दशैं आयो, भाडा बढ्यो

७५ प्रतिशत हवाइ टिकट बुकिङ

काठमाडौं । दशैं नजिकिदै गर्दा हवाई भाडा उच्चदरले वृद्धि भएको छ । भाडा वृद्धि मात्र होइन, विगतका वर्षहरूमा झैं यस वर्ष पनि दशैंअघि राजधानी बाहिर जाने टिकट पाउन सहज नभएको व्यवसायीहरूले बताएका छन् । 

हवाई सेवा प्रदायक कम्पनीहरूले भनेका छन–दशैंअघि राजधानीबाट बाहिर जाने ७५ प्रतिशत टिकट बिक्री भईसकेका छन् र बाँकी टिकट पनि घटस्थापनाको दिनसम्ममा बिक्री भइसक्ने अनुमान छ । 

एयरलाइन्सका कर्मचारीहरूका अनुसार दशैंको घटस्थापनादेखि पछिका काठमाडौं बाहिर उड्ने सबै रुटको टिकटमध्ये ९० प्रतिशत बुक भइसकेको छ । खास गरी काठमाण्डौबाट विराटनगर, भद्रपुर, तुम्लिंगटार, सिमरा, भरतपुर लगायतका गन्तव्यको सिट बुक भइसकेको छ । 

उच्च मागको अवसरलाई मौकामा बदल्दै एयललाइन्सहरूले यात्रुहरुसँग अधिकतम भाडा असुल्न थालेका छन् । नागरिक उड्ययन प्राधिकरणले तोकेको अधिकतम भाडादर सीमा तोड्दै हवाई सेवा सञ्चालकहरूले महँगो दरमा टिकट बेचिरहेको अनलाइन विवरणहरू भेटिएका छन् । 

एयलाइन्सहरूले अनलाइनमा राखेको भाडादरअनुसार धनगढी जानलाई मात्रै एकजनाले १७ हजार रुपैयाँ खर्चिनुपर्ने भएको छ । जबकि प्राधिकरणले धनगढीको टिकट अधिकतम १४ हजार ९६७ रुपैयाँ निर्धारण गरेको छ । 

प्राधिकरणले विराटनगरको उडानको लागि अधिकतम भाडादर ८ हजार १३७ रुपैयाँ तोकेको छ । तर एयरलाइन्सहरूले साढे ९ हजार रुपैयाँसम्म लिन थालेका छन् । 

त्यस्तै, प्राधिकरणले भैरहवाको लागि अधिकतम भाडादर ९ हजार ६६७ रुपैयाँ, पोखराको लागि ५ हजार ३७७ रुपैयाँ, भद्रपुरको लागि १० हजार १७४ रुपैयाँ, जनकपुरको लागि ४ हजार ३५९ रुपैयाँ, सिमराको लागि ३ हजार ५२ रुपैयाँ, भरतपुरको लागि ३ हजार ६३३ रुपैयाँ निर्धारण गरेको छ ।

एयलाइन्सका कर्मचारीहरू भने प्राधिकरणले स्वीकृत गरेको भाडादर अनुसार नै एयरलाइन्सहरूले हवाई भाडाको अधिकतम सीमा र न्यूनतम सीमाअनुसार नै भाडा लिने गरेको दावी गरेका छन् । दशैं–तिहारको समयमा एयलाइन्सहरूमा एकतर्फी लोड पर्ने र आउँदा रित्तो फर्किनुपर्ने भएको हुँदा एयरलाइन्सहरूले दुवैतर्फको भाडा उठ्ने गरेर निर्धारण गरेको उनीहरुको तर्क छ । 

सीमामा बस्न निर्देशन

नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल प्राधिकरणले तोकेको अधिकतम भाडादर भन्दा महँगोमा टिकट बेच्न नपाइने बताउँछन् । त्यस्तै, एयरलाइन्सहरूले केही टिकट अधिकतम दरमा बेच्न पाइने भएपनि सबै टिकट अधिकतम दरमा बेच्नु गलत रहेको उनी बताउँछन् । 

सूचना अधिकारी भुलले चाडवाडमा पैसा कमाउने उद्देश्य मात्र नराखी मानवीय पक्षको पनि ख्याल गर्न आग्रह गरे।

सामान्य अवस्थामा विभिन्न हवाई रुटमा तोकिएको भाडादर भन्दा कम रकम लिएर यात्रु उडाउने एयरलाइन्सहरूले पर्वमा भने भाडादरमा कस्ने गरेका छन् । 

काठमाडौं-विराटनगरका लागि तोकेको प्रति यात्रु एकतर्फी भाडादर ७ हजार १ सय ४ रुपैयाँ हो । यस रुटमा एयरलाईन्सहरुले कुनै बेला ३५ सय रुपैयाँसम्ममा पनि टिकट बेच्ने गरेका छन् भने दशैंको अवधिमा भने ७ हजार १ सय ४ रुपैयाँ भन्दा बढी लिने गरेको पाइन्छ । 

ठूला पर्वको बेला हवाईभाडमा एयरलाइन्सहरूले अधिकतम भाडादर तोक्दा सहज सडक यातायातको व्यवस्था नभएका क्षेत्रहरूका यात्रुले बढी दुःख पाउने गरेका छन् । त्यस्ता ठाउँका यात्रुहरूले एयरलाइन्स कम्पनीहरूले नै तोकेको भन्दा पनि बढी भाडा तिर्नुपर्ने बाध्यतासमेत छ । 

त्यस्ता रुटमा टिकटमा कालोबजारी हुने र दशैंका लागि घर फर्किन चाहने यात्रुहरूको बाध्यतामा खेल्दै धेरै रकम असुल्ने गरिएको छ । 

यात्रुहरूको चाप र बाध्यतालाई बुझेका एयरलाइन्स कम्पनीहरूले दशैंलाई कमाउने मौकाको रुपमा उपयोग गर्दै फूल भाडादरमा एकपैसा पनि नघट्ने गरी एउटै भाडादर सबैले कार्यान्वयन गराउने सहमति गरेका छन् । 
एयरलाइन्स एशोसिएसन अफ नेपालले तय गरेको भाडादरलाई प्राधिकरणले समेत स्वीकृत दिएको छ । उनीहरूले दशैं सुरु (घटस्थापना) को दिनदेखि पछिको काठमाडौंबाट विभिन्न गन्तव्यमा हुने उडानका लागि महंगो भाडादर कायम गरी त्यसको सूची नै सार्वजनिक गरेका छन् ।

अन्तर्राष्ट्रिय उडानको भाडादर भने सरकारको नियमनभित्र पर्दैन । अन्तर्राष्ट्रिय भाडादरको निर्धारण माग र आपूर्तिको आधारमा बजारले नै गर्छ । तर आन्तरिक उडानका भाडादर निर्धारणमा भने प्राधिकरण पनि संलग्न हुने गरेको छ । 

भाडादर : स्रोत ईसेवा

null

Share News