतिफल हासिल हुने गर्दछन् । एक असल नेतृत्वको विकासको लागि लामो समय खर्चिनु र पर्खिनु पर्ने हुन्छ । चालक जति गतिशील बन्दै गयो देशले त्यति नै लामो दूरीको यात्रा तय गर्न सक्छ । चालक जति नै भिजनरी बन्दै गयो मुलुकमा त्यति नै विकासको भिजिबिलिटी देखिँदै जान्छ ।
नेपालमा लोकतन्त्रको उदयपछि नेतृत्व सधैं अस्थिर र फेरबदल बन्दै गएको छ । देशको विकास र समृद्धिको लागि राजनीनिक नेतृत्व नै मूल पुँजी हो । प्रशासनिक नेतृत्वले एसिस्ट मात्र गर्ने हो । सबै विषय राजनीतिक नेतृत्वको छत्रछायामा हुर्केका हुन्छन् । राजनीतिक नेतृत्व जति संग्लो र कञ्चन हुँदै गयो राज्यका अरू प्रशासनिक, विभागीय र सांगठनिक नेतृत्व त्यति नै स्वच्छ र सक्षम हुँदै जान्छन् । जब राजनीतिक नेतृत्व मैलो हुन्छ, तब अरू अंग पनि त्यस्तै काला, अनुदार र कुरूप देखिन्छन् ।
कुनै राजनीतिक दलसँग कार्यकर्ता, जनमत र संगठनको बलियो पकट भएर मात्र हुँदैन, त्यसलाई सिनर्जीको रूपमा क्यास गर्न सक्ने प्रखर नेतृत्वको अपरिहार्यता चाहिन्छ । यस प्रकारका नेतृत्वमा स्पष्ट भिजन, दर्शन र योजना चाहिन्छ । नेतृत्व केवल संगठनको अगुवा मात्र होइन । संगठनको कुकल रणनीतिकार, कृटनीतिज्ञ, योजनाकार र मुलुक बनाउने कार्ययोजनाको शिल्पकार हो ।
हामी असल नेतृत्वको सधैं खोजी गर्दछौं । त्यसले सधैं दिशा र मार्ग प्रदान गर्दछ भन्ने विश्वास गर्दछौं । नेतृत्वसँग क्वालिटी हुन्छ । ताकत हुन्छ । उसले जनमत र मासलाई सही परिचालन गरेर नतिजा दिन सक्छ ।
जब नेतृत्वले मासलाई र प्राप्त जनमतलाई मुलुक निर्माणका खर्च गर्दछ तब राष्ट्रले न्याय प्राप्त गर्दछ । विकास प्राप्त गर्दछ । समृद्धिको भोग मेट्न पाउँछ । जब उक्त जनमतलाई सीमित वर्ग र समुदायको निमित्त खर्च गर्दछ भने त्यसले सीमित व्यक्तिलाई फाइदा र मुलुकलाई अहित गर्दछ ।
विश्व जगतमा नेतृत्वको सफलता र असफलताको कारण मुलुकले मुहार फेरेका छन् । कुरूप बनाएका छन् । नेतृत्वले गति लिँदा देशले प्वाँख फेरेर नयाँ उडान भरेका छन् । नयाँ गन्तव्य भेटाएका छन् । नयाँ क्षितिजमा पुगेका छन् । नयाँ मुलुक बनाएका छन् । मलेसिया एसियाको औद्योगिक राष्ट्रको रूपमा बढिरहेको छ । सायद त्यहाँ मोहम्द महाथिरेले चौबीस वर्ष शासन नगरेको भए आजको मलेसिया बन्ने थिएन । लिक्वान नभएको भए सायद सिँगारिएको सिंगापुर हुने थिएन ।
नेतृत्व बलियो र कमजोर हुँदा अभियान कसरी कायापलट हुन्छ भन्ने केही अन्तर्राष्ट्रिय दृष्टान्त हेरौं । पेरुमा कम्युनिष्ट पार्टी (साइनिङ पाथ)का अध्यक्ष एवं पेरु क्रान्तिका नेता गोन्जालाको नेतृत्वमा सन् १९८१ बाट सुरु भएको युद्धले गाउँदेखि सहर घेर्ने रणनीतिमा पेरुलाई हल्लाइदियो तर सन् १९९२ मा उनै गोन्जालो पक्राउ परेपछि आन्दोलन कमजोर भयो । अन्नत गोन्जालाको जेलमा नै निधन भयो । क्रान्ति दिशाहिन र अर्थहिन बन्यो हजारौं मान्छेको ज्यान गयो । उपलब्धी शून्य भयो । पेरुमा गोन्जालो सकिएपछि कम्युनिष्ट आन्दोलन नै धरापमा पर्यो ।
सायद हिटलर र मुसोलिन नभएको भए दोस्रो विश्वयुद्ध नहुन सक्थ्यो । दोस्रो विश्वयुद्ध नभएको भए विश्वको स्वरूप अर्को हुन सक्थ्यो । छिमेकी मुलुक भारतमा जति प्रयास गर्दा पनि कम्युनिष्ट पार्टीले आकार र स्वरूप ग्रहण गर्न सकेको देखिँदैन । त्यहाँ एक पछि अर्को नेतृत्व समाप्त हुँदै गएपछि अभियान पनि समाप्त हुँदै गएको जस्तो देखिन्छ ।
पुँजीवादी देशहरूको बीचबाट समाजवादी व्यवस्थाको नमुना प्रस्तुत गरेको क्युवामा फेड्रेल फिडेल क्यास्ट्रोको नेतृत्वको भूमिका महत्त्वपूर्ण रहेको देखिन्छ । दक्षिण अफ्रिकामा नेल्सन मण्डेला जन्मिएकै कारण अधिकारको विस्तार र वैधानिकरण बन्दै गएको गएको तथ्य निर्विवाद नै हो । बर्मामा प्रजातन्त्रको भिल्को झोस्ने र सैनिक शासन झक्झक्याउने काम सायद आङसाङ सुकी नभएको भए जीवन्त सैनिक शासन हुने थियो । प्रजातन्त्रको छोटो बिसौनीपछि म्यान्मारको शासन फेरि सैनिक खोपीमा पुग्यो ।
अलकायदाका संस्थापक ओसामा बिन लादेनको हत्या पछि अलकायदा तहसनहस भयो । यति कमजोर भयो कि फेरि उठ्ने हिम्मत गरेको छैन । अबु बक्र अल–बगदादी हत्यापछि आइएसआइएसको राप नै पत्तासाप भयो । रुसमा मिखाइल गोर्भाचोभको अवसानपछि बलियो सोभियत युनियन नै सकियो । यी प्रकरणले के जाउँछन् भने देश बनाउने कुराको मूल कडी नै नेतृत्वसँग उभिएको हुन्छ । आजको जस्तो लोकतान्त्रिक दुनियाँमा नेतृत्वको जन्म कसलाई दिने भन्ने कुरा जनताको गर्भमा रहेको छ । नेतृत्वको माथि मूल प्रश्नको निरूपण नेतृत्वको विकासबाट नै हुन्छ ।
हामी कहिलेकाँही राजनीति पार्टीमा कोही व्यक्ति नेतृत्वमा हुनु र नहुनुको अर्थ सरल रेखाको आधारमा विश्लेषण गर्न खोज्छौं । वास्तविक रूपमा त्यसो हुँदैन । र होइन पनि । नेतृत्वको प्रश्न कहिलेकाँही बिजगणीतिय र कहिलेकाँही ज्यामितीय हिसाबले बुझ्नुपर्ने हुन्छ ।
नेपालमा मूल राजनीतिक पार्टीको नेतृत्वको अधिकांश समय पार्टी विवाद मिलाउने खर्च भएको देखिन्छ । जनादेश अनुरूपका कार्यदिशा र कार्यभार पुरा गर्नुपर्नेमा पार्टी कार्यकर्ता मिलाउनमा नै मुख्य समय खर्चिँदा पक्कै नतिजा प्रभावित भएको छ । हरेक राजनीतिक पार्टीका मुल नेतृत्व प्रश्न नै प्रश्नले घेरिएका छन् । पार्टी विवादको आन्तरिक कलह बोकेर सरकार सञ्चालन गर्नुपर्ने बाध्यताबाट नेतृत्व मुक्त हुन सकेको देखिँदैन ।
जनताले दिएको जनादेश बासी हुने बेलासम्म पार्टी सुद्दढ हुने सकेका देखिँदैनन् । निर्वाचित दल अर्को निर्वाचन नहुँदासम्म सिधा रूपमा जनताप्रति केन्द्रित हुन्छन् । जनताले आफ्नै प्रतिनिधिलाई खुला रूपमा भेट्न, प्रश्न गर्न र गुनासो गर्न स्वतः पाउँछन् । पार्टीका कार्यकर्तालाई होइन, जनप्रतिनिधिलाई सिधा प्रश्न गर्न र सुझावको लागि जनतालाई ढोका सधै खुल्ला राख्नु पर्दछ ।
नेतृत्वको गतिशीलताको सिद्धान्त आधारभूत सिद्धान्त हो । जनमतबाट अस्वीकृति र वैधानकिता प्राप्त नभएको नेतृत्वको स्वेच्छारी हुन्छ । नेतृत्व समयको बहावसँगै बग्न सक्नु पर्दछ । नेपाल बनाउने आजको प्रश्न नेतृत्वसँग जोडिएको छ ।
आज पनि नेपालको मुख्य प्रश्न नेतृत्वकै वरिपरि घुमिरहेको छ । एक कर्मठ नेतृत्वको खोजी र विकासको लागि लगातार अभ्यास र प्रयास भए पनि सफलता हात परिसकेको छैन । २०६४ सालमा झण्डै दुई तिहाईको जनमत प्राप्त गरेको माओवादीलाई प्राप्त जनमतको मूल मियो नै देश बनाउने नेतृत्वको खोजी हो । उसले त्यसलाई क्यास गर्न सकेन । विसं २०७४ सालमा देशका दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादी मिलेर जेट विमान नै निर्माण भयो । चालक दुई भए । त्यो विमान पनि नेपाली राजनीतिको आकाशमा सफलतापूर्वक अवतरण हुन नसकी दुर्घटना भयो । त्यो मत पनि नेतृत्वको स्थायित्व र स्थिरिताको लागि नै थियो । विमान दुर्घटना भएपछि विकासको यात्रा अलपत्र नै भयो । पटक–पटक आन्दोलन, हडताल र आवाजको खोजी राजा रजौटा बनाउन होइन, जनतालाई शासनको अन्तिम शक्ति र शासन सञ्चालनमा जनताको आधिपत्य स्थापित गर्नु नै हो ।
वर्तमान समय युवापुस्ता जेनजीले गरेको सडक प्रदर्शन पनि इथिकल नेतृत्वको खोजी हो । संसारमा लोकतान्त्रिक नेतृत्वको विकास आवधिक निर्वाचन नै हो । योभन्दा अर्को उत्तम विकल्प वर्तमान विश्वमा पाइँदैन । जनता जति बलिया भए नेतृत्व त्यति नै बलियो जन्मिन्छ । जनता चेतनाको हिसाबले कमजोर बन्दै गए कमसल नेतृत्व जन्मिन्छ । कुपोषित विचारले जन्माएको नेतृत्व सधैं रोगी हुन्छ ।
संसारमा हुने हरेक देशका चुनावले नयाँ नेता जन्माउने, नेतृत्वलाई अनुमोदन गर्ने र स्थापित गर्ने गर्दछन् । हाम्रो जस्तो आफ्नै पार्टीका कार्यकर्ता र सीमित वर्गको पहुँचमा सीमित राजनीतिक नेतृत्व परीक्षण कालक्रमसँगै फरक स्वरूपले हुँदै गएको छ । आगामी चुनाव सूचना प्रविधिसँग हुर्केको पिँढीले पक्कै नेतृत्वको सही परीक्षण गर्न सक्छ । जन्मिँदै विश्व हत्केलामा देखेको पिँढीले विकासको शिरा र धमनी देखेको छ । अनुभूत गरेको छ । त्यसले प्रदान गर्ने नेतृत्व अपेक्षा गरे भन्दा फरक हुन सक्छ, त्यसको पूर्वानुमान र स्वीकार गर्न कार्यकर्ताको बीचमा घेरिएको मूल नेतृत्वले सहजै अनुमान नगर्न सक्छ ।
पार्टी नेतृत्वको विकासको मूल सर्त नै आन्तरिक लोकतन्त्र सुदृढ गर्नु हो । कार्यकर्ताले नै प्रश्न गर्न नपाउने पार्टीहरूमा जनताले गुनासो र प्रश्न गर्न पाउनु टाढाको कुरा हो । प्रश्नहरूले उत्तरदायित्त्व खोज्छन् । जवाफ माग्छन् । हिसाब खोज्छन् । प्रश्नलाई जति सम्बोधन गर्दै गयो पार्टी नेतृत्व त्यति नै उत्तरदायित्त्व र जनप्रिय हुँदै जाने राजनीतिक सिद्धान्त हो।
फेरि पनि मुलुक हाँक्ने चालक नै राजनीतिक नेतृत्व हो । देशको विकास र अविकासको धेरथोर भार सबैले बोक्नुपर्ने भएता पनि मुख्य भार आज पनि मूल नेतृत्व नै भोग्नुपर्ने राजनीतिक विधिशास्त्रीय मान्यता हो । नेतृत्वको वर्तमान अवधारणाले लोकप्रिय नेतृत्व मात्रै होइन। अथेन्टिक नेतृत्व समेत खोजिरहेको छ । अथेन्टिक नेतृत्वले नै वर्तमानका प्रश्नहरूको उत्तर लिपिबद्ध गर्ने काम गर्दछ ।
वर्तमान विश्वको समकालीन नेतृत्वलाई प्रश्नबाट बाहिरिने छुट छैन । हिजो जवाफ दिए हुन्थ्यो जवाफदेहिता चाहिँदैनथियो । हिजो उत्तर दिए हुन्थ्यो आज उत्तरदायित्व निर्वाह नगरे हुन्थ्यो । हिजो वचन दिए हुन्थ्यो आज पूरा गर्नु पर्दछ । उत्तर दिने प्रणालीको विकासले पक्कै नेतृत्वलाई बलियो नै बनाउँछ । कमजोर बनाउँदैन ।
राजनीतिक नेतृत्व जब आफ्नो भातृ संगठन, कार्यकर्ता र शुभचिन्तकबाट घेरिन्छ । उक्त घेराभन्दा बाहिरको दृष्य देख्दैन वा देख्न खोज्दैन त्यसपछि पतनको बाटो सुरु हुन्छ । हाम्रोमा राजनीतिक दलका मुख्य नेतालाई सामान्य मानिसले भेट्न सक्दैनन् । नागरिकका जनजीविकाका विषय देख्ने भिजिबिलिटी कमजोर हुन्छ र सम्पर्क विच्छेद हुन्छ । अहिलेको राजनीतिक दलको मुख्य समस्या नै यही हो ।
शासन सञ्चालनसँग कहिलेकाँही जनादेश हुँदाहुँदै पनि बर्हिगमनको बाटो सुखद हुँदैन । समयले लोकतान्त्रिक पद्धति अनुरूप स्थापित सरकारको पनि दुःखद पतन गराउने गर्दछ । नेपालमा जेनजी युवाहरूको प्रदर्शनले पनि लोकतान्त्रिक विधि र प्रक्रिया बमोजिम स्थापित सरकारलाई दुई दिनमा नै परास्त गरे । सन् २०२४ मा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि जननिर्वाचित कार्यकारी हुन् तर, विद्यार्थी आन्दोलनले उनले देश छोडेर हिँड्नु पर्ने अवस्था आयो । सन् २०२२ मा श्रीलंकामा आर्थिक संकटको कारण भएको आन्दोलनको कारण राष्ट्रपति गोटाबया राजापाक्षे देश नै छोड्नु पर्यो । त्यसकारण नेतृत्वको मौका सधैं आउँदैन । आउँदा देशलाई शिख र झण्डालाई काँधमा राखेर कार्य गर्ने नेतृत्व हुनु पर्दछ । कोही कसैको दबाब र प्रभावमा नपरी सिधा रुपमा जनतासँग झुक्ने नेतृत्वको कद बढ्न जान्छ । परिवर्तनको लय समाउने मार्ग तयार हुन्छ । वर्तमान नेतृत्वले हार्यो की जित्यो भन्दा पनि देशले कति जित्छ भन्ने प्रश्न नै मुख्य प्रश्न हो ।