सेयर बजारमा सकारात्मक ‘पौडेल बन्धु’, बढ्दा सफलता, घट्दा मौन

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले २०८१ असार ३१ गते पदभार ग्रहण गर्दा आफू सेयर बजारप्रति सकारात्मक भएको सन्देश लगानीकर्तालाई दिए । अर्थमन्त्रीका रुपमा उनले पहिलो भेट पनि साउन १ गते सेयर बजारका लगानीकर्तासँग नै गरे । सोही दिन पनि उनले लगानीकर्तासँग आफू पुँजीबजारप्रति सकारात्मक रहेको र ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरे । 

उनले भेटवार्तामा भनेका थिए, ‘सेयर बजारको विकास र स्थायित्वका लागि सक्रियता पूर्वक पहल गर्नेछु । तपाईहरु ढुक्क हुनुहोस्, लगानी गर्नुहोस् ।’ 

उनले लगानीकर्तालाई सो प्रतिवद्धता गरेपछि साउन १ गते पनि सेयर बजार ७०.१८ अंकले बढ्यो । उनी अर्थमन्त्रीमा नियुक्त भएको दिन पनि सेयर बजार ५४ अंकले बढेको थियो । अर्थमन्त्रीले त्यसलाई आफ्नो सफलता र बहादुरी सम्झे । त्यसपछि विभिन्न सार्वजनिक कार्यक्रममा उनको भाषणको प्राथमिकतामा पर्ने वाक्य बन्यो, ‘म सेयरप्रति सकारात्मक छु ।’

कुनै नीतिगत सहजता र सुधार नगरेपनि उनले त्यो वाक्य उफार्न भने छोडेनन् । संवेदशील क्षेत्रका रुपमा बुझिने सेयर बजारले पनि उनको आगमनलाई स्वागत गरेको भन्दै विभिन्न सञ्चार माध्यमले प्राथमिकताका साथ उनको सेयर बजार सम्बन्धि भाषणलाई स्पेश दिँदै गए । 

अहिले अर्थमन्त्रीसँगै वित्तीय क्षेत्रका नियामक प्रमुखको नियुक्ति हुँदा सरुमै सोधिने र बोलिने शब्द बनेको छ ‘सेयर बजार’ । अर्थमन्त्री पौडेलको सिको गर्दै गभर्नर विश्वनाथ पौडेलले पनि आफ्नो पदभार ग्रहण कार्यक्रममै आफू पुँजी बजारप्रति सकारात्मक भएको धारणा राखे । त्यसयता उनी विभिन्न सार्वजनिक कार्यक्रम र अन्तर्वार्तामा पनि नछुटाएरै भन्ने शब्द हो, ‘म सेयर बजारप्रति सकारात्मक छु ।’

तर, उनको त्योे भनाइले सेयर बजारमा तात्विक प्रभाव भने पर्न सकेको छैन । आफू नियुक्त हुँदा बढेको सेयरमा गर्व गर्ने र आफ्नो सफलता सम्झिने अर्थमन्त्री र नियामक प्रमुखहरु घट्दा भने मौन बस्छन् । निरन्तर घटिरहेको सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने नीतिगत व्यवस्था गर्ने विषय उनीहरुको प्राथमिकतामा पर्दैन । 

अर्थविद् डा. गोविन्द नेपाल सरकारको नीति÷निर्माता तहमा बस्ने व्यक्तिको कारण बजार घट्ने या बढ्ने नहुने तर्क राख्छन् । सेयर बजार घट्नु वा बढ्नु बजारको स्वाभाविक प्रक्रिया भएको बताउँदै उनले भने, ‘सेयर बजार घटाउने वा बढाउने काम सरकारको होइन, न त सरकारको कारण घटबढ हुने हो ।’

कतिले सेयर बजार समग्र अर्थतन्त्र विकासको सूचक हो भनेर हेर्ने गरेको हुँदा त्यसलाई त्यसरी हेर्नु नै गलत औंल्याउँछन् उनी । उनी सेयर बजार बढ्यो भने हाम्रो अर्थतन्त्र सही दिशातिर गइरहेको छ भन्ने विश्वास मानिसमा हुने र धेरैले कम्पनीको सेयर बढ्नुको मतलब त्यो कम्पनी राम्रो छ भनेर बुझ्ने गरेकोमा नेपालको सन्दर्भमा त्यो लागू नहुने विचार राख्छन् । 

‘जहाँ सेयर बजारमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, स्वस्थ नेटवर्क भ्यालुएसनको आधारमा मार्केट चल्नुप¥यो, हामीकहाँ त्यस्तो हुँदैन । यहाँ त मूल्य हेर्यो भने ७० रुपैयाँ हुन्छ तर मार्केट प्राइस चार/पाँच सयभन्दा बढी नै हुन्छ । हाम्रोमा वास्तविक बजारलाई प्रतिबिम्बित गर्दैन ।’

बजार बढ्नुलाई आफ्नो सफलता मानेर क्रेडिट लिनुभन्दा सरकारले यस्ता विकृति नियन्त्रणको लागि नीतिगत व्यवस्थामा बढी ध्यान दिनुपर्ने अर्थविद् नेपालको सुझाव छ । ‘सरकारले गर्ने नियमन हो, पुँजीबजारमा अनावश्यक खेल्ने ठाउँ नहोस् भनेर मेकानिजम बनाउने हो । बजारमा चलखेल गर्ने तथा अनावश्यक हर्कत गर्नेलाई कारबाही गर्नुपर्छ । यस्तो कुरामा सरकारको ध्यान जानुपर्छ ।’

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट नीति÷निर्माता तहमा बस्ने व्यक्तिले बजार बढेकोमा साक्षी बस्ने, आफ्नो सफलता मान्ने, महत्व दिनुपर्ने कारण नै नभएको बताउँछन् । ‘बजार आफ्नो हिसाबले चलिरहेको हुन्छ, त्यसमा मेरो कारण, तपाईंको कारणले भनेर भन्नुको कुनै आधार छैन ।’

व्यक्तिगत स्वार्थ र लगानीकर्ताको मन जित्नलाई सरकारले कुनै वक्तव्य दिन्छ भने त्यसमा कुनै आधार नहुने डा. भट्टको तर्क छ । ‘पुँजीबजार नियमअनुसार चल्छ । माग बढ्यो भने कम्पनीको सेयर मूल्य बढ्छ । घट्यो भने सेयर मूल्य पनि घट्छ,’ उनले भने । 

बजारको आफ्नै नियम हुने भएकाले यदि सरकारले मैले गर्दा बजार बढ्यो भनेर वक्तव्य दिन्छ भने त्यो आफैमा अस्वस्थ बजार भएको डा. भट्टको भनाइ छ । ‘सरकारले नीतिमा गरेको परिवर्तन, निर्णयले बजारमा प्रभाव पार्छ भने त्यो छुट्टै कुरा हो, तर लगानीकर्ताको ध्यान खिच्नको लागि मेरो कारण बजार बढेको हो भन्छ भने त्यसमा कुनै सत्यता हुँदैन,’ उनले भने ।

डा. भट्ट सरकारले बजारको उतारचढावबारे प्रतिक्रिया दिनुभन्दा बजारको सुधारको लागि के गर्न सकिन्छ त्यसतर्फ बढी ध्यान दिनुपर्ने सुझाव दिन्छन् । ‘नेपाल सरकार, अर्थमन्त्रालय, राष्ट्र बैंकलगायत नियामक निकायले पुँजीबजारलाई कसरी हुन्छ, सुधार गर्नेतर्फ लाग्ने हो । बजारलाई लगानीमैत्री बनाउने, लगानीकर्तालाई प्रोत्साहन हुने खालको नीति ल्याउने हो, अनावश्यक कुरामा अल्झिने होइन,’ उनले भने । 

अर्थविद् गणेश अधिकारीले पनि सेयर बजार बढ्दा सरकारकै कारण बढेको भन्ने आधार नभएको र घट्दा के गर्ने भनेर नीतिमा सम्बोधन गर्नेतर्फ सरकारको ध्यान नजाने धारणा राखे । ‘पुँजीबजारलाई नीतिले प्रत्यक्ष असर पार्छ । तर पुँजी बजारलाई नीतिमार्फत सरकारले सम्बोधन गरेको देखिँदैन,’ उनले भने । 

सेयर बजार उकालो लाग्दा होस् या ओरालो झर्दा त्यसमा सरकारको कुनै भूमिका नदेखिएको हुँदा सरकारले त्यसलाई आफ्नो श्रेय मान्नुपर्ने आवश्यकता नभएको अधिकारी औंल्याउँछन् । यसरी बजारबारे सकारात्मक छु, बजार मेरै कारण, मेरै कार्यकालमा राम्रो हुन्छ भनेर अभिव्यक्ति दिनु भनेको चुनावको समयमा लगानीकर्ता र लगानीकर्ताको परिवारको भोट आफूलाई आउँछ भनेर यस्तो अभिव्यक्ति दिएको हुन सक्ने उनले बताए । 

उनले जब बजारमा सुस्तता आउँछ, ओरालो लाग्न थाल्छ, त्यो बेला सरकारले आफ्नो भोट घट्छ भनेर बोल्न नचाहने प्रवृत्ति हुन सक्ने विचार राख्छन् । 

अर्थविद् अधिकारी नेपालको पुँजीबजार अर्थशास्त्रको सिद्धान्तअनुसार नचलेको बताउँछन् । त्यस्तै, सेयर बजार बुझेका लगानीकर्ता बजारप्रति सकारात्मक नभएको पनि प्रष्ट्याउँछन् । उनी भन्छन्, ‘बजार स्मुथली चलेको छैन, यहाँ कार्टेलिङ छ, जसले  अर्थशास्त्र बुझेको हुन्छ, उहाँहरू बजारप्रति सकारात्मक हुनुहुन्न ।’

पुँजीबजारमा सुधार ल्याउनको लागि सरकारले बजारलाई लगानीमैत्री बनाउनुपर्ने, सहज सेयर धितोमा कर्जा लिने वातावरण बनाइदिनुपर्ने उनको सुझाव छ । त्यस्तै, पुँजीबजारमा सरकारले बेला–बेला जुन हस्तक्षेप गर्दै आएको छ, त्यो पूर्ण रूपमा हट्नुपर्ने सुझाव दिन्छन् । उनले भने, ‘सरकारले नीतिमा परिवर्तन गर्ने हो, सिस्टमले काम गर्ने हो न कि कुनै व्यक्तिले ।’

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष एवं सेयर बजार विश्लेषक तुलसीराम ढकाल नीति निर्माण तहमा बस्ने व्यक्तिले बोलेको कुराले ठूलो प्रभाव पर्ने हुँदा सोंचेर सकारात्मक कुरा गर्नुपर्ने विचार राख्छन् । नकारात्मक कुरा गर्दा जनता पनि नकारात्मक हुँदै जाने र त्यसले बजारलाई असन्तुलन बनाउने हुँदा अर्थमन्त्री होस् या गभर्नर जो नियामक निकायमा बसेका छन्, उनीहरूले सन्तुलन मिलाएर बोलिदिनुपर्ने उनले औंल्याए । नियामकले धेरै ठाउँमा बहकिएर बोल्दा त्यसले बजारमा समस्या सिर्जना गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले सोचेर गम्भीर भएर बोल्न सुझाव दिन्छन् ।

‘जो मान्छेलाई राज्यले ढुकुटीको साँचो हस्तान्तरण गरेर जिम्मेवारी सुम्पिदिएको छ, तिनै व्यक्तिले बहकिएर बोलिदियो भने त्यस्ता अभिव्यक्तिले लगानीकर्तालाई चोट पुग्छ,’ उनले भने ।  

अध्यक्ष ढकाल नियामक निकायमा पुगेका व्यक्तिलाई नकारात्मक बोल्ने अधिकार नभएको र बोल्न छुट नभएको बताउँछन् । सरकार सकारात्मक भएमा मात्रै जनता सकारात्मक हुने अर्थतन्त्र पनि चलायमान हुँदै जाने उनको अभिव्यक्ति छ । 

सरकारले देशमा लगानीमैत्री वातावरण बनाउन सकेको छैन । विदेशी लगानी प्रतिवद्धताको तुलनामा शून्य नै छ । सार्वजनिक सेयर निश्कासनका लागि दर्जनौं कम्पनी पाइपलाइनमा छन् । सरकारले ती कम्पनीको प्रक्रिया अगाडि बढाउन सकेको छैन । बजारमा न नयाँ लगानीकर्ता भित्रिने वातावरण बनेको छ नत सेयर बजारले समायानुकुल प्रविधि प्रयोग गर्न पाएको छ । 

उद्योगी व्यवसायीहरु कम्पनी नोक्सानीमा ग एभनेर गुनासो गरिरहेका छन् । जनताले महँगीमा पर्यौं भनेर सरकारको आलोचना गरिरहेका छन् । लगानीकर्तामा विश्वास गुमेको छ । यो अवस्थामा सरकारले नयाँ नीतिगत सुधार गर्नुको साँटो भाषणमा सकारात्मक छु भनेर व्यवहार र नीतिगत रुपमा कडाइ गर्दा सेयर बजार चलायनमा हुन सकेको छैन । पछिल्लो समय निरन्तर बजार ओरालो यात्रामा छ । सेयर बजार बढेमा मेरै कारण र मेरै सफलता भनेर प्रचारवाजीमा रमाउने प्रवृत्ति समग्र पुँजीबजारका ालगि हानिकारक रहेको लगानीकर्ताहरुको टिप्पणी छ । 

Share News