वर्षौंको मिहिनेतले बनेको ‘अटो हब’ क्षणभरमै ध्वस्त, पुनः निर्माणमा जुटे व्यवसायी

कुन कम्पनीको कति गाडी जले ?

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा प्रायः राजधानीका बजारहरूमा रौनक छाउने गर्छ । दशै/तिहारको माहोलले मानिसमा उत्साह भर्दै किनमेलको भीडले सडक र पसलहरू गुलजार हुन्थे । तर, यसपटक भने काठमाडौं सहर विगतका वर्षहरूमा जस्तो रौनक देखिँदैन । 

विशेषगरी, अटो क्षेत्रको हब भनेर चिनिने थापाथलीका शोरुमहरूमा नयाँ गाडी हेर्ने खरिद गर्ने र सम्झौता गर्ने ग्राहकको भीड लाग्ने गर्थ्यो । दैनिक सयौं मानिसको आवतजावत हुन्थ्यो । आज त्यही थापाथली शोक र खरानीमा परिणत भएको छ । 

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा केही अराजक समूहले थापाथलीको अटो शोरुम विध्वंस नै गरिदियो । ग्राहकको चहलपहलले भरिने थापाथलीमा अहिले धुवाँको गन्ध, फुटेका सिसा र पोलिएका फलामका ढाँचा मात्रै देख्न सकिन्छ । 

अटो व्यवसायीहरूले कडा मिहिनेत र संघर्ष गरेर जोडेका ती गाडीका शोरुमहरू जलेर ध्वस्त भएपछि उनीहरूको सपना छिनभरमै चकनाचुर भएको छ । अर्बौंको क्षति बेहोर्नुपरेको छ । 

nullआगजनीपछि सीजी मोटर्सको शोरुम । 

सीजी मोटर्सका एक कर्मचारी भन्छन्, ‘हाम्रो शोरुममा २० वटा जति गाडी जलेर गाडी नष्ट भएका छन् । ८/१० वटा बाइकहरू पनि छन् । शोरुम त पुरै ध्वस्त भएको छ, नोक्सान विवरण भने अझै आएको छैन ।’

यस्तो अवस्थामा व्यवसायलाई कसरी अगाडि बढाउने भन्नेबारे उनीहरूले तत्कालका लागि अस्थायी समाधान खोजेका छन् । ती कर्मचारीका अनुसार अहिले सीजी मोर्टसको थापाथलीमा रहेको शोरुमलाई पानीपोखरीस्थित रिडाराको शोरुमतिर सारिएको छ । थापाथलीको शोरुमको अहिले पुनःनिर्माण भइरहेको छ । 

सुजुकीको पनि यस्तै कथा छ । सुजुकीका ११ वटा गाडीहरू जलेर नष्ट भएका छन् भने शोरुम पनि खरानीमा परिणत भएको छ । यसैगरी, महिन्द्रा ब्राण्डका गाडी पनि जलेका छन् । कम्पनीका अनुसार शोरुममा रहेका गाडीमध्ये तीन वटा सकुसल छन् भने एक गाडी पूर्णरूपमा नष्ट भएको छ । 

null

टाटा मोटर्सको शोरुममा पनि ठूलो क्षति पुगेको छ । करोडौं रुपैयाँ बराबरका गाडी र सम्पत्ति नोक्सान भएको टाटा मोटर्सकी मार्केटिङ हेड अभिरुचि गिरी बताउँछिन् । उनका अनुसार शोरुम र गाडीहरू तोडफोडसँगै जलेर नष्ट भएका छन् । 

‘नोक्सानको विवरण आउन बाँकी छ । तर, नोक्सान करोडौंको भएको छ,’ उनले भनिन् । 

उनका अनुसार करिब ९ वटा गाडीमा क्षति पुगेको छ । जसमा धेरैजसो विद्युतीय सवारीसाधन ईभी रहेका छन् । शोरुमभित्र रहेका ५ वटा ईभीहरू जलेका छन् । 

यति ठूलो क्षति भोगे पनि टाटा मोटर्सले तत्कालै पुनर्निर्माण र सेवा सञ्चालनलाई प्राथमिकता दिएको उनको भनाइ छ । 

‘हामी पुनः निर्माणमा लागिसकेका छौं । दिनरातै काम गरिरहेका छौं,’ उनले भनिन् ।

null
 आगजनीपछि टाटा मोटर्सको शोरुम । 

क्षतिग्रस्त शोरुमकै छेउमा अस्थायी शोरुम बनाएर पुनः सुरु गरिएको उनको भनाइ छ । यस्ता खालका घटनाले मनोबल घटाउन नहुनेमा कम्पनी दृढ रहेको उनी बताउँछिन् । 

हालसम्म टाटा मोटर्सका नेपालभर २१ वटा शोरुम तथा १ सय ८५ भन्दा बढी चार्जिङ स्टेसन (एसी फास्ट र डीसी फास्ट) रहेका छन् । साथै १६ वटा डेडिकेटेड इभी सर्भिस सेन्टर र ब्याट्री डायग्नोसिस एण्ड रिपेयर फेसिलिटी बाग्लुङमा रहेको छ । जसले गर्दा नेपालकै सबैभन्दा ठूलो ईभी सञ्जाल रहेको कम्पनीको दाबी छ ।

यसैगरी, अटो व्यवसायी तथा नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक दीपक थपलियाले आफ्नो शोरुममा भएको आगजनीबाट ५ वटा गाडी नष्ट भएको जानकारी दिए ।

‘शोरुममा पूर्ण आगजनी नभए पनि ५ वटा गाडीहरू जलेका छन् । शोरुमको सिसा फुटेको छ, कम्प्युटर र अन्य सामग्री तोडफोड भएको छ,’ उनले भने ।

थपलियाले यसलाई जेनजी नभएर नेपालीहरूको असन्तुष्टिको समग्र परिणामको रूपमा हेरेको बताए । ‘आन्दोलन त अरु सबैको हुन्छ । तर यो सबैको असन्तुष्टि रहेको नतिजा हो,’ उनले भने ।

null

व्यावसायिक नोक्सानको पीडाका बाबजुद पनि उनले यसलाई ठूलो मानवीय क्षतिसँग तुलना गरेनन् । 

‘हामीलाई क्षति पुगेको छ तर त्योभन्दा ठूलो क्षति भनेको मानवीय क्षति भएको छ,’ थपलियाले भने, ‘तर यस्तो नगरिनुपर्ने थियो ।’ 

अहिले दश नै शोकमा डुबेको बताउँदै यस घटनाले पर्यटन, अन्तर्राष्ट्रिय सम्बन्ध, विदेशी लगानी लगायत धेरै क्षेत्रमा नकारात्मक असर पारेको उनको बुझाइ छ ।

उनले भने, ‘जे भयो त्यो दुःखद हो, तर त्यसमै अड्किरहन मिल्दैन । अब हामीले मनोवैज्ञानिक र व्यावसायिक रूपमा अगाडि बढ्नुपर्छ । अहिलेको प्राथमिकता भनेको कर्मचारीहरूलाई सुरक्षित महसुस गराउनु र सामान्य काममा फर्कन सहयोग गर्नु हो । व्यापारको हिसाबले मूल्यांकन अझै गरिएको छैन । तर जे भयो त्यो स्वीकार छ । मुख्य कुरा देश राम्रो हुनुपर्छ, प्रगति गर्नुपर्छ भन्ने चाहना हो ।’

थपलियाले यस्ता घटनाले लगानीकर्ताहरूको मनोबल घटाउने र स्वदेशमा केही गरौं भन्ने भावनालाई धक्का पुर्याउने चिन्ता व्यक्त गरे । 

उनले कसैले पनि लगानी गर्न छाडे भने, देशमा प्रगति हुने वातावरण नै नबन्ने र त्यसको फाइदा विदेशीहरू उठाउने बताए । यदि नेपालीहरूले लगानी गर्न छोडेमा विदेशीहरूले आएर व्यापार गर्ने र देश आफ्नो नियन्त्रणमा नरहने खतरा उनले औंल्याए ।

अटो हबका रुपमा परिचित थापाथलीमा रहेका आधा दर्जन बढी शोरुममा आगजनी भएको थियो । सुजुकी, महिन्द्रा, हुण्डाई, सिप्रदी र सीजी लगायत शोरुमहरूमा आगजनी भएको थियो ।

थापाथलीमै रहेका जिकर, किया, हुण्डाईको ईभी, प्रोटोन, एमजी, निशान र जीएमडब्लू लगायतका शोरुमहरू सुरक्षित छन् । 

जेनजी आन्दोलनले दशैंको मुखमा व्यवसायीहरूलाई गहिरो पीडा दिएको छ । तर, यसका बाबजुद पनि व्यवसायीहरूले मनोबल नघटाई, देशको प्रगतिका लागि सकारात्मक सोचका साथ अगाडि बढ्ने संकल्प लिएका छन् ।

Share News