बीमा कम्पनीको साेल्भेन्सी सीमाभन्दा दोब्बर, यस्तो पर्छ प्रभाव

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको सोल्भेन्सी अनुपात सार्वजनिक गरेको छ । प्राधिकरणले आव २०८०/८१ को स्वीकृत जोखिममा आधारित बीमांकीय मूल्यांकन प्रतिवेदनको आधारमा सोल्भेन्सी अनुपात सार्वजनिक गरेको हो ।

प्राधिकरणले जीवन र  निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी अनुपात न्यूनतम १.३ प्रतिशत तोकेको छ । बीमा कम्पनीहको सोल्भेन्सी अनुपात तोकिएको सीमाभन्दा माथि नै रहेको छ । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुमध्ये नेपाल इन्स्यारेन्सको सर्वाधिक सोल्भेन्सी अनुपात रहेको छ । नेपाल इन्स्यारेन्सको सोल्भेन्सी अनुपात ४.६१ प्रतिशत पुगेको हो ।

दोस्रोमा सिद्धार्थ प्रिमियरको सोल्भेन्सी अनुपात ४.३२ रहेको छ । त्यस्तै आइजिआई प्रुडुन्सियलको सोल्भेन्सी अनुपात ३.४२ छ । त्यस्तै एनएलजीको ३.४२, हिमालयन एभरेष्टको ३.१५, नेको इन्स्यारेन्सको ३.०६ सगरमाथा लुम्बिनीको २.७६, युनाइटेड अजोडको २.७३, शिखर इन्स्योरेन्सको २.६९, ओरियन्टलको २.६६ सोल्भेन्सी अनुपात रहेको छ ।

null

रिलायबल नेपालको धेरै

जीवन बीमा कम्पनीहरुमध्ये रिलायबल नेपाल लाइफ इन्स्यारेन्सको सोल्भेन्सी अनुपात सबैभन्दा धेरै छ । प्राधिकरणका अनुसार न्यूनतम सोल्भेन्सी १.३ हुनुपर्नेमा रिलायबलको सोल्भेन्सी अनुपात ३.६१ रहेको छ । धेरै सोल्भेन्सी भएको दोस्रो कम्पनी सिटिजन्स लाइफ रहेको छ ।

सिटिजन्सको सोल्भेन्सी अनुपात ३.४२ रहेको छ । त्यस्तै आइएमई लाइफको सोल्भेन्सी अनुपात ३.१४, मेट लाइफको २.७०, सूर्यज्योति लाइफको २.४७, प्रभु महालक्ष्मी लाइफको १.९६, हिमालयन लाइफको १.८१, एलआइसी नेपालको १.४६, नेपाल लाइफ १.४५, सानिमा रिलायन्स १.३९ र नेशनल लाइफको १.३४ रहेको छ ।

त्यस्तै, लघु जीवन बीमकको न्युनतम अनुपात १.५ तोकिएकोमा लिबर्टी माइक्रो लाइफको २.० रहेको छ । गार्डियन र क्रेष्ट माइक्रो लाइफको साल्भेन्सी अनुपात १.९७ अनुपात रहेको छ । 

null

सोल्भेन्सी अनुपात बढी हुँदा पर्ने प्रभाव 

बीमा कम्पनीहरुको दीर्घकालिन वित्तीय स्थायित्व र दायित्व पूरा गर्ने क्षमताको मापन गर्ने अनुपात नै सोल्भेन्सी हो । यसले बीमा कम्पनीको वित्तीय स्वास्थ्य र स्थिरताको सूचकको रुपमा काम गर्दछ । 

बीमा कम्पनीहरुले पर्याप्त पुँजी कायम गर्न सकुन् र भविष्यमा आइपर्ने आर्थिक कठिनाइहरु सामना गर्न सकुन् र यसका लागि बलियो जोखिम व्यवस्थापन प्रणाली अन्डराइटिङ, सम्पति दायित्व व्यवस्थापन प्रणालीको व्यवस्था होस् भनेर प्राधिकरणले जोखिममा आधारित पुँजी र साल्भेन्सी अनुपात साल्भेन्सी अनुपात २०७८ जारी गरेको थियो ।  नियामक निकायद्वारा बीमा कम्पनीहरुको वित्तीय अवस्था निगरानी गर्न र दाबी भुक्तानीमा ढिलाई नहोस् भन्ने सुनिश्चिता गर्न साल्भेन्सी अनुपातले महत्वपूर्ण भूमिका खेल्छ ।

प्राधिकरणले बीमा कम्पनी (जीवन र निर्जीवन) को लागि साल्भेन्सी अनुपात १५० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । यसको अर्थ बीमा कम्पनीहरुको आवश्यक पुँजी १.५ गुणा हुनुपर्छ । तर, अहिले सोल्भेन्सी २३४ प्रतिशत पुगेको उल्लेख गर्दै जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले बीमा कम्पनीहरु ओभर क्यापिटलाइज्ड (अधिक पुँजी वृद्धि) भइसकेको बताए । 

यसले कम्पनीको वित्तीय अवस्था बलियो देखिएतापनि पुँजीको प्रयोग भए/नभएको मूल्यांकन गर्नुपर्ने पौडेल औल्याउँछन् । अधिक पुँजी वृद्धि भइसकेपछि कम्पनीले आफ्नो पुँजी बजार वा व्यवसाय विस्तारमा प्रयोग नगरी निष्क्रिय रहन सक्ने  नाफा घट्न सक्ने सुनाए । नाफामा कमजोर हुनेबित्तिकै त्यसको प्रभाव बजारमा देखिने जीवन बीमक संघका अध्यक्ष पौडेलले बताए ।

अधिक पुँजी वृद्धिको असर कम्पनी र ग्राहकलाई सिधै पर्न जाने हुँदा नियामक निकायले यसतर्फ विचार गर्नुपर्ने उनको भनाई छ । ‘अहिले बीमा कम्पनीहरु ओभर क्यापिटलाइज्ड भएका छन्, अधिक पुँजी राम्रो होइन । यसतर्फ नियामक निकायले गम्भीर भएर हेर्नुपर्छ । नियामक निकायले कम्पनीको लागि पुँजी कति गर्दा ठीक हुन्छ भनेर मूल्यांकन गर्नुपर्ने हुन्छ ।’

एशियन लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) होम बहादुर श्रेष्ठ उच्च सोल्भेन्सी अनुपातले बीमा कम्पनीसँग ग्राहकको दाबी भुक्तानी गर्न पर्याप्त पूँजी रहेको र कम्पनी स्वस्थ रहेको देखाउने बताउँछन् । यसले बीमा कम्पनी अस्थिर छैन भन्ने सन्देश जाने र जसले बीमित र बीमकबीच विश्वास बढ्ने सुनाउँछन् ।

प्राधिकरणले जीवन बीमा कम्पनीलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे दुई अर्ब पुँजी निर्धारण गरेको छ । प्राधिकरणले निर्धारण गरेको पुँजी आफैमा बढी नभएको प्राधिकरणका कार्यकारी निर्देशक शुशिलदेव सुवेदी बताउँछन् । उनले भने, ‘प्राधिकरणले निर्धारण गरेको पुँजी आफैमा चाहिनेभन्दा बढी हो भन्ने लाग्दैन । हामीले निर्धारण गरेको पुँजीले आगामी दुई÷पाँच वर्षलाई धान्छ भन्ने हिसाबले त्यहाँसम्म पुर्याएका हौं ।’

कार्यकारी निर्देशक सुवेदीले अहिले निर्धारण भएको पुँजीले सुवेदी आगमी दुई/पाँच सम्मको लागि बजारको पुँजी, आकार, बीमा कम्पनीहरूले लिइरहेको व्यावसायीक योजना र उनीहरूले लिएको रणनीतिसँग मेल खाने बताए । 

यो बीचमा बजारको आर्थिक वृद्धिदर कस्तो हुन्छ, मान्छेको क्रयशक्ति कसरी बढ्छ लगायत यी सबै हेरिसकेपछि मात्रै रिभ्यु गर्ने र पुँजीको बारेमा निर्णय लिने सुनाउँछन् । सुवेदी अहिलेको पुँजी अप्टिमम लेभलमा रहेको र यसले कष्ट अफ क्यापिटल बढेर बिजनेसलाई भार दिने काम नगर्ने प्रष्ट्याउँछन् ।

 

Share News