काभ्रे । २०६४ सालतिर शुक्रराम तामाङका बुवा रामकृष्ण तामाङले आफ्नो १४ रोपनी पुर्ख्यौली जग्गा बेचे । गाउँमा आयुर्वेद शिक्षालय, अस्पताल र जडीबुटी फर्म सञ्चालन हुने र त्यहाँ जागिर पाइने आशामा उनले जग्गा बिक्री गरेका हुन् ।
रामकृष्णको मात्रै नभई सिंगो गाउँको जग्गा नै खरिद गर्दै थियो- भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले ।
जग्गा हेरेर कुनै ६० हजार रोपनी त केही ७० हजार रोपनीका दरले सयौंको रोपनीमा कम्पनीले जग्गा किन्यो । रामकृष्णले पनि गाउँमै रोजगारी पाइने स्वास्थ्य उपचार हुने जस्ता सपनासँगै २ चरणमा जग्गा बेचे । पहिलो पटक नै उनको जग्गा पतञ्जलि कम्पनीले बिचौलियामार्फत उधारोमा किन्यो ।
जग्गा दलाल र बिचौलिया रामकृष्णले चिनेका गाउँकै थिए । दोस्रो चरणको जग्गा बिक्री गर्दा रामकृष्णले पहिलो किस्तामा आफूले ७० हजार रोपनीका दरले बेचेको जग्गाको रकम माग्दा उल्टै कुटाइ खाए । छोरा शुक्ररामका अनुसार पूर्ववडाध्यक्ष रामहरि श्रेष्ठलगायतका व्यक्तिले रामकृष्णलाई जुत्ता फुकालेर कुटेका थिए ।
रामकृष्ण सोझा स्वभावका थिए, अलि-अलि रक्सी पनि खान्थे । जसले जे भन्यो त्यही मान्ने हुँदा फाइदा अरूले उठाए ।
शुक्रराज भन्छन् , ‘बुवा त अब हामीमाझ हुनुहुन्न तर सोझोको फाइदा उठाएर यत्रो गाउँमा हामीलाई मात्र पैसा दिइएन । अरू त सबैले उतिबेला जतिमा बेच्नु भयो त्यति नै पाउनु भयो । हामीले मात्र पाएनौं ।’
रोपनीको ७० हजारमा किनबेच भएको जग्गा १४ रोपनीको ८ लाख ४० हजार रकम हुन आउँछ । तर तीन लाख मात्रै पाएका शुक्रराम बताउँछन् । भन्छन्, ‘म त काठमाडौंमै थिएँ, ६-७ महिनापछि थाहा पाएँ कि बुबाले जग्गा बेच्नुभयो । पछि यस्तो भयो भनेर मुद्दा हाल्न सीडीओ अफिस धुलिखेल पनि गयौं, तर प्रमाण छैन भन्दै फर्काइदियो । यसरी खाएको त के पो प्रमाण हुँदो रहेछ र ?’
अहिले शुक्ररामलाई मात्रै होइन, सिंगो गाउँलाई नै त्यतिबेला पतञ्जलि कम्पनीलाई जग्गा बिक्री गरेकोमा पछुतो छ । पतञ्जलि कम्पनीले आफूहरूलाई सपना देखाएर धोका दिएको उनीहरूको भनाइ छ ।
स्थानीयले जग्गा बेचेको केही महिनामै काष्ठमण्डप हाउजिङ कम्पनीले डोजर लगाएर जमिन खन्न थालेपछि तलको बस्ती जोखिममा पर्यो । खेती गर्ने जमिन भासिन थाल्यो । गाउँलेको देउता थानसमेत भत्काइयो ।
‘पतञ्जलिले हामीसँग न कुरा गर्यो, न क्षतिपूर्ति दियो । बिचौलियामार्फत जग्गा किन्यो अनि बेचिदियो । डोजर लगाएर गाउँ नै अहिले जोखिममा छ । यतापट्टिको पाखातिर त पानी पर्दा त्यहाँ नगए पनि हुन्छ,’ उनले बस्तीमाथि तिर देखाउँदै भने, ‘पहिरो पो आउँछ त । पहिले केही हुँदैनथ्यो ।’
आज त्यो जग्गा करोडौंको मूल्यमा पुगेको छ । तर जसको जमिन थियो, उसले न पैसा पायो, न उनीहरूका सपना पूरा भए । शुक्रराम भन्छन्, ‘हामीले १४ रोपनीमा ३ लाख पायौं, त्यो पनि अपमानसँगै । आफ्नो जग्गाको पैसा माग्दा मेरा बुवाले जुत्ताले कुटाइ खानुपर्यो । अब न फिर्ता पाउने आश छ, न त न्याय नै ।’
पतञ्जलिले किन्यो, काष्ठमण्डपलाई बेच्यो
२०६४ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेमा आयुर्वेद शिक्षालय, अस्पताल र जडीबुटी फार्म सञ्चालनका लागि भन्दै कम्पनी रजिष्ट्रार कार्यालयमा पतञ्जलि योगपीठ नेपाल दर्ता भएको थियो ।
त्यसपछि २०६६ सालमा यहाँका स्थानीयसँग पतञ्जली नेपालले यहाँको नासिकास्थान, साँगा, महेन्द्रज्योति र चलाल गणेशस्थान क्षेत्रमा गरी ५ सय ९३ रोपनी ५ आना ३ पैसा किन्यो र त्यसको केही महिनामै ३ सय ५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई ११ असार ०६७ मा पतञ्जलिका तत्कालीन प्रमुख शालिग्राम सिंहले बेचेका थिए ।
गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्यो ।
उद्योग र शैक्षिक प्रतिष्ठान सञ्चालनका लागि हदबन्दी छुटमा लिएको जग्गा गैरकानुनी रूपमा बेचबिखन गरी राज्यलाई ठूलो रकम हानिनोक्सानी पुर्याएको पाएपछि अख्तियार मुद्दा चलाउने निष्कर्षमा पुगेको हो ।
भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर जुन प्रयोजनका लागि त्यसरी सुविधामा खरिद गरेको जग्गा भने बिक्री गर्न पाइँदैन।
बहुदलीय व्यवस्थापछि प्रधानमन्त्री भइसकेका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएको नेपालमा यो पहिलो घटना हो । यो विषयले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ ।
कतिपयले पूर्वप्रधानमन्त्री नेपालमाथि मुद्दा लाग्नु ओली सरकारले प्रतिशोध साँधेको पनि भनिरहेका छन् । मुद्दा दर्ता भएसँगै नेपालको सांसद पदसमेत निलम्बन भएको छ ।