यःमरी अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा, विश्व ब्राण्ड बनाउने बाटोमा चिरीबाबु

काठमाडौं । सरकारले नेवार समुदायको अनिवार्य परिकार यःमरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचिकृत गरेको छ । ललितपुर महानगरको सक्रियता तथा ललितपुरका नेवार समुदायको अथक प्रयासपछि यःमरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गरेको हो ।

‘य’ भनेको मनपर्ने, ‘मरी’ भनेको रोटी हो । यःमरीको अर्थ मन पर्ने रोटीको परिकार हो । यःमरी नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, त्यसमाथि पनि काठमाडौं उपत्यकाभित्रको सम्पूर्ण नेवारहरूको परिकार भएको बताउँछन् ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन ।

प्रमुख महर्जनले भने, ‘यःमरी अभौतिक राष्ट्रिय सम्पदामा सूचीकरण हुन गएकोमा सम्पूर्ण नेवार जातिहरू हर्षले गदगद भएका छन् ।’

यःमरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गर्नमा महानगरले विशेष पहल गरेको महानगरका प्रमुख महर्जन बताउँछन् । यसमा नेवार समुदायको विशेष भूमिका रहेको उनले बताए । 

‘ललितपुर महानगरपालिकाले यःमरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गर्नमा विशेष पहल गर्याैं । काठमाडौं उपत्यकाभित्रको सम्पूर्ण नेवारहरूको प्रतिनिधित्व हुने गरिकन महानगर क्षेत्रभित्र रहेका सम्पूर्ण नेवारहरूको खलः, पुचःहरूको भूमिका उत्तिकै छ,’ मेयर महर्जनले भने । 

महर्जनका अनुसार यःमरीलाई अभौतिक सांस्कृतिक सूचीमा सूचीकरण गर्नका लागि महानगरले सम्पूर्ण नेवारहरूको खलः, पुचःहरूर्ला प्रतिनिधित्व हुनेगरी १९ दिनसम्म एकै ठाउँमा राखेर यःमरीको विषयमा हामीले चर्चा परिचर्चा गरेको थियो । महानगरले २१/२२ किसिमका जातजाति, संघसंस्था, खलः, पुचःहरूलाई एउटै प्राङ्गणमा ल्याएर छलफल गराएको थियो । उक्त वर्कसपमा यःमरी कसरी बनाउनेदेखि यसको महत्वको बारेमा सिकाएको थियो ।

यःमरीको विषयमा बृहत छलफलपछि महानगरले लिखित, भिडियो, अडियोको प्रतिवेदन बनाएर संघीय सरकारलाई बुझाएको थियो । संघीय सरकारको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले वैशाखको अन्त्यसम्ममा पेस गर्नु भनेर सार्वजनिक सूचना जारी गरिएको थियो । त्यहीअनुसार वैशाखको अन्त्यमा पेस गरेको प्रमुख महर्जनले बताए । 

प्रमुख महर्जनका अनुसार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट १०५ वटा अभौतिक राष्ट्रिय सूचीमा प्रवेश गराउनको निमित्त प्रस्तावनाहरू नेपाल सरकारले प्राप्त गरेको थियो । त्यसमध्येबाट महानगर र नेवारहरूको संयुक्त प्रयासबाट तयार पारिएको यःमरीलाई नेपाल सरकारले अभौतिक सूचीमा राख्नको निमित्त प्रस्ताव स्वीकृत भयो ।

महानगरको मात्रै एकल प्रयासले यसरी सफलता प्राप्त गर्न असम्भव हुने प्रमुख महर्जन सुनाउँछन् । ‘उहाँहरूको पहल नभएको भए यो काम सम्भव नै हुने थिएन । यसको निमित्त कुनै न कुनैले सहजीकरण गर्नुपर्ने अवस्था थियो ।   महानगरपालिकाले एउटा सहजीकरण गर्ने भूमिका निभाएको हो ।’

नेवार समुदायको मात्रै नभएर सबैको मनपर्ने मिठो खाद्यान्न यःमरी भएको बताउँछन् महर्जन । यसमा कुनै पनि मिसावट हुन नहुने उनको भनाई छ । यसको लागि पनि महानगरले विशेष छलफल गरेको उनले बताए ।

‘यःमरीमा कुनै पनि किसिमको मिसावट हुनु हुँदैन भन्ने उद्देश्य हाम्रो हो । यसलाई संरक्षण कसरी गर्ने भन्ने आदि इत्यादिको विषयवस्तुहरूमा पनि हामीले त्यो १९ दिने वर्कसपमा छलफल राख्यौं । त्यसको दस्तावेजहरू अडियो, भिडियो, लिखत सबै बनाएर नेपाल सरकारमा पेस गर्याैं,’ उनले भने । 

अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्ने 

अहिले जसरी यःमरी अभौतिक सांस्कृतिक सूचीमा राख्नको लागि महानगरले पहल गर्यो । यो पहल भनेकै अन्तर्राष्ट्रिय ब्रान्डिङको निमित्त रहेको महर्जनले सुनाए । 

सरकारले अभौतिक सूचीमा सुचीकरण गर्दैमा अब टुंगियो भन्दा पनि आधा मात्रै काम सकेको उनको भनाइ छ । प्रमुख महर्जनले भने, ‘अभौतिक सांस्कृतिक सूचीमा राख्नको अर्थ यहीँ टुङ्गियो भनेको होइन । यसको मतलब अब लगभग आधी काम भयो भन्ने सम्मको सूचना यसले सम्प्रेषण गरेको छ ।’ यसको अन्तिम नतिजा भनेको युनेस्कोमा जाने नै रहेको उनले बताए ।

प्रमुख महर्जन भन्छन्, ‘युनेस्कोमा जाँदाखेरिको अवस्थामा नेपाल सरकारले यसलाई अपनत्व लियो । सरकारले अपनत्व गरेको अवस्थामा अब सरकार ललितपुर महानगर र स्थानीय नेवार जातिहरू सबै मिलेर प्रस्ताव हामीले युनेस्कोमा पठाउनुपर्छ । युनेस्कोमा पठाउनको निमित्त नेपाल सरकारले गरेको निर्णय हुनु आवश्यक थियो । तसर्थ अहिलेको निमित्त एउटा प्रस्थान बिन्दु पार गरेको हो । अब युनेस्कोमा गएर नेवार जातिको मिठो रोटीको परिकार छ, यो अब विश्वको जुनसुकै कुनै पनि मुलुकले मेरो हो भनेर लिन पाईँदैन । यो चाहिँ ब्रान्डिङ भयो ।’

चीनको ३८ वटा अमूर्त सम्पदा युनेस्कोमा दर्ता भइसकेको अवस्था छ । भारतको १३ वटा छ र इरानको चार वटा । लगायत अन्य थुप्रै देशको चाहिँ थुप्रै वटा यस्तो अमूर्त सम्पदा दर्ता भइसकेको परिप्रेक्ष्यमा नेपालको चाहिँ एउटा पनि भएको छैन । कम्तीमा पनि नेपालबाट  कम्तीमा एउटा दर्ता किन नगर्ने भनेर यःमरीलाई सूचीकरण गर्न पहल गरेको प्रमुख महर्जनकाृ भनाई छ ।

अन्य नेवारी संस्कृतिका परिकार चाडपर्वलाई पनि अभौतिक सम्पदाको सूचीकरण गर्दै जाने तयारी महानगरको रहेको छ । महानगरका प्रमुख महर्जनका अनुसार यसको लागि निरन्तर प्रयास रहेको महर्जनले सुनाए । यसको लागि महानगरले बजेट समेत विनियोजन गरेको छ । महानगरको बजेट पुस्तिकामा पनि यःमरी समावेश भएको छ ।

‘अब अन्य परिकार, अन्य जात्रा, पर्व, गीत, भजन, सांस्कृतिक कार्यक्रम आदि इत्यादिलाई पनि युनेस्कोको अमूर्त सम्पदामा सूचीकरण गर्नको निमित्त हामी ललितपुर महानगरपालिकाको तर्फबाट प्रयास जारी रहन्छ, प्रमुख महर्जनले भने,  ‘यसको विज्ञ व्यक्तित्वहरू उदाहरणको निम्ति डाक्टर मोनालिसा महर्जन । उहाँ यही विषयमा विज्ञ व्यक्ति हुनुहुन्छ । उहाँहरूसँग सरसल्लाह गरेर, उहाँहरूको विज्ञता प्रयोग गरेर हामी यसलाई नरोकिने गरेर अनवरत रूपमा थप विषयवस्तुलाई दर्ज गर्नको निमित्त अगाडि बढ्छौं । त्यसको निमित्त हामीले बजेटको व्यवस्थापन गरेका छौँ ।’

null

नयाँ पुस्तामा यःमरीको बढ्दो क्रेज

अहिले नयाँ पुस्तामा यःमरी क्रेज बढ्दै गएको अवस्था छ । आजभन्दा १० वर्ष अगाडि र आजको सन्दर्भ कोट्याएर हेर्ने हो १० वर्ष अगाडि यहाँको नेवार जातिको धार्मिक महत्त्व जति थियो आज पनि उत्तिकै छ ।

धार्मिक रूपमा पनि यःमरीको महत्त्व उत्तिकै छ । नेवार समुदायमा विशेष गरी बौद्ध धर्ममा यसको महत्व अझ बढी छ । पूजापाठ गर्दाखेरि पनि यःमरी राखेर पूजा गर्नुपर्छ । कुनै नयाँ घर बनाइसकेपछि त्यो घरमा पूजापाठ गर्नको निमित्त पनि यःमरी आवश्यक पर्छ । 

अब कुनै बालबच्चाको ह्याप्पी बर्थडे मनाउँदाखेरि पनि यःमरीको माला लगाउनुपर्छ । रातो मच्छिन्द्रनाथ र मीननाथको प्रत्येक पाइला–पाइलामा यःमरीको आवश्यकता पर्छ, पूजापाठ गर्नको निमित्त । अहिले पनि लगनखेलमा रातो मच्छिन्द्रनाथ र मीननाथको नरिवल खसाल्ने जात्रामा नरिवल खसाल्नुअघि यःमरी खसाल्छ । तसर्थ यसको महत्त्व व्यापक हुँदै आएको छ ।

कुनै धार्मिक स्थल, रमणीय स्थल जहाँ छ, ती ठाउँका पसलहरूमा यःमरीको आइटमहरू राखिएको छ । अहिले यःमरी भनेपछि सबैको जनजिब्रोमा झुन्डिसकेको अवस्था छ ।

गुणस्तर व्यवस्थापनमा प्राथामिकता 

यःमरी अहिले जसरी अभौतिक सूचीमा सूचीकरण हुनु ठूलो कुरा भन्दा यसको गुणस्तर व्यवस्थापन हुनुपर्ने महर्जनको धारणा छ । 

उनले भने, ‘यःमरीलाई हामीले गुणस्तर कायम गर्नुपर्छ । यो अब अन्तर्राष्ट्रिय ब्रान्डिङ भयो । यसको कपिराइट हाम्रोमा रहने भयो । त्यो भइसकेपछि यसको गुणस्तर कायम भनेको चानचुने कुरा हैन । यो ठूलो चुनौतीको काम हो । तर त्यसको निमित्त पनि हामी लाग्छौं ।’

प्रमुख महर्जनले यःमरीको गुणस्तर कायमको लागि महानगरपालिकाको सम्पूर्ण खलः, पुचः, नेवार जातजातिलाई विशेष अनुरोध समेत गरेका छन् । 

Share News