अब नेपालमा पनि ४ करोड मूल्य पर्ने उड्ने कार : चालक नचाहिने, दुईजना यात्रु बोक्ने

काठमाडौं । सडकमा गुड्ने गाडी त हामीले देख्दै र चढ्दै आएका छौं । तर, अब हामीले आकाशमा उड्ने कार (फ्लाइङ कार) आफ्नै आँखाले हेर्न पाउने भएका छौं । 

आगामी भदौमा आयोजना हुने ‘नाडा अटो शो’ मा चिनियाँ ब्राण्ड चाङ्गानले उत्पादन गरेको  ‘फ्लाइङ कार’ प्रदर्शनीमा राखिने भएको छ । चाङ्गानको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले यो कार नेपाल ल्याउन लागेको हो । तर, आकर्षक र भविष्यको सवारी मानिएको यो कार तत्कालै किन्न वा नेपाली आकाशमा उडाउन भने पाइने छैन । 

कम्पनीले यसलाई बिक्रीका लागि नभई प्रदर्शनी र आफ्नो प्राविधिक क्षमता देखाउनका लागि मात्रै ल्याउन लागेको जानकारी दिएको छ । 

कस्तो छ फ्लाइङ कार ?

आकाशमा उड्ने कार कस्तो हुन्छ भन्ने विषयमा अधिकांश अटोप्रेमीहरूको चासो बढेको छ । एमएडब्लू वृद्धि अटोकर्पका मार्केटिङ प्रमुख रमेश दनेखूले यो कार चांगान अन्तर्गतको  ‘दीपल’ ब्राण्डको पूर्ण विद्युतीय कार भएको जानकारी दिए । यसमा दुई जना यात्रुले यात्रा गर्न सक्छन् । 

‘यो चाङ्गानको इनोभेसन देखाउनका लागि हो,’ दनेखूले भने, ‘हामीले प्राविधिक रूपमा के–के गर्न सक्छौं भनेर देखाउन ल्याउन लागेका हौं ।’

धेरैको चासोको विषय यो कार किन्न पाइन्छ कि पाइँदैन र यसको मूल्य कति पर्छ भन्ने हुन्छ । कम्पनीका अनुसार यसको मूल्य चीनमा करिब २३ लाख ९० हजार चिनियाँ युवान पर्छ भने नेपालमा यसको मूल्य ४ करोड ५० लाख रुपैयाँ पर्नेछ । 

यो उड्ने गाडी चीनका प्रमुख अटो निर्माता कम्पनी चांगान अटोमोबाइल र ईहाङको सहकार्यमा निर्माण गरिएको हो । कम्पनीका अनुसार यो उड्ने सवारीसाधनको नाम ईएच २१६-एस हो । जुन पूर्ण रूपमा विद्युतीय र स्वचालित प्रणालीमा आधारित मोडेल हो । 

null

यो सिधै माथि उड्न र अवतरण गर्न सक्ने विशेषता भएको फ्लाइङ कारका रूपमा चीनमा परिचित छ । 

‘फ्लाइङ कार’ चालकबिनै उड्न सक्ने स्वचालित क्षमता भएको गाडी हो । यसमा दुई यात्रु बोक्ने तथा अधिकतम २२५ किलोग्राम तौल बोक्न मिल्ने क्षमता छ । एक पटकको चार्जमा ३० किलोमिटर दूरी (२०-२१ मिनेटको उडान) तय गर्न सक्ने कम्पनीको भनाइ छ । 

यसका साथै अधिकतम गति १३० किलोमिटर प्रतिघण्टा, अधिकतम उचाइ ३ हजार मिटर रहेको छ । यो गाडीले चीनको नागरिक उड्डयन प्राधिकरणबाट प्रमाणित व्यावसायिक प्रयोगको अनुमति प्राप्त गरिसकेको छ । 

विश्वमा उड्ने कार प्रविधिको स्थिति

अमेरिका, चीन, दुबई, दक्षिण कोरिया, र युरोपेली देशहरू (फ्रान्स, जर्मनी, बेलायत) ले उड्ने कार तथा विद्युतीय ऊध्र्वगामी अवतरण र उडान सक्षम यान (इभीटीओएल) प्रविधिको विकासमा उल्लेखनीय प्रगति गरिसकेका छन् । त्यहाँ सरकारी अनुमति, परीक्षण उडान र पूर्वाधार निर्माण सुरु भइसकेको छ । तर, नेपालले पहिलो पटक उड्ने कारको प्रदर्शनीमार्फत क्षेत्रीय अग्रता देखाएको छ । 

भारतमा केही निजी कम्पनीहरूले यस्ता प्रोटोटाइप विकास गरिरहेका छन्, तर परीक्षण अनुमति पाएका छैनन् । बंगलादेश, पाकिस्तान, र श्रीलंकामा भने कुनै ठोस नीति वा लगानी सार्वजनिक भएको छैन ।

नेपालमा उडाउन पाइँदैन : विभाग 

नेपालको सवारी नियमन गर्ने यातायात व्यवस्था विभागले यस्ता सवारीका लागि कुनै पनि कानुनी व्यवस्था नभएको बताएको छ । यातायात व्यवस्था विभाग प्राविधिक शाखाका प्रमुख श्रीकान्त यादव नेपालको यातायात व्यवस्था ऐनले सडकमा गुड्ने सवारीलाई मात्र चिन्ने र उड्ने कारको परिकल्पना नै नगरेको बताउँछन् ।

‘हाम्रो यातायात ऐनले उड्ने कारको लागि कुनै नीति-नियम बनाएको छैन,’ उनले भने, ‘हाम्रो कानुनले सडकमा गुड्नेलाई मात्र सवारी मानेको छ । त्यो बाहेकको परिकल्पना नै गरिएको छैन ।’

उनले उड्ने कार ल्याउने विषयमा आफूहरूलाई आधिकारिक जानकारी नभएको बताए ।

चांगानले विकास गरेको इलेट्रिकल भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ फिचर रहेको यो फ्लाइङ कार लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी र चांगानको अटोमोबाइल भेहिकल उत्पादन क्षमताको भरपुर प्रयोग भएको कम्पनीले दाबी गरेको छ । चांगानले यो फ्लाइङ कार टेक्नोलोजीमा आगामी ५ वर्षमा २० अर्ब युवान लगानी गर्ने घोषणा गरेको बताइएको छ । 

‘यो कार बिक्रीका लागि होइन । नेपालमा यस्ता गाडी सञ्चालनका लागि कुनै नियम कानुन नै बनेको छैन,’ दनेखूले भने, ‘यो कार विश्वव्यापी रूपमा नै व्यावसायिक बिक्री सुरु भइसकेको छैन, अझै अनुसन्धान र विकासकै चरणमा छ ।’

‘यसको बारेमा हामीलाई पनि धेरै कुरा थाहा छैन, यो रिसर्च फेजमै छ । यसको अन्य विस्तृत विवरण अहिले नै दिन सकिँदैन,’ उनले थपे ।

यो कार चीनमा परीक्षण भइसकेको तर नेपालमा ल्याएर उडाउने वा परीक्षण गर्ने कुनै योजना नरहेको कम्पनीले जनाएको छ । 

‘चीनमा यो कार उडिसकेको छ,’ दनेखूले भने, ‘तर यहाँ ल्याएर उडाउन मिल्दैन, यो नाडा अटो शोको स्टलमा प्रदर्शनीमा मात्र रहनेछ ।’
 
यो कारले नाडा अटो शोमा सबैको ध्यान खिच्ने निश्चित छ । नेपालमा बिक्री र सञ्चालन नहुने भएता पनि भविष्यको सवारीसाधन कस्तो हुनेछ भन्ने एउटा रोमाञ्चक झलक यसले दिनेछ । 
 

Share News