फिटनेस आम मानिसको आवश्यकता बनिसकेको छ । स्वस्थ रहनसहनसँगै व्यायामका लागि फिटनेस सेन्टर धाउनेहरुको संख्या पछिल्लो समय बढ्दै गइरहेको छ । बिहानै मन्दिरमा गएर पूजा गर्न अभ्यस्त भइसकेकाहरु पनि उठ्ने बित्तिकै फिटनेस सेन्टर धाउन थालेका छन् । फिटनेस कसैको फेसन त कसैको अपरिहार्य दैनिकी बनिरहेको छ । यही फिटनेस क्षेत्रको विषयमा जानकारी गराउन भदौ १४ गते काठमाडौंको लैनचोरमा क्लासिक फिटनेस एकेडेमीको आयोजनामा अन्तर्राष्ट्रिय फिट्नेस एक्स्पो हुँदैछ । देशको फिटनेस क्षेत्र, आयोजना हुन लागेको एक्स्पो लगायत विषयमा क्लासिक फिटनेस एकेडेमीका संस्थापक तथा फिटनेस एक्स्पोका संयोजक रोजल शाहीसँग विकासन्युजका लागि नरेन्द्र विष्टले गरेको कुराकानी गरेका छन् ।
नेपालमा पहिलोपटक फिट्नेस एक्स्पोको आयोजना गर्दै हुनुहुन्छ । यो आयोजना गर्नुको कारण के हो ?
फिटनेस एक्स्पो प्रायः व्यापारिक किसिमको हुने गरेको छ । तर धेरैजसो फिटनेश क्लबको आ–आफ्नै एक्स्पोहरू हुने गरेका छन् । फिटनेस सम्बन्धी थुप्रै कार्यक्रमहरु भइरहेका हुन्छन् । यो एक्स्पो फिट्नेस क्लबहरूको प्रचार गर्न तथा एक्सपोजर दिने ठाउँ नभेटिएकाले आयोजना गर्न लागिएको हो ।
नेपालमा फिटनेस क्षेत्रको बजार कति छ ? यसमा कस्ता खालका व्यवसायीहरू आवद्द छन् ?
अहिले नेपालमा फिटनेसको व्यापार किराना पसल जस्तै भएको छ । अहिले हरेक मान्छेहरू आफ्नो शारिरीक अवस्थाप्रति सचेत छन् । चोक-चोकको ५०० मिटरको फरकमा नयाँ जिम हल छन् । मान्छेहरू कोभिडपछि स्वास्थ्यप्रति संवेदनशील भएका हुन् । सामाजिक सञ्जालले पनि यसलाई अगाडि बढाउन सहयोग गर्यो । स्वस्थ रहन, तन्दुरुस्त रहन शारिरीक अभ्यासको आवश्यकता पर्दछ । हाल हरेक घरबाट दुई जनादेखि तीन जनासम्म फिटनेस सेन्टर धाउन थालेका छन् । हस्पिटल जाने मान्छेहरू समेत आइरहेका छन् । फिटनेस सेन्टरमा पर्याप्त सामग्री भएकाले सबैको रोजाइमा परेको हो । मान्छेले आफ्नो शारिरीक बनावटलाई ध्यानमा राखी फिटनेस सेन्टरहरु सजिलो ठानेर रुचाउने गरेका छन् ।
जिम सेन्टरमा विभिन्न प्रकारका मेसिनहरू तथा नयाँ-नयाँ प्रविधीहरु छन् । एकै ठाउँमा सबै चिज भएपछि मान्छेलाई स्वस्थ हुन फिटनेस सेन्टर नै बेस्ट पोइन्ट बनेको छ । यसमा न उमेरको कुरा छ, न कुनै योग्यताको कुरा छ । फिटनेस क्लबहरु पछिल्लो समय विभिन्न प्रकारका छन् । जसमा जिम भनेर व्यायाम जिमै हुने गरेका छन् भने कतै पावरलिफ्टिङ गर्ने मात्र पनि छन् । विभिन्न प्रकारका नयाँ–नयाँ फिट्नेसहरु बजारमा आइरहेका छन् ।
विदेशतिर बच्चैदेखि जिममा जिम्न्यास्टिक भन्दै बच्चालाई सहभागी गराएका छन् भने नेपालमा पनि यो अभ्यास विस्तारै आउँदैछ । जसले यसको महत्व बुझेका छन्, उनीहरुले सुरु गरिसकेको छन् । फिटनेस सेन्टर खोल्नलाई निश्चित मापदण्डहरु छन् । जसमा ५००० प्लस स्क्वायर फिटमा रिफर गर्नूपर्छ । तर, हामीले ३००० स्क्वायर फिटमा पनि जिम सेन्टर खोल्न सकिन्छ । रिगल फिटनेस क्लबमा सुरुवातदेखि नै साउना, स्टिम र ज्याकुजी जस्ता सुविधाहरु थियौं । बीचमा ज्याकुजी हटाउनु प¥यो किन भने नेपालमा राम्रो पानी छैन । अरु सुविधाका सामग्री भने पर्याप्त मात्रामा छन् ।
फिटनेसमा लगानी कति लाग्छ ?
फिटनेसमा धेरै लगानी छ । यसको सुरुवातमै धेरै खर्च हुन्छ । एउटा जिमको कार्पेट तथा कालो कलरको म्याट फिटिङ गर्दा नै १ सय ५० रुपैयाँ स्क्वायर फिटबाट सुरु छ । कम्तीमा ७०/८० लाख सामान्य जिम खोल्दा लाग्ने गरेको छ । बजारमा महँगो र सस्ता फिटनेस क्लब पनि छन् ।
काठमाडौं उपत्यकामा कति वटा फिटनेस क्लबहरू छन् ? रोजगारी कतिले पाएका छन् ?
देशभरिको तथ्यांक त मलाई थाहा छैन तर उपत्यका भरिमा अहिले ३०० वटा फिटनेस सेन्टर छन् । अहिले फिटनेस ट्रेनरको स्यालरी पहिलाको भन्दा धेरै राम्रो छ । जनरल पर्सनल ट्रेनिङ गराएको हामीले प्रतिघण्टा ३५ हजारदेखि सुरु गरेका छौं । एउटा पर्सनल ट्रेनरले दिनमा दशौं जनालाई प्रशिक्षण गराए पनि ३ लाख ६० हजार त सजिलै भयो । तपाईंले कस्तो ट्रेनिङ गराउनु हुन्छ ? पर्सनालिटी कस्तो छ ? तालिक सीप कस्तो छ ? यी कुराहरुमा तलक निर्भर गर्छ । विभिन्न पेशा व्यवसायका मानिसहरु अहिले फिटनेसमा आवद्ध भइरहेका छन् । कतिपयले आफ्नो पेशा नै छोडेर आउनु भएको छ । एउटा सामान्य जिममा पनि दुईदेखि तीन जना प्रशिक्षक हुन्छन् । हाम्रो रिगल फिटनेसमा नौ जना हुनुहुन्छ । तर, अन्य देशको तुलनामा नेपालमा फिटनेश क्षेत्र १० वर्ष पछाडी छ ।
फिटनेसका सामानहरुको माग कस्तो छ ? घरमै फिटनेस गर्नेहरु कति छन् ?
फिटनेसको सामानको माग निकै राम्रो छ । अहिले चलेका फिटनेस कम्पनीहरू नेपालमा पर्याप्त छन् । तपाईंले जिमको सामान लिन चाहनुहुन्छ भने सामानको मागलाई सामाजिक सञ्जालले सजिलो बनाइदिएको छ । मलाई मात्रै उपत्यकामा रहेका ३०० वटा जिमको बारेमा थाहा छ । सबैलाई यो कुरा थाहा छैन । तर अब सबैले यसको बारेमा थाहा हुनुपर्छ । खासमा फिटनेस एक्स्पोको गर्नुपर्ने कारण नै यही हो । जसमा जिमका नयाँ-नयाँ सामग्रीहरु देख्न सक्नुहुन्छ ।

फिटनेस किन आवश्यक छ ?
बाँच्नलाई खाना आवश्यक छ । रमाइलोका लागि घुम्न आवश्यक छ । गर्मी र न्यानोका लागि लुगा आवश्यक छ भने हाम्रो शरीरका लागि फिटनेस आवश्यक छ । किनभने हामीले हाम्रो शरीरलाई तन्दुरुस्त र स्वस्थ बनाउनुपर्छ । शरीरलाई पनि व्यायाम चाहिन्छ । व्यायाम गर्न फिट्नेस आवश्यक छ ।
फिटनेसलाई अस्पतालभन्दा पनि ठूलो सोच्नुपर्छ । मन्दिर नै फिटनेस सेन्टर सोच्नुपर्छ । लगानी गर्न चाहनेहरु यो क्षेत्रमा आउनुहोस्, मिलेर सबैलाई स्वस्थ राख्न प्रयत्न गरौं ।
एक्स्पोमा के-कस्ता ब्राण्डहरु सहभागी हुन्छन् ?
एक्स्पोमा फिटनेसलाई आवश्यक पर्ने ब्राण्डहरू नै हामीले राख्नेवाला छौं । जसमा जिमको सफ्टवेयर, अकाउन्ट, म्यानेज्मेन्ट, इक्विपमेन्ट तथा सप्लिमेन्ट लगायतका सबै चिजहरूलाई समावेश गर्ने तयारी गरेका छौं ।
एक्स्पोमा कति स्टल राखिँदैछ ?
यो हाम्रो पहिलो एक्स्पो हो । यसमा २० देखि २५ वटा स्टलसम्म रहने छन् । किनभने धेरै स्टल राख्दा एक्सपोजर पाउन अलिकति गाह्रो हुने भएकाले धेरै राखेका छैनौं ।
फिटनेस क्षेत्र औपचारिक र व्यवस्थित क्षेत्रका रूपमा किन विकास हुन सकेन ?
देशको अर्थतन्त्रको अवस्था कमजोर छ, त्यसैले फिटनेस क्षेत्र विकास हुन सकेन । सरकारले यसलाई प्राथमिकतामा राख्न सकेन । नत वातावरण नै बन्न सक्यो । यसको व्यवस्थापन गर्न नै समस्या छ । यहाँ सबै नागरिक धनी छैनन् । सबै सामान्य छन् । फिटनेसमा धेरै लगानी चाहिन्छ । फिटनेसलाई कुन कसरी अगाडि बढाउन सकिन्छ, यसका लागि कस्तो वातावरण चाहिन्छ, यो चेतना सरोकारवालालाई भएन । तर, पछिल्लो समय पढेका मान्छेहरू फिटनेस क्लबमा गइराख्नु भएको छ ।

यो क्षेत्रमा के-कस्तो सम्भावना छ ?
सम्भावना राम्रो छ । फिटनेसमा धेरै जना लागिरहेका छन् । मैले क्लासिक एकेडेमी खोलेको १४/१५ महिना भयो । अहिलेसम्म लगभग हामीले २ सय ४० जनालाई हामीले तालिम दिइसकेका छौं । २०० जनाले त रोजगारी पनि पाइसक्नु भएको छ । तलब कुरा त मैले अघि नै गरिसकेँ । राम्रै पाइरहनु भएको छ ।
यो क्षेत्रमा चुनौतीहरू के छन् ?
फिटनेस सेन्टरमा चुनौती छन् नै । यति कसैले जिम हल खोल्यो र उसको जिमहलमा कोही पनि आएन भने उसको लागि यो सुरुवाती चुनौती हो । कसैलाई चित्त बुझेन भने ऊ एक/दुई महिनामा नै छाड्न सक्छ । सबैलाई समेटेर अगाडि बढ्नुपर्ने हुन्छ ।
फिटनेस क्षेत्रमा लगानी गर्न चाहनेहरुलाई तपाईंको सन्देश के हो ?
फिटनेस भनेको यस्तो बिजनेस हो जुन सबैलाई चाहिन्छ र महत्त्वपूर्ण पनि छ । यसलाई कुनै प्रतिस्पर्धा सोच्नु हुँदैन । यो हरेक घरको मान्छे आउने ठाउँ हो । फिटनेसलाई अस्पतालभन्दा पनि ठूलो सोच्नुपर्छ । मान्छेले मन्दिर नै फिटनेस सोच्नुपर्छ । फिटनेसमा जति लाग्नुभएको छ, जुन प्रशिक्षक साथीहरु हुनुहुन्छ, सर्टिफाइड भइदिन आग्रह गर्छु । लगानी गर्न चाहनेहरु यो क्षेत्रमा आउनुहोस्, सबै मिलेर सबैलाई स्वस्थ राख्न प्रयत्न गरौं ।