‘लघुबीमा कार्यक्रम सोचेजस्तो गाउँगाउँमै पुग्न सकेन’ {अन्तर्वार्ता}

नेपालमा सञ्चालनमा रहेका जीवन र निर्जीवन कम्पनीहरूको अधिकांश व्यवसाय सहर केन्द्रित हुँदै आएका छन् । बीमा कम्पनीको व्यवसायको सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशमा रहेको तथ्यांकले नै देखाउँछ । यद्यपि बागमती बाहेक अन्य प्रदेशमा पनि बीमा कम्पनीको व्यवसाय विस्तारै वृद्धि हुँदै गएको छ । गण्डकी प्रदेशमा पनि पछिल्लो समय बीमा व्यवसायले गति लिँदै आएको छ । तर अझै जनसंख्याको ठूलो हिस्सा बीमाको पहुँचबाहिर छ । गण्डकी प्रदेशमा बीमा व्यवसायको अवस्था, बीमा कम्पनीहरूको शाखा विस्तार, सम्भावना, चुनौती, प्राधिकरणको काम कर्तव्य, भूमिकालगायत विषयमा केन्द्रित भएर नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भु मिश्रसँग विकासन्युजको लागि बबिता तामाङले गरेको कुराकानीको सम्पादित अंश । 

प्रदेशस्तरमा बीमा कम्पनीको व्यवसायको अवस्था कस्तो छ ?

हाल नेपालमा सञ्चालित १४ जीवन बीमा र १४ निर्जीवन बीमा कम्पनीहरूमध्ये अधिकांशले प्रदेशहरूमा शाखा कार्यालय स्थापना गरेर सेवा प्रवाह गरिरहेका छन् । पछिल्लो समय प्रदेशस्तरमा बीमा प्राधिकरणको निमन्त्रणमा र स्थानीय सरकारसँगको समन्वयमा विभिन्न अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन हुँदै आएको छ । कृषक बीमा, विद्यार्थी बीमा, घर बीमालगायत बीमा कार्यक्रमहरु सञ्चालन भइरहेका छन्, जसले बीमा कम्पनीहरूको बजार विस्तारमा सहयोग पुर्याइरहेको छ ।

पछिल्लो तथ्यांक (चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र) सम्मको तथ्यांकअनुसार गण्डकी प्रदेश व्यवसायको हिसाबले चौंथो नम्बरमा छ । चैत्रसम्ममा जीवन बीमा कम्पनीहरूले १४ अर्ब १३ करोड ७७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।  निर्जीवन बीमा कम्पनीले १ अर्ब ८५ करोड ५५ लाख रुपैयाँको व्यवसाय गरेको अवस्था छ । अहिले भइरहेको बीमा व्यवसाय शतप्रतिशत राम्रो भन्न मिल्दैन, यो निरन्तर चलिरहने प्रक्रिया हो । बीमा जनताको आयस्रोतसँग जोडिने विषय भएकाले देशको अर्थतन्त्र जसरी चलायमान हुन्छ, बीमाको पनि त्यही ढंगले जाने हो । बीमामा सन्तुष्टि दिने ठाउँ छ अझै भइसकेको छैन । धेरै काम गर्न बाँकी नै छ ।

प्रदेशस्तरीय कार्यालयको कार्यक्षेत्र कति फराकिलो छ ?

पछिल्लो समय बीमा कम्पनीहरू प्रदेशस्तरमा पुगेका छन्, शाखाहरू विस्तार हुने क्रममा छन् । तर जति प्रभावकारी हुनु पर्ने हो त्यो हुन सकेको छैन । अधिकांश बीमा कम्पनीहरूको ‘प्रदेशस्तरीय कार्यालय’ भन्ने अवधारणा अझै संस्थागत रूपमा स्पष्ट छैन । प्रदेश कार्यालय कस्तो हुनुपर्छ प्राधिकरणको एउटा छुट्टै नीति छ । उक्त नीतिअनुसार कम्तीमा सात जना कर्मचारी हुनुपर्ने, शाखा प्रमुख अधिकृत लेभलभन्दा माथिकै हुनुपर्ने व्यवस्था छ । प्रदेशबाटै साना दाबी सेटल गर्न सक्ने हुनुपर्छ । कम्तीमा दुई लाखसम्मको दावी प्रदेशस्तरबाटै सेटल हुनुपर्छ । हामीले परिकल्पना गरेअनुसार अधिकार सम्पन्न कार्यालय एक/दुई बाहेक अरू कुनै छैनन् । अझै बीमा कम्पनीहरू यस्तो संरचनामा गइसकेका छैनन् ।

कतिपय कम्पनीहरूको शाखा कार्यालयहरू मात्र छन्, प्रदेशस्तरीय अधिकारसम्पन्न कार्यालय छैनन् । प्रदेश कार्यालय स्थापना गरेर सञ्चालन भएकाहरूको कार्यक्षेत्र समग्र प्रदेशभरका प्रदेशभरका जिल्ला, नगरपालिका र गाउँपालिकासम्म फैलिएको छ । कार्यक्षमता र सेवा प्रवाहअन्तर्गत बीमा कम्पनीहरूले बीमा पोलिसी बिक्री, दावी भुक्तानी प्रक्रिया, ग्राहक सेवा, अभिकर्ता व्यवस्थापन जस्ता सेवा प्रवाह गर्दै आइरहेका छन् । यद्यपि प्रदेशस्तरका शाखा कार्यालयहरूमा जनशक्तिको अभाव, प्रविधिको सीमित प्रयोग र विशेषगरी केन्द्रमा नै बढी निर्भरता हुनुपर्ने हुँदा कार्यक्षमता बढाउन सकेको छैन । 

प्रदेश सरकारसँग समन्वय गरी स्थानीय आवश्यकताअनुसार बीमा कार्यक्रम ल्याउने काममा केही कम्पनीहरू सक्रिय छन्, तर यसले अझै व्यापक र संस्थागत रूप लिन सकेको छैन ।

गण्डकी प्रदेशको लागि प्राधिकरणको जिम्मेवारी के-के तोकिएको छ, कसरी काम गर्दै आइरहनुभएको छ?

पहिलो जिम्मेवारी भनेकै बीमा नियमन र अनुगमन नै हो । प्राधिकरणले बीमा कम्पनी, शाखा कार्यालय, अभिकर्तालगायतलाई निगरानी र नियमन गर्दै आएको छ । बीमा व्यवसायमा अभिकर्ताको ठूलो भूमिका रहन्छ । तसर्थ उहाँहरूको क्षमता वृद्धिको लागि स्वयं कम्पनीसँगै प्राधिकरणले पनि विभिन्न भूमिका निर्वाह गर्ने गरेको छ । अभिकर्ता व्यवस्थापनको लागि हामीले गण्डकी प्रदेश कार्यालयले जीवन बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्दै आएको छ । 

हामीले बीमा कम्पनीका प्रतिनिधिहरूसँग अन्तरक्रिया र तालिम कार्यक्रम आयोजना गर्दै आएका छौं । स्थानीय तहका जनतालाई बीमाप्रतिको विश्वास बढाउन र बीमाबारे बुझाउनको लागि समय-समयमा विभिन्न बीमा सचेतनामूलक कार्यक्रम, तालिम सञ्चालन गर्छौं । प्रदेशमा हाम्रो अर्को महत्त्वपूर्ण जिम्मेवारी नीति कार्यान्वयन र समन्वय पनि हो ।

नीति कार्यान्वयनमा हाम्रो मुख्य भूमिका छ । एक सालअघि मात्रै राष्ट्रिय बीमा नीति आयो । यस नीतिले नेपालको समग्र बीमा क्षेत्रलाई मार्गनिर्देशन गर्छ । प्रदेश स्तरमा बीमासम्बन्धी नीति, गण्डकी प्रदेश  नीति तथा योजना आयोगले बनाउँछ । हामीले नीति आयोगको उपाध्यक्ष, सचिवलगायत टिमसँग बसेर नीतिअनुसार कार्यक्रमहरू कार्यान्वयनको लागि सुझाव दिएका छौं । अहिले भर्खरै पनि महानगरपालिकासँग बसेर अहिलेको नीति तथा कार्यक्रमममा बीमालाई जोड दिनुपर्ने सुझाव दिएका  छौं । यसबाहेक हामीले फिल्डमै गएर बीमासम्बन्धी अन्तरक्रिया गर्दै आएका छौं । 

हाम्रो अर्को जिम्मेवारी केन्द्रीय नीतिको कार्यान्वयन हो । बीमा ऐन, २०७९ अनुसार केन्द्रीय नीतिहरूको प्रदेशस्तरीय कार्यान्वयन सुनिश्चित गर्नु हाम्रो जिम्मेवारीमै  पर्छ । हामीले त्यसमा काम गर्दै आएका छौं । हामीले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी बीमा सेवा विस्तारमा सहयोग पुर्याउँदै आएका छौं । त्यसबाहेक प्रदेशको आवश्यकताअनुसार नयाँ बीमा कार्यक्रमहरूको विकास र प्रवर्द्धनमा पनि हामीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छौं ।

प्रदेशस्तरमा प्राधिकरणलाई काम गर्न चुनौती के-के छन् ?

पहिलो चुनौती प्राधिकरणमा पर्याप्त जनशक्ति छैन । त्यससँगै हामीसँग पूर्वाधारको पनि अभाव छ । कुनै गाउँपलिकाको पर गाउँमा गएर कार्यक्रम गर्नुपर्यो भने हामीलाई साधनस्रोतकै समस्या हुन्छ । अर्को कुरा बीमामा धेरै विषय छरिएको छ, कुनै एउटालाई विशेष बनाएर काम गर्न पाइयो भने प्रभावकारी हुन्छ जस्तो लाग्छ । उदाहरणको लागि केन्द्र तहबाट यो वर्ष सम्पत्ति बीमामा केन्द्रित भएर काम गर्ने भनियो भने हामी त्यहीअनुसार फोकस भएर काम गर्छौं । नतिजा पनि राम्रो आउँछ । तर धेरै विषयमा छरिएर काम गर्दा सबै विषय समेट्न सकिँदैन, जनताले पनि राम्रोसँग बुझ्ने मौका पाउँदैनन् ।

यसबाहेक हामीसँग पूर्वअनुभव कम छ । हामी २.५ वर्षदेखि प्रदेशको संरचनामा गएर काम गरिरहेको छौं, बुझ्न र सिक्न र गर्न अझै बाँकी छ, चुनौती धेरै छन् । सबै कुरालाई व्यवस्थित बनाएर प्रभावकारी ढंगबाट काम गर्ने प्रयास जारी छ । 

त्यहाँका जनतामा बीमाप्रतिको बुझाइ कस्तो पाउनुभएको छ ? 

राष्ट्रिय जनगणना २०७८ अनुसार गण्डकी प्रदेशको जनसंख्या २४ लाख ६६ हजार ४२७ रहेको छ । चालु आवको फागुन मसान्तसम्मको तथ्यांक हेर्ने हो भने कुल जनसंख्याको २७ प्रतिशतमा बीमाको पहुँच पुगेको छ । अर्थात् चालु आवको फागुनसम्ममा बीमामा आवद्ध बीमितको संख्या ६ लाख ८१ हजार ७३ छ । नेपालको कुल जनसंख्याको ४४ प्रतिशतमा बीमाको पहुँच पुगेको छ ।

यी तथ्यांकले नै के स्पष्ट पार्छ भने अझै पनि ठूलो जनसंख्या बीमाको दायरमा आउन सकेका छैनन् । धेरै जनताले अझै बीमा बुझेका छैनन् । बीमाबारे बुझाउनुपर्ने छ । ग्रामीण क्षेत्रमा अझ बढी अझ बढी बुझाउनुपर्ने छ । ग्रामीण क्षेत्रका कृषकको लागि कृषि बीमा कार्यक्रम छ । त्यसमा राज्यले उच्चतम ८० प्रतिशत अनुदान दिएको छ । यो विषयमा ग्रामीण क्षेत्रकै किसान अनभिज्ञ छन् । अहिले हामीले कृषि तथा पशुपन्छी बीमामा डिजिटल्ली सिस्टम ल्याएका छौं । यो कुरा कृषकले थाहा पाउनुपर्यो, कृषि प्राविधिक, बीमा कम्पनीका कर्मचारीले समेत थाहा पाउनुपर्यो । यसलाई हामीले छलफलको विषय नै बनाएका छाैं ।

बीमामा जनताको पहुँच बढाउन के गर्नुपर्ला ? 

पहिलो कुरा त प्रदेश सरकारले बीमाका सन्र्दभमा विपद् व्यवस्थापन, सामाजिक सुरक्षाजस्ता कुरामा ऐन÷नियम नै बनाएर अगाडि अगाडि बढ्ने वातावारण सिर्जना गर्यो भने धेरै नै राम्रो हुन्छ । किनकि नियम बनेपछि काम गर्न सहज हुनुका साथै गर्नैपर्छ भन्ने हुन्छ । अर्को प्रदेश स्तरका कार्यालय प्रादेशिक कार्यालय जस्तै हुनुपर्यो, केवल कार्यालय मात्रै होइन । प्रदेश कार्यालयमा तोकिएको कामहरू यही नै     हुनुपर्यो । अहिले त्यो हुन सकेको छैन । सानो काम गर्न पनि केन्द्रबाटै हुने गरेको छ । सबै कुरा प्रदेशबाटै गर्न सकियो भने हामीले पनि यसो गर्नूस् भनेर निर्देशन दिन पाइयो । यहाँ बीमितको गुनासो आउँछ तर सम्वोधन नै हुँदैन । केन्द्रमा नै पठाउनुपर्ने हुन्छ । अधिकार सम्पन्न र सुविधासम्पन्न प्रादेशिक कार्यलाय बीमा कम्पनीको भयो भने यसले काम गर्ने वातावरण बन्छ ।

प्रदेश प्रमुख कोअर्डिनेटर हुनुपर्यो, टार्गेट बेसमा काम गर्ने हुनु भएन । किनभने यहाँ प्रदेश प्रमुखलाई नै टार्गेट दिएको हुन्छ, यसले कसरी उसले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्छ ? बीमाको पहुँच बढाउन मान्छेलाई बीमामा विश्वसनीयता बढाउन सक्नुपर्यो । समयमै बीमा दाबी भुक्तानी हुनुपर्यो  । हामीले पनि बीमाको पहुँच वृद्धिको लागि विविध कार्यक्रम गर्दै आएका छौं । अहिले स्थानीय सरकारका जनप्रतिनिधिहरू र विद्यार्थीलाई राखेर अन्तरक्रिया कार्यक्रम गर्दै आएका छौं । बीमा गर्नु भोलिको लागि सुरक्षा हो साथै बीमा वैकल्पिक रोजगारीको अवसर पनि हो भनेर छलफल गरिरहेका छौं ।  

प्रदेशमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरू के-के सञ्चालन गरिएको छ ?

हामीले २०८२ साल वैशाख ६ र ७ गते गत गण्डकी प्रदेश कार्यालयले बागलुङ जिल्लाको तमानखोला गाउँपालिकामा बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्यौं । यस कार्यक्रममा स्थानीय बासिन्दाहरूलाई बीमाको महत्त्व, उपलब्ध बीमा योजनाहरू र दावी प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो । उक्त कार्यक्रमबाट धेरै जना लाभान्वित हुन पुगे ।

बीमा प्राधिकरणले ‘बीमा साक्षरता रूपरेखा, २०८१’ जारी गरेको छ, जसअनुसार गण्डकी प्रदेश कार्यालयले स्थानीय तहमा बीमा साक्षरता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसले ग्रामीण तथा विपन्न वर्गसम्म बीमा सेवाको पहुँच विस्तारमा मार्गदर्शन प्रदान गर्दछ । म यहाँ प्रमुख भएर आइसकेपछि पनि बीमासम्बन्धी विभिन्न सचेतनामूलक अन्तरक्रिया कार्यक्रम भएको छ । यसले पनि जनताको बीमाप्रतिको चेतनास्तर बढाउन ठूलो भूमिका खेलेको छ ।

स्थानीय तह र प्रदेश सरकारसँगको सहकार्य कस्तो छ ? 

प्रदेश सरकार, स्थानीय तहसँगै राम्रै समन्वय छ । हामी प्रदेशस्तरको कार्यालय भएका हिसाबले हाम्रो दायरामा लगभग ३२१ कार्यालयहरू छन् । हामीले प्रदेश सरकारसँग समन्वय गरिरहेका छौं । आगामी दिनमा हामीले यहाँको अर्थमन्त्रालय, नीति तथा योजना आयोग, मुख्य मन्त्रालयलाई अनुरोध गरेर २/३ वटा अन्तरक्रिया कार्यक्रम गर्ने योजनामा छौं ।

ग्रामीण क्षेत्रमा लघु बीमाको प्रभावकारिता कस्तो छ ?   

नाम लघु भएपनि गाउँगाउँमा यो कार्यक्रम पुग्न सकेको छैन । प्राविधिक अप्ठ्याराहरू पनि हुन सक्छन् । जसरी अहिले हामीले पशुपन्छीको बीमामा नयाँ सिस्टमको विकास गरेका छौं तर तर स्थानीय तहमा चाहिने प्राविधिक पनि छैन । राज्यले आवश्यक प्राविधिक नियुक्ति गर्न सकेको छैन । पशुपन्छीको बीमा गर्नुभन्दा अघि प्राविधिकले यो पशको स्वास्थ्य ठीक छ भन्ने प्रमाणित गर्दिनुपर्छ त्यो नै नभएपछि बीमा गर्ने कुरै भएन । सरकारले प्राविधिक नियुृक्ति गर्न सकेको छैन, बीमा कम्पनीले राख्न     सक्दैन । यति मात्रै होइन, भोलि दाबी पर्दा दाबीको सर्टिफाई गर्ने मान्छे पनि पर्याप्त छैन ।

यसले गर्दा ग्रामीणमा बीमाको पहुँच बढाउन चुनौती थपिएको छ । यस्तो ठाउँमा लघु बीमा कम्पनीलाई विधि नै बनाएर यो गाउँपालिकाको यो वडासम्म अनिवार्य जानुस् भनेर छुट्टै नीति नबनाएसम्म कम्पनीहरुले बीमाको सर्भिस दिन सक्छ जस्तो स्थिति देखिएको छैन । लघु  बीमाको प्रयोजन नै गाउँको लागि हो । साना किसान, व्यवसायीको लागि हो । तर लघु बीमा सहरकेन्द्रित भएको छ । त्यसलाई नीति नै बनाएर अघि बढ्नुपर्ने हुन्छ । 

Share News