काठमाडौं । नेपाली अटोमोबाइल जगतको सबैभन्दा ठूलो मेला ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ राजधानीको भृकुटीमण्डपमा उत्साहका साथ सुरु भएको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गरेको यो एक्स्पोले स्पष्ट संकेत गरेको छ कि अब नेपाली अटो बजार पूर्ण रूपमा विद्युतीय गाडी (ईभी) तर्फ केन्द्रित भएको छ । एक्स्पोको पहिलो दिनमै बुधबार दुई दर्जनभन्दा बढी नयाँ मोडलका सवारीसाधन सार्वजनिक भएका छन् ।
एक्स्पोमा अधिकांश कम्पनीहरूले नयाँ विद्युतीय मोडलहरू सार्वजनिक गरेका छन् भने केहीले पेट्रोल र हाइब्रिड गाडीका नयाँ संस्करण पनि प्रदर्शन गरेका छन् । ग्राहकहरूलाई आकर्षित गर्न कम्पनीहरूले भारी छुटलगायतका विभिन्न स्किमहरू ल्याएका छन् ।
कुन ब्राण्डको के छ अफरहरू ?
प्रोटोन
शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले मलेसियन ब्रान्ड प्रोटोनलाई नेपाली बजारमा भित्राएको छ । चिनियाँ अटोमोबाइल ‘जीली’ सँगको सहकार्यमा निर्मित ‘प्रोटोन ई मास ७’ दुई भेरिएन्टमा सार्वजनिक गरिएको हो । जसमा प्राइम भेरिएन्ट र प्रिमियम भेरिएन्ट रहेका छन् । प्राइम भेरिएन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा ४९.५२ किलोवाट ब्याट्री र ३४५ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

प्रिमियम भेरिएन्टको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यसमा ६०.२२ किलोवाटको ठूलो ब्याट्री र ४१० किलोमिटर रेन्ज दिन्छ ।
यसमा विश्वकै सबैभन्दा उन्नत मानिएको ‘सर्ट ब्लेड ब्याट्री’ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । एक्स्पो अफरअन्तर्गत ४० प्रतिशत डाउन पेमेन्टमा ४ वर्षसम्म शून्य प्रतिशत ब्याजदरको आकर्षक योजना ल्याइएको छ । साथै ८ वर्षको असीमित किलोमिटर वारेन्टीले ग्राहकलाई थप विश्वस्त पारेको छ ।
हुन्डाई
लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको स्टलमा हालै सार्वजनिक भएको ‘क्रेटा ईभी’ लाई मुख्य आकर्षण बनाएको छ । तर सबैभन्दा ठूलो घोषणा भने नेपालमै एसेम्बल गरिएका गाडीहरूमा केन्द्रित छ । नेपालमा निर्मित गाडीमा कम्पनीले नवलपरासीको रामग्राममा रहेको एसेम्ब्ली प्लान्टमा बनेका भेन्यू र क्रेटा मोडलहरूमा १० वर्षको निःशुल्क सर्भिसिङको अफर दिएको छ ।

एक्स्पो अवधिभर गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष नगद छुट, एक वर्षको निःशुल्क बीमा, सडक करको सुविधा र लक्की ड्रमार्फत एक जनालाई भियतनाम भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।
जीकर र निशान
पायोनियर मोटर कर्पले आफ्नो प्रिमियम ईभी ‘जीकर एक्स’ को मूल्यमा भारी कटौती गरेको छ । ८५ लाख रुपैयाँ पर्ने यो गाडी नाइमा मोबिलिटी एक्स्पो र दशैंको लागि मात्र ७० लाख रुपैयाँमा उपलब्ध गराइएको छ । यो १५ लाखको छुट हो ।
यसैगरी, एसपीजी अटोमोबाइल्सले जापानिज ब्रान्ड निशानको चर्चित ईभी ‘लिफ’ अहिलेसम्मकै ठूलो छुट दिएको छ । ६५ लाख रुपैयाँ पर्ने यो गाडी एक्स्पो अवधिभर ४५ लाख रुपैयाँमा उपलब्ध गराएको छ । जुन २० लाख रुपैयाँ छुट हो ।

बीवाइडी
चिनियाँ विद्युतीय गाडी बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले मोबिलिटी एक्स्पोमा आफ्नो नयाँ र बहुप्रतीक्षित ह्याचब्याक ‘एटो वान’ (सिगल) सार्वजनिक गरेको छ । सानो र किफायती गाडी खोज्नेहरूका लागि यो उत्कृष्ट विकल्प बन्न सक्ने कम्पनीले दाबी गरेको छ ।
यसमा बस भेरिएन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । यसले २३० किमि रेन्ज दिने कम्पनीको दावी छ ।
यसैगरी, टप भेरिएन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको रेन्ज ३०० किमि रहेको कम्पनीले जनाएको छ ।
फक्सवागन
फक्सवागनले पावर र पर्फर्मेन्स रुचाउनेहरूका लागि १.५ लिटर टर्बो इन्जिनसहितको टाइगुन र भर्टुस जिटी सार्वजनिक गरेको छ । यसमा प्रयोग भएको ‘एसीटी टेक्नोलोजी’ ले कम स्पिडमा दुईवटा सिलिन्डर मात्र सक्रिय गराई इन्धन बचत गर्ने कम्पनीको दाबी छ । जसले १ हजार ५ सय सीसीको गाडीमा पनि १२–१३ किमि प्रतिलिटरको माइलेज दिन्छ ।

ग्रेट वाल मोटर्स
जीएमडब्लुले आफ्नो प्रिमियम हाइब्रिड एसयूभी ‘ट्यांक ५००’ लाई मुख्य आकर्षण बनाएको छ । जसको मूल्य २ करोड १५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साथै विद्युतीय गाडी ‘ओरा ०३’ मा विशेष अफर अन्तर्गत ३९ लाख ९९ रुपैयाँमा उपलब्ध गराइएको छ । जसमा ७ किलोवाटको चार्जर र एक वर्षको बीमा निःशुल्क छ ।
म्याक्सस
प्रिमियम र लग्जरी एमपीभी खोज्नेहरूका लागि म्याक्ससले ‘मिफा ७’ सार्वजनिक गरेको छ । यसको मूल्य १ करोड २५ लाख तोकिएको छ भने एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूलाई २० लाख रुपैयाँ र ई–टेरोन पिकअप बुक गर्नेलाई ५ लाख रुपैयाँ नगद छुट लगायत अन्य विशेष अफरहरू दिएको छ ।

सात सिट क्षमता भएको यो लक्जरी एमपीभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो ।
एमजी
एमजीले आफ्नो नयाँ गाडी ‘आईएम ६’ प्रदर्शनमा राखेको छ । जसको रेन्ज ४५० किलोमिटर छ । यसको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ । साथै कमेट, एमजी ४ र जेडएस ईभीजस्ता मोडेलमा पनि आकर्षक अफरहरू छन् ।

चेरी (ओमोडा/जेको)
चेरीले आफ्नो नयाँ मोडल जेको जे ५ लाई एक्स्पोमा ५६ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य दिएको छ । यो गाडी ६० लाख ९९ हजार रुपैयाँको मूल्यमा सार्वजनिक गरेको थियो ।

हेनरी बोल्ट्स
एक्स्पोमा यो ब्रान्डले आफ्नो नयाँ मोडेल सी प्रो सार्वजनिक गरेको छ । जसमा १ लाख ५० हजार रुपैयाँ छुट छ भने पुरानो मोडेल एचमा २ लाख ५० हजार रुपैयाँको छुट दिइएको छ ।
फोर्थिङ
लक्ष्मी इ-मोबिलिटीले नयाँ ब्रान्ड फोर्थिङको ‘फ्राइडे ईभी’ सार्वजनिक गरेको छ । जसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो गाडी आजै सार्वजनिक गरिएको हो ।

सनलङ
ब्लू कर्पोरेशन प्रालिले सनलङको १२ र १३ सिटे माइक्रोभ्यान एक्स्पोमा सार्वजनिक गरेको छ । सनलङले दुईवटा माइक्रो ईभी भ्यान यु वान ४७ लाख ४७ हजार रुपैयाँ र यु २ ५१ लाख ५१ हजार रुपैयाँमा विशेष स्किमहरू ल्याएको छ ।
कामा
कामाले आफ्ना ईभी ट्रक र भ्यानमा १० हजारदेखि ५० हजारसम्मको नगद छुट, २ लाखको मूल्य कटौती र एक वर्षको बीमा तथा सडक करको सुविधा दिएको छ । यो गाडीको आधिकारिक वितरक त्रिवेणी ग्रुप हो ।
लिपमोटर
यो ब्रान्डले सी १०, बी १० र टी ०३ जस्ता मोडलहरू प्रदर्शनमा राखेको छ । सी १० को मूल्य ६४ लाख ९९ हजार रुपैयाँ र टी ०३ को मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स हो ।

क्यारी
लक्ष्मी ग्रुप अन्तर्गतको यो ब्रान्डले आफ्ना १५ र १६ सिटे ईभी भ्यानहरू केभिन १ र केभिन २ लाई क्रमशः ५८ लाख ५६ हजाररुपैयाँ र ६३ लाख ६ हजार रुपैयाँको मूल्यमा सार्वजनिक गरेको छ ।
टोयोटा
टोयोटाले ‘यारिस क्रस हाइब्रिड’ र भर्खरै सार्वजनिक गरेको ‘प्राडो एलसी २५०’ लाई मुख्य आकर्षण बनाएको छ । हाइब्रिड गाडीमा ८ लाखसम्म र प्राडोमा ११ लाखसम्मको छुट प्रदान गरिएको युनाइटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ ।
मित्सुबिसी
मित्सुबिसीले आफ्ना पजेरो स्पोर्ट, एक्लिप्स क्रस र आउटल्यान्डर जस्ता गाडीहरूमा भारी छुटको व्यवस्था गरेको छ । तर कुनमा कति अफर भनेर खुलाएको छैन । लियोन मोटर्स नेपालका लागि आधिकारिक वितरक हो।
केइ
यस्तै विद्युतीय गाडी केइले पनि नाइमा मोबिलिटी एक्स्पो अवधिभर ९ लाखसम्मको छुट दिएको छ ।