हावापानीको हलचल पछिल्ला वर्षमा निकै भइरहेको छ । कहिल्यै अत्यधिक वर्षा हुने कहिल्यै पानी नपर्ने लगायतका विभिन्न समस्याहरू देखिएका छन् । खानेपानीको संकटदेखि अत्यधिक गर्मी लगायत विभिन्न समस्या देखिरहेका छन् । नेपालको औसत तापक्रम ०.०५६ प्रतिशतले बढेको छ । यसमा पनि नेपालको हिमाल क्षेत्रमा ०.८६ प्रतिशतले प्रत्येक वर्ष बढिरहेको छ । यसमा पनि ताप्लेजुङ मनाङ मुस्ताङमा ०.९२ प्रतिशतले प्रतिवर्ष तापक्रम बढेको देखिएको छ । यो राम्रो लक्षण होइन । यदि संसारको तापक्रम १.५ डिग्री बढ्ने हो भने नेपाल जस्तो हिमाली देशको तापक्रम २.१ डिग्रीले बढ्ने अनुमान गरिएको छ । जसको कारण हिमतालहरू विस्तारै पग्लिन थाल्छन् । तापक्रमको कुरा हेर्दा सुन्दा सामान्य दुई डिग्री भन्ने लाग्न सक्छ । तर हिमालको लागि यो निकै भयानक असर हो । यसको कारण मनसुनमा गढबढ गर्छ ।
नेपालको विगतको तथ्यांक हेर्दा १ सय २५ दिनमा मनसुन आउने र जाने हुन्थ्यो । जुनको ११÷१२ तारिखमा आउने सेप्टेम्बरको अन्तिममा जाने गरी मनसुन अवधि १ सय २५ दिनको हुन्थ्यो । अहिले १ सय ३० दिनको हुन थाल्यो । समग्र पानीको मात्रा हेर्ने हो भने कम पर्न थालेको छ । पहिले लामो झरी पर्थ्याे तर अहिले एकैचोटी मुसलधारे पानी पर्छ । यसको असर खानेपानी, कृषि, वन सुरक्षा लगायत सबैमा पर्न थालेको छ । अझ अचम्म त के छ भने नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ भनेर कास्कीको लुम्लेलाई भन्छौं तर पानी घट्दै गइरहेको छ । त्यहाँको ११.४ प्रतिशत मिलि मिटर पानी घटिरहेको भेटिएको छ भने त्यसको छिमेकी जिल्लामा स्याङजामा ९ एमएलको दरले पानी बढ्न थालेको छ ।
यसले कास्कीमा सुक्खा हुन थालेको र स्याङजामा बढी पानी पर्न थालेको देखिएको छ । हिमाली क्षेत्रहरू ताप्लेजुङ र मनाङको तापक्रम अन्य ठाउँको भन्दा बढी वृद्धि भएको पाइएको छ । हिमाली क्षेत्र बढी तातो, मधेश केही चिसो भएको पाइएको छ । अझ यसमा तराईका जिल्ला बढी जोखिममा परेका छन् ।
खतरामा हिम नदी
हिमालमा हिम नदी हुन्छन् । ती नदीकै रुपमा बग्नुपर्ने हो । तर, पछिल्लो समयमा तालको रुपमा जम्न थालेका छन् । हिमालका २५ प्रतिशत हिम नदीहरू हिमतालका रुपमा जम्न थालेको अनुमान पनि गरिएको छ । अबको ४० वर्षसम्म यस्तै अवस्था रहने हो भने यो क्रम दोब्बर हुन्छ । सबैभन्दा अचम्मको कुरा के छ भने मुस्ताङमा सन् १९९१ देखि २००० सम्म हेर्दा त्यहाँको औषत वर्षा जम्मा २ सय ८९ मिलि मिटर पानी पर्नुपर्ने तर दुर्भाग्य २०२२ मा ४ सय ३० मिलि मिटर पानी पर्यो । जसका कारण मुस्ताङमा ठूलो पहिरो आयो । जसका कारण माटोले छाएका घरहरू नोक्सान भइ पुलसँगै बस्ती पनि बगाएको सबैलाई सर्वविदितै छ ।
त्यस्तै समस्या मनाङमा पनि देखियो । हिउँ पर्ने ठाउँ मनाङमा एकै दिनमा ८२ मिलि मिटर पानी पर्यो । मनाङमा पनि त्यस्तै पहिरो आयो । केही दिन अघिमात्र अपर मुस्ताङमा पहिरो आयो । रसुवामा आएको बढीले पनि ठूलो धनजनको क्षति गर्यो । यसको असर के हुन्छ भने तत्काल खोलामा पानी बढे जस्तो देखिन्छ तर दिर्घकालमा हाम्रा नदीहरू सुक्दै जान्छन् । हिमालको कुरा गर्ने हो भने पहिलेका सेताम्य हिमाल अहिले काला देखिन थालेका छन् । केही वर्ष पहिले एकजना आरोहीले खुम्बु आइसफलभित्र नदी हुनुपर्ने तर भित्र ठूलो ताल बनेको फोटो संसारभर चर्चा भएको थियो ।
नेपालमा प्रत्येक वर्ष यस्तो प्रकोपबाट औसतमा ६ सय ४७ जनाको मृत्यु हुने गर्छ । वार्षिक रुपमा तीन अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष नोक्सानी बेहोर्नुपर्छ । सन् २०१७ सालमा एकै वर्ष ६३ अर्बको नोक्सानी बेहोर्नु परेको थियो ।
सुक्दै पानीका स्रोतहरू
हाम्रा माथिल्ला भेगमा थुप्रै ग्लासियर छन् । यी नेपालमात्र नभइ साउथ एसिया क्षेत्रका लागि पानीको स्रोतहरू हुन् । यहीबाट पानी बिस्तारै बग्दै गएर झण्डै संसारको आधा जनसख्या बस्ने भु-भागलाई सिचित गर्ने र खानेपानीको सुविधा दिने यि ग्लासियरहरू हुन् । इसिमोड र युएनडीले गरेको एउटा अनुसन्धानले नेपालको सबै हिमालय क्षेत्रमा साना ठूला गरेर झण्डै ५४ हजार भन्दा बढी ग्लासियर छन् । त्यो मध्ये दुई स्क्वायरको भन्दा ठूलो साइजको ग्लासियरलाई अध्ययन गर्दा २ हजार ६ सय २४ वटा छन् । विशेषगरी कर्णाली कोशी र गण्डकीका हिमाली क्षेत्रमा छन् । यी मध्ये ४७ वटा एकदमै जोखिमपूर्ण रहेको पाएको थियो ।
यी जोखिममा रहेका ग्लासियर ४२ कोशी , तीन गण्डकी र दुइटा कर्णालीमा रहेका छन् । १९७७ देखि अहिलेसम्म हेर्दा भोटेकोशीमा २०१६, पोखराको सेतीमा २०१२, तामाकोशी, थामे, लगायतका विभिन्न ठाउँमा आएका बाढी गरी २७ वटा ग्लक फुटेर बाढी आएको छ । अरुण तमुरका माथि रहेका ग्लासियरहरू निकै जोखिमा छन् । त्रसुलीको मुहान जहाँ रहेको छ तिब्बती क्षेत्रमा ५०/५२ किलोमिटरको दुरीमा दुइटा ग्लासियर छन् ।
यी ताल निकै जोखिममा छन् भनिएको थियो । तर त्यो सूचना पाउन सकिएन । यत्रो पूर्वाधारमा हामी ठूलो क्षती भयो । त्रिशुलीको किनारमा अ्रपेशनमा भएको चार र ६ वटा बत्ती बलिरहेका अन्डरकन्ट्रक्सटन ९ र प्लान गरिएका १७ वटा हाइड्रोपावर यो क्षेत्रमा बनिरहेका छन् । रसुवामा आएको बढीले २ सय ३० मेगावाट भन्दा बढीको द्दिजुली गुमाउनु परेको छ ।
तीन अर्बभन्दा बढी नोक्सानी
प्रकोपका हिसाबले नेपाल विश्वको २४ औँ स्थानमा छ भने पानीको स्ट्रेसका हिसाबले संसारको ३० औँ जोखिममा भएको देश हो । हाम्रा ४९ जिल्ला बाढी पहिरोको जोखिममा छन् भने २३ जिल्ला डढेलोको उच्च जोखिममा छन् । ७१ प्रतिशत जनसंख्या बाढी सम्भावित क्षेत्रमा बसोबास गरिरहेको छ । ९.५ प्रतिशत जनसंख्या पहिरो प्रभावित क्षेत्रमा छन् । नेपालमा यस्तो दुर्घटनाबाट औसतमा ६ सय ४७ जनाको प्रत्येक वर्ष मृत्यु हुने गर्छ । वार्षिक रुपमा यस्ता खालका प्रकोपबाट तीन अर्बभन्दा बढी प्रत्यक्ष नोक्सानी बेहोर्नुपर्छ । आजभन्दा ८ वर्षअघि २०१७ सालमा ६३ अर्बको नोक्सानी बेहोर्नुपरेको थियो ।
सन् २०२१ सालको फल्डमा ४५ अर्ब डलर जलवायु परिवर्तन वा यस्ता जोखिमपूर्ण दुर्घटनाबाट जोगिन लगानी चाहिन्छ भन्ने अनुमान गरिएको थियो । अघिल्लो वर्ष काठमाडौं र यहाँका आसपासका क्षेत्रमा ठूलो क्षती भोग्नु परेको थियो । विपी राजमार्ग अहिलेसम्म बनाउन सकिएको छैन । धेरै नोक्सानी बेहोर्नुपर्यो, मनसुनको सुरुमै रसुवामा यस्तो विपद् भोग्नु पर्यो अझै कहाँ के हुन्छ भन्ने जोखिम उत्तिकै छ ।
वल्र्ड इकोनोमिक फोरमले गरेको एउटा सर्वेक्षणले संसारमा सबैभन्दा खतरा सूचनाको मिस इन्फर्मेसन र डिस इन्र्मेसन रहेको देखाएको छ । दोस्रोमा, एक्स्ट्रीम वेदर अर्थात अत्यधिक गर्मी, अत्यधिक चिसो, भारी वर्षा, खडेरी, हिमपत हो भनिन्छ । यही अध्ययनले अबको १० वर्षमा संसारमा सबैभन्दा जोखिम एक्स्ट्रीम वेदरबाट हुने देखाएको छ भने २०५० मा संसारमा पानीको हाहाकार हुने अनुमान गरिएको छ । भारतमा पनि २०५० मा पानीको ठूलो संकट हुने भन्ने पूर्वाअनुमान गरिएको छ । नेपालले यसका लागि के के गर्ने भन्ने उद्देश्य बनाएर काम पनि गरिरहेको छ ।
पहिले संसारको ०.०३ प्रतिशतमात्र कार्वन उत्सर्जन गर्ने देश रहेको नेपालको कार्वन उत्सर्जनदर बिस्तारै बढ्दै गएको छ । यसले पनि नेपाललाई थप चुनौती देखाउँछ । अहिले नै कम कार्वन उत्सर्जन हुने पद्धतिमा जानुपर्नेछ । यसका लागि नीतिगत रुपमा संविधानदेखि नै थुप्रै योजना छन् पञ्चवर्षीय योजनाले पनि यस्ता विषयलाई समेटेका छन् । जलवायु परिवर्तन, वातावरण सम्बन्धी ऐन बनेका छन् । नेपालको राम्रो पक्ष भनेको अहिले नेपालमा निजी क्षेत्रमा इलेक्ट्रोनिक गाडीको प्रयोग बढिरहेको छ ।
निजी भेहिकल प्रयोग गर्ने नर्वे पछिको दोस्रो देश नेपाल बने पनि पब्लिक भेहिकलमा अझै ईभीको प्रयोग हुन सकेको छैन । अर्को कृषि र वन क्षेत्र ठूलो छ । तर, यसलाई कसरी अर्थतन्त्रसँग जोड्ने अथवा उत्पादनसँग जोड्ने भनेर काम गर्न सकिरहेको छैन । नेपालको सबैभन्दा ठूलो शहरीकरण व्यवस्थित गर्न नसक्दा यो क्षेत्रमा ठूलो चुनौतीको रुपमा देखिएको छ ।
अर्जुन ढकाल वातावरण, प्राकृतिक स्रोत र जलवायु परिवर्तनको नीति तथा यसको अर्थशास्त्र क्षेत्रमा अनुसन्धान र परामर्शदाताको रूपमा काम गर्छन् ।