काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा ) को वरिष्ठ उपाध्यक्ष पदबाट हटाएपछि आकाश गोल्छा कानुनी उपचारमा जाने तयारीमा जुटेका छन् । नाडाले वरिष्ठ उपाध्यक्ष पदबाट हटाउने निर्णय लिएको र त्यसको जवाफ माग्दा पनि नपाएपछि गोल्छा कानुनी लडाइँमा जाने तयारी गरेका हुन् ।
गोल्छाले वरिष्ठ उपाध्यक्ष पदबाट किन हटाएको भन्दै एक महिनाअघि लिखित रूपमा नाडाको केन्द्रीय कार्यसमिति तथा महासचिवसमक्ष सत्य तथ्य खुल्ने कागजातहरू माग गरेका थिए ।
उनले संस्थाभित्र मुख्य सरोकारवाला व्यक्तिको हैसियतले कुनै जानकारी नपाएको र सोही कारण आफू कानुनी उपचार खोज्न बाध्य भएको जानकारी दिए । नाडाको तर्फबाट भने हालसम्म यस विषयमा औपचारिक धारणा सार्वजनिक भइसकेको छैन ।
गोल्छाले भने, ‘नाडालाई पत्र पठाएको एक महिना भइसक्यो । धेरै कुरा भनिसकेको छु । हालसम्म न केही जवाफ आएको छ नत कुनै पत्र पठाएको छ, अब नाडामा ताला लगाउनुपर्ने अवस्था पनि आउन सक्छ,’ उनले भने ।
आफूलाई वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष करण चौधरी र महासचिवले निकालेको उनको आरोप छ । ‘जिल्ला प्रशासनले गरेको भए उसले लिखित रूपमा पत्र लेखेर पठाउँछ । मैले पनि भनेकै छु । यदि प्रशासनले मलाई वरिष्ठ पदबाट हटाएको भए खै त पत्र ? यो सबै हल्ला हो । जिल्ला प्रशासन यो गर्न मिल्दैन । यदि गरेको हो यो साधारण सभाबाटै हटाइनुपर्छ,’ उनले थपे ।
उनले नाडाको विधान संशोधनको प्रक्रिया, त्यसको वैधानिकता र पारदर्शिता सम्बन्धमा गम्भीर प्रश्न उठाएका छन् । चौधरीको नाडा कार्यसमिति सञ्चालन गर्ने शैली व्यक्तिगत चासो र पूर्वाग्रहमा आधारित रहेको गोल्छा बताउँछन् ।
उनले २०७७ सालमा नाडाको ४७ औं वार्षिक साधारण सभाबाट पारित गरिएको संशोधित विधान जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भए पनि सो विधान सचिवालयले फिर्ता ल्याएको आरोप लगाए । प्रमुख जिल्ला अधिकारीले सो संशोधन स्वीकृत नभएको स्पष्ट पारेको उनको दावी छ ।
गोल्छाका अनुसार संस्थाको विधानमा गरिएको संशोधन अभिलेखीकरण मात्र पर्याप्त हो । कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति आवश्यक छैन । सो संशोधनमार्फत वरिष्ठ उपाध्यक्ष पदको व्यवस्था गरिए पनि त्यसलाई नाडाले औपचारिक रूपमा कार्यान्वयन नगरेको उनको आरोप छ ।
गोल्छाले नाडाको १३ औंदेखि १८ औं कार्यसमिति बैठकको माइन्युट, ४७ औं र ४८ औं वार्षिक साधारण सभाको कार्यवृत्त, ४७ औं साधारण सभाबाट पारित तिन महले विधान संशोधनको प्रतिलिपि, तत्कालीन अध्यक्ष ध्रुव बहादुर थापाको कार्यकालका २३ औं र २४ औं बैठकहरूको माइन्युट लगायतका कुरा माग गरेका छन् ।
गोल्छा र चौधरीबीचको सहमतिअनुसार गोल्छालाई स्वतः अध्यक्ष बनाउने सम्झौता भएको थियो । तर, चौधरी अध्यक्ष बने बित्तिकै एकतर्फी निर्णयहरू गरेको आरोप गोल्छाको छ ।
विसं २०८० को मंसिरमा भएको नाडाको ४७ औं साधारणसभाले नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको थियो । त्यतिबेला अध्यक्षका लागि करण चौधरी र गोल्छाको चर्चा थियो । तर, नाडाकै नेताहरू तथा पूर्वअध्यक्षहरूले यस पटक चौधरीलाई अध्यक्ष बनाउने र गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाएर अर्को पटकका लागि स्वतः अध्यक्ष बनाउने सहमति भएको थियो ।
गोल्छाले पनि अध्यक्ष बन्ने चाहना त्यागेर अर्को पटक अध्यक्ष बन्ने गरी वरिष्ठ उपाध्यक्षमा बस्न राजी भएका थिए । सबैको सहमतिमा साधारणसभामा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षको पद सिर्जना गर्ने प्रस्ताव पनि स्वीकृत भएको थियो । तर, जिल्ला प्रशासन कार्यालयले विधान संशोधन अस्वीकृत गरेपछि समस्या सिर्जना भएको हो ।
यसैबीच नाडा फुटेर नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को जन्म भयो । सो संस्थाको स्थापनामा गोल्छाको भूमिका पनि ठूलो रह्यो । नाडाका केही पदाधिकारीले नाइमा जन्मिनुमा गोल्छाको भूमिका महत्त्वपूर्ण रहेको भन्दै कारवाही गरेको रूपमा पनि बुझेका छन् ।
नाडाका अध्यक्ष करण चौधरी पत्रबारे नाडाको कार्य समितिको आफ्नै आन्तरिक कुरा भएको बताउँछन् ।
उनी भन्छन्, ‘यस विषयमा म केही बोल्दिनँ । यो हाम्रो कार्य समितिको कुरा हो । ’
यस्तै, महासचिव सुरेन्द्र उप्रेतीले पनि आफूहरूले गोच्छालाई वरिष्ठ उपाध्यक्ष पदबाट नहटाएको जिकिर गर्छन् ।
उनले भने, ‘कसैलाई कसैले हटाएर हटाइने कुरा हुँदैन । उहाँलाई हामीले हटाएका होइनौं । त्यो त जिल्ला प्रशासनले नै गरेको हो ।’
पछिल्लो सयम नाडाभित्रको यो आन्तरिक विवादले संस्थाको निर्णय प्रक्रिया, पारदर्शिता र कानुनी संयन्त्रप्रति प्रश्न खडा भएको छ ।