काठमाडौं । सुन कर्जा ‘उपभोक्ता कर्जा’ हो । यो फर्मभन्दा पनि व्यक्तिलाई दिइन्छ, त्यो पनि एक वर्षका लागि । सुन आवश्यक वस्तु हो । त्यसैले पनि नेपाल राष्ट्र बैंकले सुनलाई निक्षेपको रूपमा राख्न सकिने व्यवस्था गरेको छ । तर, बैंकहरूले सुनलाई निक्षेपको रूपमा राख्न भने सकिरहेका छैनन् । अन्तर्राष्ट्रियस्तरमै स्वीकार्य धातु वा क्वाइन भएकाले सुन महत्त्वपूर्ण छ । नेपालीहरूले पनि व्यक्तिगत रूपमा सुन पर्याप्त किनेर राखेका छन् । व्यक्तिसँग सापटी माग्न गाह्रो हुने भएकाले बैंकमा सुन राखेर कर्जा लिन सजिलो छ । व्यक्तिहरूले आफ्नो आवश्यकता पूर्ति गर्न सुन कर्जा लिइरहेका हुन्छन् ।
जस्तो छोराछोरीको विवाह गर्नु पर्याे भने बुहारीको सुन बैंकमा राखेर कर्जा लिने गरेका छन् । छोराछोरी विदेश पठाउनु पर्याे भने सुन राख्छन् । पछिल्लो समय विदेश पठाउनका लागि सुन राख्नेहरू धेरै आउनु हुन्छ । यस्तै, बिरामी भएर, छोराछोरी पढाउन सुन राखेर कर्जा लिने अभ्यास बढ्दै गएको छ ।
सुन कर्जाका लागि आवश्यक प्रमाण
सुन कर्जा लिनका लागि बैंकमा खाता खोलेको हुनुपर्छ । बैंक खाता र नागरिकता (राष्ट्रिय परिचयपत्र) भएपछि सुन कर्जा लिन सकिन्छ । कर्जा लिँदा सुन २४ क्यारेटको हुनुपर्छ । यदि २२ क्यारेटको सुन छ भने विश्वासिलो कम्पनीबाट खरिद गरेको बिल हुनुपर्छ ।
२४ क्यारेटका लागि बिल छैन अथवा पुर्ख्यौली सुन हो भने बैंकले सहजीकरण गर्न सक्छ । तर, २२ क्यारेटको सुनका लागि बैंकले सहजीकरण गर्न सक्दैन, बिल अनिवार्य हुनुपर्छ ।
एक तोला सुनमा कति कर्जा पाउँछ ?
अहिले बजारमा सुनको मूल्य १ लाख ९२ हजार रुपैयाँको हाराहारीमा रहेको छ । बैंकले औसतमा प्रतितोला १ लाख रुपैयाँसम्म सुन कर्जा दिइरहेको छ । गहना हो कि ढिक्का हो सो आधारमा बैंकले कर्जा दिन्छ । गहनामा जर्ती लगाइएको हुन्छ, कुनैमा पोते पनि हुन्छ । यदि सुन कर्जा तिरेन भने गहनालाई गाल्नुपर्ने हुन्छ ।
किनभने अर्काको गहना कसैले लगाउँदैनन् । गहना गाल्दा ५ प्रतिशत नोक्सान हुन्छ । किनभने त्यसमा मयल फोहर हुन्छ । यस्तै, ढिक्कावाला सुनमा भित्र केही मिश्रण गरेको छ की भन्ने डर हुन्छ । त्यसकारण बैंकलाई जोखिम हुने भएकाले २५ प्रतिशत मार्जिन राखेर ७५ प्रतिशतसम्म कर्जा दिइन्छ ।
शुद्ध सुन छ भने प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पनि कर्जा दिने गरिएको छ । यदि २२ क्यारेटको छ भने प्रतितोला ९० हजार रुपैयाँ हाराहारीमा कर्जा दिने गरिएको छ । औसतमा एक तोला सुनमा १ लाख रुपैयाँ कर्जा प्रवाह भइरहेको छ । बजार मूल्यको ६० प्रतिशतसम्म कर्जा पाउँछन् । बैंकको मूल्याङ्कनको ७५ प्रतिशत पाउने हो ।
सुन कर्जा के का लागि लिने ?
सुन कर्जा व्यक्तिगत आवश्यकता पूर्तिका लागि लिने हो । कतिपयले व्यावसायिक प्रयोजनका लागि सुन कर्जा लिने गरेका छन् । २५ लाखभन्दा माथिको कर्जा छ भने प्यान नम्बर अनिवार्य हुनुपर्छ । २५ लाखभन्दा माथिको कर्जा व्यावसायिक प्रयोजनका लागि लिएको मानिन्छ । २५ लाखभन्दा कम छ भने व्यक्तिगत प्रयोजनका लागि लिएको मानिन्छ ।
२०८१ मंसिर भन्दा अगाडि सुन कर्जा एक जनालाई १० करोड रुपैयाँसम्म पनि दिइन्थ्यो । ३ करोड रुपैयाँसम्म काठमाडौं बैंकिङ अफिस शाखालाई अधिकार थियो । त्यसपछि राष्ट्र बैंकले व्यक्तिका लागि ५० लाख रुपैयाँ लागू गर्न सर्कुलर जारी गर्याे । एक/दुई जनाको ४/५ लाख रुपैयाँ डाउन साइज गर्नुपर्नेछ । त्यसलाई पनि पनि एक/दुई दिनमा पूरा हुन्छ ।
जतिबेला नेपालमा सुनको मूल्य १ लाख ७३ हजार पुगेको थियो, त्यतिबेला भारतमा भन्सार दर १२ प्रतिशत थियो । नेपालमा सुन आयात गर्दा भन्सार दर १० प्रतिशत थियो । पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेटमा भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्याए । तर, भारतमा १२ प्रतिशतको भन्सार दर कटौती गरेर ६ प्रतिशतमा झारियो । जसले गर्दा भारतमा सुन धेरै सस्तो भयो । नेपाली बजारमा दुई नम्बरी सुन छ्यापछ्यापी आउन थाल्यो । नेपाल बैंकले ६/६ महिनामा सुन किन्दा आवश्यकताका आधारमा १/२ क्विन्टल किन्ने गरेको छ ।
तर, बैंकले त्यतिबेला २ किलो मात्रै सुन किन्यो । बजारमा छ्यापछ्याप्ती दुई नम्बरी सुन आउन थालेपछि माग पनि घट्यो । त्यसपछि सरकारले भन्सार दर घटाएर १० प्रतिशतमा झारेको हो । अहिले भारतमा भन्सार दर नेपालको भन्दा ४ प्रतिशत कम भएपनि दुई नम्बरी गर्नेहरूलाई फलिफाप छैन । त्यसकारण अहिले बजारमा दुई नम्बरी सुन छैन ।
सुन कर्जामा डिफल्टर
कर्जा लिइसकेपछि त्रैमासिक रुपमा ब्याज तिर्नुपर्ने हुन्छ । अहिले आधारदरसहित ९.३८ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेको छ । आधार दरमा ३.५ प्रतिशत प्रिमियम निर्धारण गरिएको छ । त्रैमासिक रुपमा ब्याज तिर्नुपर्ने हुन्छ भने वर्षको एक पटक नवीकरण गर्नुपर्ने हुन्छ । प्रिपेमेन्ट गर्न पाइन्छ, ७५ प्रतिशतसम्म । तर, प्रिपेमेन्ट गर्नका लागि नवीकरण गरेको हुनुपर्छ ।
सुन कर्जामा कोही विदेशमा हुन्छन्, इच्छाएको व्यक्ति राखेको पनि हुँदैन, इच्छाएको व्यक्ति पनि विदेश गइरहेको हुन्छ । जस्तो श्रीमान/श्रीमती विदेश गएपछि इच्छाएका व्यक्ति नै हुँदैनन् । ७५ प्रतिशत साँवा चुक्ता गरेको अवस्थामा लिलाम गर्न पनि भएन । यस्तो समस्या रहेको छ ।
कतिपय ग्राहक सम्पर्कमै आउँदैनन् । एक/डेढ वर्ष पुगिसकेको हुन्छ, ब्याजले डाँडो नाघिसकेको हुन्छ । अहिले सुनको मूल्य बढेका कारण बैंकले सहजीकरण भएको हो । यदि सुनको मूल्य स्थिर थियो, ५/१०/२० प्रतिशत सुनको मूल्य घटेको थियो भने तत्काल लिलाम गर्नुपर्थ्यो।
पछिल्लो एक वर्षमा सुनको मूल्य ६०/७० प्रतिशत बढेको छ । त्यसकारण बैंक सुरक्षित छन् । यदि सुनको मूल्य घट्यो भने मार्जिन कल गर्नुपर्छ । त्यसकारण सुन कर्जा खासै डिफल्ट छैन । कुल कर्जाको १/२ प्रतिशत मात्रै होला ।
राष्ट्र बैंकको व्यवस्था अनुसार १० लाखमुनिको खराब कर्जामा १ प्रतिशत प्रोभिजन गरे पुग्छ भने १० लाखभन्दा बढीको कर्जामा सतप्रतिशत प्रोभिजन गर्नुपर्छ । त्यसकारण १० लाखभन्दा माथिको कर्जा असुल गर्न, लिलामका बैंक सक्रिय हुन्छ ।
कति कर्जा गएको छ ?
पछिल्लो तथ्याङ्क अनुसार नेपाल बैंकले मात्रै ३२ अर्ब रुपैयाँ हारहारीमा सुन कर्जा प्रवाह गरेको छ । बैंकमा सुन कर्जाका २७ सय पोका (ग्राहक) छन् । काठमाडौं बैंकिङ अफिस शाखाबाट मात्रै १ अर्ब ३३ करोड रुपैयाँ हाराहारीमा सुन कर्जा गएको छ । बैंकको कुल कर्जामा करिब १५ प्रतिशत सुन कर्जाको हिस्सा हुन सक्छ । अहिले नेपाल बैंकसँग ४३ अर्ब रुपैयाँ बराबरको सुन बैंकमा रहेको छ । यो बैंकको मूल्याङ्कन गरेको आधारमा रहेको सुन हो ।
तर, यसमा ५ प्रतिशत फरक पर्न सक्ने भएकाले बैंकमा ४५ अर्बको सुन हुन सक्छ । बैंकको आम्दानीमा सुन कर्जाको अनुमानित १५ प्रतिशत हिस्सा हुन सक्छ । गत वर्ष १४ प्रतिशत भन्दा बढी ब्याजदर हुँदा र अहिले ९.३२ प्रतिशत ब्याजदरको तुलना गर्ने हो भने आम्दानी घटेको देखिन्छ । तर, कर्जा, ब्याज असुली राम्रो नै भइरहेको छ ।
पोखरा, नारायणगढ, खस्यौली, कान्तिपथ, सुनधारा शाखाले पनि ५०/६० करोड रुपैयाँ हाराहारीमा सुन कर्जा दिएका छन् । विगतमा ३०/३५ करोड रुपैयाँ सुन कर्जा थियो । पछिल्लो समय मान्छेहरू अन्य कर्जा लिन डराइरहेका छन् । एक/दुई लाखको आवश्यक पर्याे भने सुन कर्जा लिन सहज रुपमा लिन सकिन्छ ।
गत वर्ष नेपाल बैंकमा सुन कर्जाको ब्याजदर १४ प्रतिशत र सेवा शुल्क ०.७५ प्रतिशत थियो । राष्ट्रिय वाणिज्य बैंकको सुन कर्जाको ब्याजदर ११ प्रतिशत थियो तर, सेवा शुल्क थिएन । त्यतिबेला राष्ट्रिय वाणिज्य बैंकको २० अर्बको पोर्टफोलियो थियो भने नेपाल बैंकको १८ अर्बको थियो । राष्ट्रिय वाणिज्य बैंकले सुन कर्जा बढाउन खोजिरहेको थियो ।
गत वर्ष काठमाडौं बैंकिङ अफिस शाखामा ९८ करोड रहेको सुन कर्जा ९४ करोडमा झरेको थियो । कुल १९ अर्बको सुन कर्जा १७ अर्बमा झरेको थियो । सुन कर्जा जान पनि छाडेको थियो । त्यसपछि बैंकले सुन कर्जाको प्रिमियम घटाएर साढे २ प्रतिशतमा झार्यो । अहिले प्रिमियम बढाएर साढे ३ प्रतिशत पुर्याएको हो । सेवा शुल्क पनि हटाएको छ । अहिले राष्ट्रिय वाणिज्य बैंकको भन्दा नेपाल बैंकको सुन कर्जा धेरै छ ।
हिमाली र सहर बजार क्षेत्रका मान्छेसँग बढी सुन छ । किनभने पहाडी क्षेत्रका मान्छेले अलिकति पैसा हुने बित्तीकै जग्गामा लगानी गर्छन् । तर, सहर बजार क्षेत्रका मान्छेहरु सुनमा लगानी गरेर लकरमा राख्ने गरेका छन् । गुरुङ, शेर्पाहरुसँग सुन धेरै हुन्छ र सुनको गुणस्तरीय पनि राम्रो छ । उहाँहरुले बढी तौल भएको सुन लगाउनु हुन्छ ।
सुन कर्जाका लागि बैंकमा किन आउने ?
बैंक वैधानिक संस्था हो, सुन पसलले कारोबार मात्रै गर्ने हो । उनीहरुलाई ऋण प्रवाह गर्ने अधिकार छैन । तैपनि उनीहरुले आफ्नो तरिकाले सुन राखेर सापटी दिइरहेका हुन्छन् । त्यो व्यक्तिगत रुपमा गाउँले सापटी जस्तै हो । तर, उनीहरूसँग कानुनी कागज केही पनि हुँदैन । यदि समयमा सापटी तिरेन भने व्यवसायीले तत्काल सुन गाल्छन् । तर, बैंक सुरक्षित प्रक्रियाबाट अघि बढ्छ । किनभने एक वर्षसम्म लिलामीको सूचना निकाल्दैन । एक वर्षसम्म ब्याज नियमित गरेन भने मात्रै १५ दिने, ७ दिने चिठ्ठी लेखेर कर्जा नियमित गर्न जानकारी गराउँछ । सम्पर्क, म्यासेज पठाएर पनि भएन भने राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर लिलाम गरिन्छ ।
विगतमा १ लाख ७४ हजार रुपैयाँ पुगेको सुन १४८ हजार रुपैयाँमा झर्याे । त्यतिबेला हामीले १ लाख ६० हजार पैयाँका दरले दिएको भए तत्काल मार्जिन कल गर्नुपर्थ्यो । सुन कर्जाका लागि घर गणना गर्न सकिने व्यवस्था छ । तर, ५० हजारको सुनका लागि सूचना निकालेर घरबाट असुल गर्दा बढी आउँछ । बैंकबाट सुन कर्जा लिँदा त्यो सुनको बीमा गरिएको हुन्छ । तर, अन्य व्यक्ति तथा फर्मले बीमा पनि गरेको हुँदैनन् ।
सुनमा लगानी गर्ने कि जग्गामा ?
अन्तर्राष्ट्रिय युद्धका कारण सुनको मूल्य बढेको हुँदा पछिल्लो समय सुनमा लगानी गर्दा फाइदा देखिएको छ । डलरको मूल्य सस्तो हुँदा अमेरिका, चाइना लगायत देशले सुन स्टक राखेका छन् । उनीहरुले सुन निकालेर बेचिरहेका छन् भने सुनको मूल्यमा लगानी जोखिम हुन्छ । सुन नै जोखिममा पर्न सक्छ ।
पछिल्लो समय धेरै नेपाली विदेश गए । विगतमा बजार क्षेत्र नजिक एउटा घडेरी किन्ने र सोही जग्गामा घर बनाएर बस्ने अवधारणा थियो । तर, अहिले जहाँ भएपनि भाडाको घरमा बस्ने परिपाटी बसिसकेको छ । नयाँ घर बनाउने भनेर जग्गा किन्ने परिपाटी पनि विस्तारै कम हुँदै गएको देखिन्छ ।
त्यसकारण सुन रहर मात्रै हो । सुन अनुत्पादक क्षेत्र पनि हो । नोट निष्काशन गर्दा सुन डिपोजिट गर्नुपर्ने र अन्तर्राष्ट्रियस्तरमा सबैले विश्वास गरेको धातु भएकाले सुनमा लगानी बढेको हो । तर, पछिल्लो समय ५ तोलाको सुनका गहना लगाएर एक्लै हिँड्न पनि सक्ने अवस्था छैन । तर, जग्गामा लगानी गर्याे भने खेती पनि गर्न सकिन्छ ।
नेपालीसँग कति सुन छ ?
हिमाली र सहर बजार क्षेत्रका मान्छेसँग बढी सुन छ । किनभने पहाडी क्षेत्रका मान्छेले अलिकति पैसा हुने बित्तीकै जग्गामा लगानी गर्छन् । तर, सहर बजार क्षेत्रका मान्छेहरू सुनमा लगानी गरेर लकरमा राख्ने गरेका छन् । गुरुङ, शेर्पासँग सुन धेरै हुन्छ र सुनको गुणस्तरीय पनि राम्रो छ । उहाँहरूले बढी तौल भएको सुन लगाउनु हुन्छ ।
शेर्पाको सिक्का नै सिक्का भएको सुन लगाउने चलन छ । २१ सिक्कासम्मको माला लगाउँछन् । एउटा सिक्का नै एक तोलाको हुन्छ । त्यो सिक्का ८ ग्राम भन्दा घटीको हुँदैन । पहाडमा बस्नेहरूले तिलहरी लगाउँछन् ।
नेवार, गुरुङ, शेर्पा समुदायका मान्छेहरुसँग पनि बढी सुन रहेको छ । यस्तै, व्यापारिक प्रयोजनका मान्छेहरूले पनि सुनमा सुनमा लगानी गरेको देखिन्छ । बाहुन क्षेत्री, तराईवासी, थारु (चौधरी) समुदायका मान्छेले सुनमा भन्दा जग्गामा लगानी गर्छन् । सुन बेचेर जग्गा किनेका धेरै छन् । तर, जग्गा बेचेर सुन किनेको बिरलै हुन्छन् ।
सुन विलासिताको वस्तुमा हो ?
विगतमा २/३ तोला सुनमा विवाह हुन्थ्यो, एउटा औँठी, घाँटीमा सिक्री भए पुग्थ्यो । तर, अहिले रानी हार चाहियो, अन्य सिक्री चाहियो । पछिल्लो समय विवाहको स्ट्याण्डर्ड नै बढिरहेको छ । छोरी चेलीको विवाहको लागि सुन अनिवार्य जस्तै बनेको छ ।
त्यसकारण ५/७ तोला सुन खरिद गर्दा विलासिता वस्तु भन्नु हुँदैन । तर, त्यो भन्दा धेरै सुन खरिद गरिएको छ भने विलासिता वस्तुमा गणना गर्दा हुन्छ । एक व्यक्तिले त्यो भन्दा बढी सुन राख्नु पनि हुँदैन ।
(नेपाल बैंकका सिनियर मेनेजर हरिप्रसाद ज्ञवालीसँग सीआर भण्डारीले गरेको कुराकानीमा आधारित । )