समस्या भ्रष्ट मानसिकतामा

नेपालको शासनसत्तामा आरोह-अवरोह काटमार र छलकपटबाहेक केही पनि छैन । भीमसेन थापा जेलमै सड्नु पर्यो । फत्तेजंग चौतारी र माथवरसिंह थापा लगायतहरू काटिनु पर्यो । जंगबहादुरको उदय हुन कोतपूर्व घट्नु पर्यो । 

राणाशासनको पतन गर्न शहीदहरूले रगत बगाए । प्रजातन्त्र प्राप्त गर्न धेरै मान्छे मर्नु पर्यो । समकालीन राजनीतिक दललाई सत्तामा पुर्याउने धेरैले ज्यान बलिदान दिए । १७ हजार मानिसको बलिदानपछि माओवादी सत्तामा पुग्यो । राजालाई सत्ताच्युत गरी दलको शासन प्रारम्भ गर्न धेरै मान्छे जनआन्दोलनको क्रममा मृत्युवरण गरे । हरेक परिवर्तनको निर्णायक बिन्दुमा कुनै न कुनै रूपमा हिंसाको राजनीति निर्णायक भयो । 

कोतपर्वपछि राणा बलिया भए । २००७ सालपछि राजा बलिया भए । २०४६ सालको आन्दोलन, १० वर्षको सशस्त्र द्वन्द्व र २०६३ सालको आन्दोलनले राजनीतिक दल बलिया भए अनि सत्ता सम्हाले । 

यही भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन पनि हिंसात्मक र ध्वंशात्मक बन्यो । धेरै युवाले ज्यान बलिदान गरे । संसद, सिहंदरबार, अदालत, सञ्चार, औद्योगिक प्रतिष्ठान र निजी घरमा व्यापक तोडफोड, लुटपाट र आगजनी भयो। अहिले अर्को पक्ष सत्तामा आइपुगेको छ । रक्तपातपूर्ण यात्राबाट सत्तारोहण जारी छ । यद्यपि, बिचरा जनता कहिल्यै बलिया हुन पाएनन् । 

हामीले सधैं व्यवस्थामा समस्या देख्यौं, संविधानमा र पद्धतिमा समस्या देख्यौं । तर, हाम्रो व्यवहार, नैतिकता र जीनमा भएको समस्या बिर्सियौं । ठूलो समस्या भ्रष्ट मानसिकतामा छ भन्ने बिर्सियौं ।  

भ्रष्ट मानसिताको सम्बन्धमा एउटा अन्तर्राष्ट्रिय प्रसंगबाट सुरु गरौं । हालै २०२५ सेप्टेम्बरमा फ्रान्समा ‘ब्लक एभ्रिथिङ’ नामक आन्दोलन चलिरहेको छ । फ्रान्सका राष्ट्रपतिले एमानुएल माक्रोनले त्यहाँ दुई वर्षमा पाँचवटा प्रधानमन्त्री फेरिसकेका छन् । यो प्रदर्शन पनि एक्स, टिकटक, टेलिग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत संगठित छ । यसमा नागरिक स्वतफूर्त सहभागी रहेका छन् । उनीहरूले कारफोर, अमेजन, ओशाँजस्ता ठूला खुद्रा पसलहरूको बहिष्कार, बैंकबाट पैसा झिक्ने अभियान, नगरपालिका भवनजस्ता प्रतीकात्मक स्थानहरूको शान्तिपूर्ण कब्जा, छिमेकी सभा र हड्ताल कोष स्थापना जस्ता कार्य गर्दै आएका छन् । 

उक्त प्रदर्शन हुनुको पछाडि नयाँ प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले राष्ट्रिय बजेटबाट ४३.८ मिलियन फ्रांक कटौती, घाटा घटाउने योजना, दुईवटा राष्ट्रिय बिदा हटाउने प्रस्ताव, पेन्सन फ्रिज गर्ने निर्णय र स्वास्थ्य क्षेत्रमा ५ अर्ब फ्रांकको कटौती गर्ने जस्ता कार्यक्रमका विरुद्ध छन् ।

नेपालमा पनि भर्खरैमात्र भ्रष्टाचार नियन्त्रण र सुशासन सुनिश्चितताको माग गर्दै युवापुस्ता जेनजीले गरेको आन्दोलनको कारण सरकार विघटन भई नयाँ सरकार निर्माण भएको छ । युवाले राजनीतिक र प्रशासनमा हस्तक्षेप बढाई भ्रष्टाचार निर्मूल पार्न अठोट गरेका छन् । 

फ्रान्स र नेपालमा सँगसँगै आन्दोलन भएपनि मागहरूमा व्यापक फरक छ । फ्रान्सको आन्दोलन नागरिकले प्राप्त गर्ने शासकीय सेवासुविधा कटौतीको विषयमा छन् भने नेपालमा जेनजीका माग शासकीय सुधार र सुशासनमा केन्द्रित छन् । 

सरकार विरुद्धको आन्दोलन धनी र गरिबी दुवै देशका नागरिकले गर्दछन् । फ्रान्स हाम्रोभन्दा विकसित र कम भ्रष्टाचार हुने मुलुकको सूचीमा पर्दछ । फ्रान्स भ्रष्टाचार सूचकांक, २०२५ मा १०० मा ६७ अंक प्राप्त गरी अंकतालिकाको २५औं स्थानमा रहेको छ । जबकि नेपाल ३४ अंक प्राप्त गरी १०७ औं स्थानमा रहेको छ । यसको अर्थ हो- नेपाल अत्यधिक भ्रष्ट मुलुकमा पर्दछ भने फ्रान्स भ्रष्टाचार निकै कम हुने मुलुकको सूचीमा पर्दछ । नेपालका भ्रष्टाचार बढ्दै जानुका पछाडि विविध कारण भएता पनि जवाफ दिनु नपर्ने डिप स्टेट प्रणालीको विकास हुनु नै हो । 

नेपालमा भ्रष्टाचार निवारणका विधिगत प्रयास आजभन्दा ३५ वर्ष अगाडिबाट नै भएको हो । यद्यपि अपेक्षाकृत रूपमा भ्रष्टाचार न्यूनीकरण हुन सकेन । यसका पछाडि धेरै कारण होलान् । त्यसमध्येको एउटा कारण हो– भ्रष्ट मानसिकता । अझ तिखो रूपमा भन्दा लुटेरा मानसिकता हो । 

भ्रष्ट मानसिकता के हो र कोसँग छ भन्ने केही तथ्य उजार गरौं । २०८१ साल चैत्रमा  दुर्गा प्रसाईंहरूले राजा फर्काउन गरेको आन्दोलनमा लुटपाट मच्चियो । खासगरी नेपाली व्यापारी मीनबहादुर गुरुङले सञ्चालन गरेको भाटभटेनी लुटियो । दिनदहाडै  लुटपाट भयो । राज्य निरीह सावित भयो । त्यही समयमा यातायात बन्द भयो, कर्फ्यु लाग्यो, सवारीसाधन चल्न पाएनन् । त्यही मौकामा पठाओ, राइडरहरूले अफलाइन सेवा दिए । सय रुपैयाँमा यात्रा गर्न सकिनेमा दुई/तीन समय समेत लिन भ्याए । अप्ठ्यारोको बेला मानवीयता देखाउनु पर्नेमा झन् लुटियो । यिनै राइडरहरूले पंक्तिकारसँग कयौं पटक नेता, कर्मचारी र व्यापारी सबै भ्रष्ट भएको सुनाउँदै गाली व्यक्त गरे । आफूले नपाउँसम्म अरूलाई भ्रष्ट भन्ने, मौका पाए आफू त्योभन्दा दोब्बर लुट्ने संस्कार र अभ्यास नै भ्रष्टाचारको जडो हो । 

भदौ २३ गते युवाहरूले गरेको आन्दोलको क्रममा कलिला विद्यार्थीको मृत्युपछि उत्पन्न परिस्थितिले भदौ २४ गते आगजानी र लुटपाट मच्चियो । यस पटकको निशानामा व्यापारिक भवन, प्रशासनिक भवन, भौतिक संरचना, निजी सम्पत्ति र होटलसमेत परे । यसले अर्बौंको क्षति गरेको छ । यसको वास्तविक क्षति अध्ययनले देखाउला तर यसमा देखिएका दृष्य निकै दर्दनाक छन् । 

जित्न कसले जित्यो थाहा छैन तर, राज्यले अर्बौं क्षति भोग्न पर्यो । यस पटक पनि फेरि निशानामा परेको भाटभटेनीमा आगजानी र लुटापाट भयो । यसको प्रतिफलमा हजारौं मान्छेको रोजीरोटी गुमेको छ । लगानी गर्नेको मनोबल कमजोर भएको छ, व्यवसायी हतोत्साहित भएका छन् । होटलहरू जले, हजारौं काम गरी खानेहरू बेरोजगार हुनुपर्यो । व्यवसायीलाई क्षति पुग्यो । राज्यलाई कर घाटा निश्चित छ । लगानी सुरक्षा नहुँदा लगानी वातावरण धराशायी भयो । सरकारी भवन जलेर नष्ट भए । सहज रूपमा सेवा दिनसक्ने अवस्था छैन । 

हामी राज्यप्रति कति गैरजिम्मेवार छौं ? हामी हाम्रो दायित्व निर्वाह गर्न किन सक्दैनौं ? हाम्रो रगतमा अपराध मात्रै छ ? परोपकार किन छैन ? गम्भीर प्रश्न हामीमाथि नै छ । यसले बढ्दै गएको साक्षरता अर्थहिन देखाउँछ । चेतनाको स्तर कमजोर देखाउँछ । यस्तो चेतनाले लोकतन्त्र धान्न सक्दैन । उद्यमशीलता प्रवद्र्धन गर्दैन ।  

यसलाई फ्रान्सँग जोडेर हेरौं । फ्रान्समा भएको आन्दोलनमा असन्तुष्ट प्रर्दशनकारीले ठूला महल र व्यापारिक सामान नकिन्ने अभियान चलाएका छन्, अवज्ञा गरेका छन्, बहिष्कार गरेका छन् । हामीलाई मन पर्दैन भने बहिष्कार गर्ने अधिकार छ । त्यहाँ गएर खरिद नगर्ने अधिकार छ । राजस्व चुहावट गरेको मुद्दा गर्ने अधिकार छ । तर तोडफोड गर्ने, लुटपाट गर्ने, जलाउने अधिकार छैन । लोकतन्त्रमा समस्याका निकास बलबाट होइन, विवेक र कानुनबाट खोज्नुपर्छ । कसै उपर चित्त बुझ्दैन भने अदालत छ । अनुसन्धान गर्ने निकाय छन् । पात्र हटाउने हो । प्रवृत्ति हटाउने हो । संस्था ध्वस्त गर्ने होइन । 

साक्षरता बोकेका तर सचेतना शून्य भएका रोगीप्राणीले सभ्यता प्रदर्शन गर्न नसक्ने रहेछन् । सभ्यता र सम्पदाको जर्गना गर्न नसक्ने रहेछन् । फेरि फ्रान्सँग जोडर हेरौं– त्यहाँ प्रदर्शनकारीले नगरपालिका भवन शान्तिपूर्ण कब्जामा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर हाम्रोमा भने ठ्याक्कै उल्टो भयो । सबैथोक खरानी बनाइदिए । नागरिकलाई बर्दी बिनाका प्रहरी भनिन्छ । सरकार जवाफदेही भएन भन्दैमा हामीलाई पनि जवाफदेही नहुने छुट छैन । भ्रष्ट पद्धतिको विकास भयो भन्दैमा आफू पनि भ्रष्ट बन्नु हुन्न । यस आन्दोलनमा लुटेरा मानसिकता जबरजस्त देखियो । 

नतिजा नदिने प्रक्रिया खोज्ने र हरेक सार्वजनिक काममा व्यक्तिगत लाभ खोज्ने कर्मचारीतन्त्र सुध्रिएन भने नेताको जस्तै भैरवनाथ गणमा गएर सुरक्षा लिनुपर्छ भन्ने सन्देश समेत छोडेको छ ।

प्रदर्शनका क्रममा भएका घटनाका फुटेज बाहिरिएका छन् । लुट्नेहरूको ताँती देखिन्छ । यस्ता भ्रष्ट मानसिकता र निर्लज्ज मानसिकताले समृद्ध नेपाल बन्दैन । विकसित देशमा आन्दोलन पनि रचनात्मक हुन्छ, सिर्जनशील हुन्छ । तर, नेपालमा जस्तो सरकार, त्यस्तै नागरिक । सरकार र नागरिकको मिल्दो कम्बिनेशन छ ।  भ्रष्टाचार भ्रष्ट मानसिकताको उपज हो । भ्रष्ट मानसिकता हुनेहरू अवसर नपाउँदा भ्रष्टाचारको विरोध गर्छन् । नेता, राजनीतिज्ञ, कर्मचारी, पत्रकार र व्यापारी सबैलाई गाली गर्छन्  । पायो भने लुट्छन् भन्ने तथ्य फेरि उजागर भएको छ । 

हामी सबै अटाउने र सबै रमाउने समाज खोज्छौं । तर, यस्तो दरिद्र मानिसकताले त्यो सम्भव छैन । राज्यका हरेक क्षेत्रमा काम गर्ने कर्ताहरूको जन्म समाजको कोखबाट भएको हुन्छ । फेरि समाज व्यक्तिहरूबाटै निर्माण हुन्छ । पाइला–पाइला ठग्ने मात्र हो भने यो देश कहिल्यै बन्दैन । जुन देशका नागरिक बलिया छन्, त्यो देश बलियो हुन्छ, लोकतन्त्र जीवन्त हुन्छ । जब नागरिक नै भ्रष्ट भए तिनले जन्माउने नेतृत्व पनि भ्रष्ट नै सावित हुन्छ । भनिन्छ- हरेक समाजले आफ्नो गक्ष अनुसारको नेता जन्माउँछ । समाजबाट कर्मचारी, व्यापारी, पत्रकार वा अन्य पेशाकर्मी बन्दछन् । 

म कस्तो छु ? मैले के गरेको छु ? स्वमूल्यांङकन नै जरुरी छ । सुधार आफैंबाट, आफ्नै परिवारबाट जरुरी छ । सूचना, प्रविधि र सञ्जाल तथा रोबोटिक युगको मानिसले व्यवहार उही दास र ढुङ्गेयुग अनुसारको गरेर विकास कहिल्यै हुँदैन । विकासको साझेदार नागरिक पनि हुन् । सचेत र विवेकशील नागरिकले मात्र मुलुक र संविधानको रक्षा गर्न सक्छ । भ्रष्टाचारविरुद्ध खबरदारी गर्नसक्ने हिम्मत गर्न सक्छ । आफै भ्रष्ट समाजको अनुहारमा कुरूप देखिन्छ । 

यसपटकको प्रदर्शनले जनताप्रति सिधा रूपमा उत्तरदायी नहुने र जनसराेकारका विषयलाई नजरअन्दाज गर्ने सरकारको बहिर्गमन संविधानको धाराबाट मात्र होइन, सडकको राप र चापले पनि बहिर्गमन हुन्छ भन्ने सन्देश छोडेको छ । जनभावनाको अवमूल्यन गर्ने, क्षमतावान व्यक्तिलाई पन्छाउने, आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक दल, तिनका कार्यकर्ता र जनमतको दुरुपयोग गर्ने दललाई नागरिकप्रति सचेत र संवेदनशील हुन थप्पड हानिदिएको छ । 

नतिजा नदिने प्रक्रिया खोज्ने र हरेक सार्वजनिक काममा व्यक्तिगत लाभ खोज्ने कर्मचारीतन्त्र सुध्रिएन भने नेताको जस्तै भैरवनाथ गणमा गएर सुरक्षा लिनुपर्छ भन्ने सन्देश समेत छोडेको छ ।

अबको पुस्ता सेवा खोज्छ, आसन र भाषण होइन, सुनिश्चितता खोज्छ, शासन होइन भन्ने आदेश राज्य संयन्त्रलाई दिएको छ । अतः युवाले कसैलाई सत्ताको घोडाबाट भुइँमा पछार्न र कसैलाई सत्ताको सिंहासनमा चढाउने रगत चढाएका छैनन् । भ्रष्टाचार नियन्त्रण गरी जनआक्रोश र जनअसन्तुष्टिलाई सम्बोधन गर्न पठाएका छन्  । सुशासनको माग गरेर मृत्युवरण गर्ने युवाको रगतलाई न्याय गर्नु अन्तरिम सरकारको मुख्य अभिभारा हो । 

Share News