काठमाडौं । हालैको जेनजी आन्दोलनले नेपाली राजनीति हल्लाइरहेको छ । सडकमा उत्रिएका हजारौं युवाले पुराना दलहरूको शैलीमाथि प्रश्न उठाइदिएका छन् । यही मेलोमा नेकपा एमालेका युवा नेताहरूले पनि पार्टीमा व्यापक पुनर्गठनको आवश्यकता रहेको बताएका छन् ।
उनीहरूले पारदर्शिता, जवाफदेहिता, अवसर र पुस्तान्तरणसहित पार्टीमा पुनर्गठनको आवश्यकतामा जोड दिएका हुन् । यस आन्दोलनले सबै दललाई चेतावनी दिएको भए पनि यसको प्रत्यक्ष असर नेकपा एमालेमा गहिरो देखिएको उनीहरूले बताएका छन् ।
आफूलाई परिवर्तनकारी शक्तिको धरोहर भनेर प्रस्तुत गर्ने नेकपा एमाले अहिले आफ्नै अस्तित्व बचाउन पुनर्गठनको दबाबमा छ । यदि एमालेले समयमै आत्ममूल्यांकन गरेर सुधार गरेन भने, यो दल पनि युवा पुस्ताको नजरमा पुरानो पुस्ताको मात्र प्रतिनिधि बनेर सीमित हुने खतरा बढ्दै गएको एमालेका युवा नेताहरूले बताएका छन् ।
पार्टीभित्र अहिले संगठनात्मक कमजोरी, नेतामुखी राजनीति र गुटबन्दीका कारण असन्तोष फैलिएको छ । एमाले सचिव गोकर्ण विष्ट भन्छन्, 'पुनर्गठनको पेचिलो प्रसव वेदना पार गर्दै हामी एमालेलाई फेरि जुरुक्क उठाउँछौँ ।
स्थानीय तहदेखि केन्द्रसम्म कार्यकर्ताको आवाज अनुसार, एमालेलाई युवा पुस्ताले चाहेको जस्तै विकेन्द्रीकृत, पारदर्शी र डिजिटल संरचनामा आधारित आधुनिक दल हामी बनाउँछौँ।'
युवाले दिएको सन्देश स्पष्ट छ । एमालेको पुनर्गठन अब विकल्प होइन, अनिवार्य आवश्यकता हो । संगठनात्मक सुधारसहित एमालेलाई पुनः जनविश्वासले पूर्ण पार्टी बनाउनु अहिलेको आवश्यकता भएको बताउँछन् एमाले स्थायी समिति सदस्य खिमलाल भट्टराई । पार्टीले केन्द्रमा मात्रै शक्ति केन्द्रित गर्ने पुरानो प्रवृत्ति अन्त्य गरेर स्थानीय तहलाई अधिकार दिँदै उम्मेदवार छनोटदेखि नीति तय गर्ने प्रक्रियामा कार्यकर्ताको सहभागिता सुनिश्चित गर्नुपर्ने दबाब बढेको भट्टराईले बताए ।
डिजिटलाइजेसन पनि अर्को ठूलो आवश्यकता रहेको एमाले केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन् । सदस्यता नवीकरण, छलफल र निर्णय अब केवल कागजमा होइन, प्रविधि–मैत्री प्लेटफर्ममार्फत गर्नुपर्ने माग युवाबाट आएको रिजालले बताए । यति मात्र होइन, एमालेको विचारधारा र संगठनको संरचनामा पनि नवीनता खोज्नुपर्ने बेला आएको बताउन थालिएको छ ।
नेताहरूका अनुसार अब नारा सहित व्यवहारमा पनि आवश्यक नवीनता आजको आवश्यकता रहेको हो । जेन जि आन्दोलनले दिएको सन्देश युवा पुस्ताले व्यवहारिक समाधान खोजिरहेको भन्ने बुझ्नुपर्छ । मत पाउनु र विश्वास जित्नु फरक रहेको तथ्य बुझ्न नसक्दा अहिले हामीले एउटा ठक्कर खाएका छौँ । यो ठक्कर हाम्रा लागि सबथाेक हो । 'यसबाट सिक्दै हामी फेरि उठ्नेछौँ,' स्थायी समिति सदस्य ठाकुर गैरे भने ।
रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्य, वातावरणीय संरक्षण, प्रविधि-मैत्री विकास र सामाजिक न्याय लगायतका मुद्दालाई प्राथमिकतामा राख्दै नवीन एमाले अघि बढ्ने गैरेले बताए । 'केवल सडक, पुल र भवन बनाउने विकासको अवधारणा अब पर्याप्त छैन । नयाँ पुस्ता जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने नीतिहरू खोजिरहेका छन् । एमालेले यसलाई बुझ्न ढिलो गरे, परिणाम गम्भीर हुनसक्छ,' गैरेले भने ।
अबको सबैभन्दा ठूलो चुनौती भनेको नेतृत्व पुस्तान्तरण हो । एमालेलाई यहाँसम्म ल्याउन हिजो जेलनेल खपेका नेताहरूलाई सम्मानसहित सल्लाहकार बनाउँदै अबको नवीन एमालेको नेतृत्व युवाले गर्नुपर्ने रिजालको मत रहेको छ । दशकौँदेखि पुराना अनुहारहरूले मात्र निर्णायक तहमा वर्चस्व जमाएर युवा नेताहरूलाई दोस्रो दर्जाको भूमिकामा मात्र सीमित राख्ने प्रवृत्तिले अब पार्टी नचल्ने नेताहरूको दावी छ ।
जेनजी आन्दोलनले यही कुरा प्रष्ट देखायो । पुराना नेताहरू केवल सत्ता–संघर्षमा रहने र सीमित राजनीति गरे भने, नयाँ पुस्ता सडकमै उत्रिन्छ । एमालेले अब ३०–४० वर्ष उमेरका युवालाई केन्द्रीय समिति, पोलिटब्युरो र पार्टीका प्रमुख तहमा स्थान दिनै पर्ने सन्देश दिएकोमा एमालेका युवा नेताहरूले जोड दिएका छन् ।
युवाको असन्तोषसँगै एमालेमा समावेशीकरणको कमी पनि गहिरो प्रश्न बनेको छ । हुनत, एमालेले नै देशको पहिलो महिला राष्ट्रपति बनाएको हो । एमालेकै नेतृत्वको सरकारले इतिहासमै पहिलो महिला मुख्य सचिव बनाएको भए पनि अझ धेरै गर्नुपर्ने एमाले सचिव विष्टले बताए । पुनर्गठनको बहस गर्दा सिमान्तकृत समुदायलाई समान स्थान नदिए एमालेको समावेशीताको दाबी कमजोर हुने एमाले नेतृ ललिता केसीले बताइन् ।
'आजको राजनीति केवल बहुमतको होइन, विविधताको प्रतिनिधि बन्न सक्ने दललाई जनताले रोज्छन् । एमालेले यो सत्यलाई आत्मसात गर्न सके मात्र नयाँ पुस्ताको समर्थन पाउनेछ,' केसीले भनिन् ।
पारदर्शिता र जवाफदेहिता अर्को संवेदनशील पक्ष हो । जेनजी आन्दोलनले उठाएको असन्तोषको मूल कारण नै यही हो । एमाले भित्र निर्णय प्रक्रियामा खुलापन छैन भन्ने गुनासो छ । कसरी निर्णय हुन्छ, कुन आधारमा नेतृत्व चयन हुन्छ, आर्थिक स्रोत कहाँबाट आउँछ भन्ने कुरा अस्पष्ट छ । यसले एमालेको विश्वसनीयता घटाइरहेको छ।
पार्टीले अब आर्थिक पारदर्शिता, कार्ययोजनाको सार्वजनिक प्रतिवेदन र नेताको कार्यकालको मूल्यांकन अनिवार्य गर्नुपर्ने नेताहरूले बताए ।
राजनीतिक विश्लेषकहरू भन्छन्, 'एमालेसँग अहिले दुई बाटा मात्र बाँकी छन् । पहिलो बाटो, पुरानै ढाँचामा टिकिरहनु । यो बाटो रोजे एमाले क्रमशः कमजोर हुँदै जाने पक्का छ ।' एमालेका पुराना नेता लोककृष्ण भट्टराइका अनुसार दोस्रो बाटो, साहसिक पुनर्गठन गर्नु हो । यस बाटोमा हिँड्न सक्यो भने एमाले फेरि पनि जनआकर्षणको केन्द्र बन्न सक्छ । पुनर्गठनका लागि एमालेले तत्काल केही कदम चाल्नुपर्ने पुराना नेता भट्टराइको ठहर छ ।
युवा केन्द्रित नीति ल्याउने, आन्तरिक गुटबन्दी अन्त्य गर्ने, दिगो विकासलाई प्रमुख एजेन्डा बनाउने र संगठनभित्र युवा क्षमता विकासका लागि विशेष कार्यक्रम सुरु गर्ने अहिलेको आवश्यकता रहेको नेता रिजालले जानकारी दिए ।
पछिल्लो आन्दोलनलाई एमालेले केवल खतरा भनेर होइन, अवसर भनेर लिनुपर्ने अवस्था आएको रिजालले बताए । संकटसँगै नयाँ सम्भावना पनि जन्मिन्छ । एमालेले यदि आत्ममूल्यांकन गरेर साहसिक निर्णय लिन सक्यो भने, यो आन्दोलन एमालेको पुनर्जागरणको आधार बन्न सक्ने पुराना नेता भट्टराइले बताए । भट्टराइका अनुसार ढिलाइ गरियो भने एमालेको अस्तित्व संकटको पहिरो यही आन्दोलन हुने पक्का छ । रिजालका अनुसार जेनजी आन्दोलन एमालेका लागि ऐतिहासिक मोड हो ।
संगठनात्मक पुनर्गठन, विचारधारामा अद्यावधिक, नेतृत्व पुस्तान्तरण, सामाजिक समावेशीकरण र पारदर्शिता–जवाफदेहिता बिना एमालेलाई नयाँ पुस्ताले अस्वीकार गर्ने निश्चित छ । तर समयमै सुधार गर्न सके, एमाले फेरि पनि परिवर्तनकारी शक्तिको रूपमा स्थापित हुने सम्भावना प्रबल रहेको धारणा पुराना नेता गोविन्द ज्ञवालीले बताए । एमालेले अब निर्णायक छनोट गर्नुपर्ने समय आएको छ । ज्ञवालीका अनुसार पुरानो ढाँचामा टिक्ने कि साहसिक पुनर्गठन मार्फत नयाँ पुस्ताको पार्टी बन्ने, एमालेले समय छँदै रोज्नु पर्दछ ।