बाई द बुकमा ब्लण्डर, वार्षिक कारोबार ८७५ अर्ब ?

काठमाडौं । दरबारमार्गको श्याम्स् वान ट्री क्याफेमा कफी गफ सकेर मित्र तुला अधिकारी कार पार्किङतिर लागे, म अफिसतिर लम्किएँ । महेन्द्र शालिक नजिकै पुग्दा मलाई कान्तिपथस्थित मन्डला बुक्स जान मन लाग्यो, केही किताब किन्ने सोचसहित । सोच पनि यस्तो थियो कि मेरो खोजको विषयमा लेखिएका किताबहरू पाएसम्म सबै किन्नें । 

म जमलको बुक्स प्याराडाइजभित्र छिरेँ, लाग्यो मैले खोजेका केही किताबहरू यहाँ पनि हुन्छ सक्छन् । ‘ठ्याक्कै तपाईंले भनेजस्तो किताब हाम्रो स्टोरमा छैन । एउटा यो हुनसक्छ’ उक्त स्टोरका मालिकले बुद्ध एयरमा मालिक बीरेन्द्र बहादुर बस्नेतले लेखेको ‘बाई द बुक’ देखाए । उक्त किताबसँगै 'वाह ! जिन्दगी` म्यागेजिन किनेँ । 

त्यही बेला पानी छिट्यायो । मेरो मुड परिवर्तन पनि भयो । मन्डला नगई कार्यालयतर्फ लम्किएँ । भोलिपल्ट बिहानै बाई द बुकका शब्द-शब्दमा मेरा आँखा कुद्न थाले । फाइन प्रिन्टका अध्यक्ष नीरज भारीको प्रकाशकीय पढेपछि उनीलाई भेटेरै प्रसंशा गरेँ । बस्नेतकै शब्दमा ‘भाषा तिखारेर पठनयोग्य बनाउने भूमीश्वर पौडेल’लाई फोन गरेर भाषा सीपको तारिफ गरें । 

नियमति काम गर्ने पर्यौ । दैनिक १०/१२ पृष्ठ मात्र हो मैले किताब पढ्ने । हरेक दिन बिहान पढिन्थ्यो, दिउँसो तारिफ गर्थें, बीरेन्द्र बस्नेतको कर्म र कृतिबारे । पढेर आधाउधी पनि नभ्याउँदै धेरैलाई मैले यो किताब पढ्न सुझाव दिएको छु । भन्ने गर्छु, ६९८ रुपैयाँ खर्चनोस्, त्यो तपाईंको महत्वपूर्ण लगानी हुनेछ । 

अहिले पनि म त्यही भन्छु, यो किताब पढ्नुहोस् । 

तर, किताब पढ्दै जादा बाई द बुकमा एउटा बल्डर भेटें । 

‘पारदर्शिताको पाइन’ शिर्षकमा बीरेन्द्र बस्नेतले कम्पनीको आर्थिक पारदर्शिताका लागि आफूले लिएको नीति र गरेका अभ्यासका बारेमा १० पृष्ठ लामो वर्णन गरेका छन् । तर, लेखकले यसैमा ब्लण्डर गरेछन् । पारदर्शितमा पाइन लगाउँदा हतियारमा खिया लाग्न पुगेछ । लेखक, सम्पादक सबै चुकेका छन् । पक्कै सीएले पाण्डुलिपी पढेनन् । किताबमा बुद्ध एयरको हिसाब ‘गोलमाल’ भएको रहेछ । 

किताबमा लेखिएको छ, ‘हामीले आर्थिक वर्ष २०८०/८१ मा मात्र राज्यलाई भ्याट बापत एक खर्ब ७१ करोड, नेपाल नागरिक उड्यन प्राधिकरणलाई विभिन्न शुल्कबापत २९ करोड ६० लाख र कर्पोरेट ट्याक्सबापत २५ करोड ११ लाख रुपैयाँ तिरेका छौं ।’

हो यसैमा छ गोलमाल । पाइन लगाउन खोज्दा हतियारमा खिया लागेको यही हो । अन्तःशुल्क र कर्पोरेट ट्याक्स ठिक हुन सक्छ । तर, भ्याटको विवरण सही छैन । 

जसलाई पुष्टि गर्न यहाँ चार वटा तथ्यलाई तुलनात्मक रुपमा विश्लेषण गरिएको छ । 

पहिलो, आन्तरिक राजश्व विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा देशभरबाट कुल १ खर्ब ३० अर्ब १० करोड रुपैयाँ भ्याट संकलन भएको छ । बाई द बुकमा लेखिएको तथ्याङ्क हेर्ने हो भने कुल भ्याटमा बुद्ध एयरको योगदान ७७.४० प्रतिशत हुन आउँछ, जुन असम्भव छ । 

दोस्रो, सरकारले हरेक वर्ष मंसिर १ गते उत्कृष्ट करदाता घोषणा र सम्मान कार्यक्रम गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी र नियमित भ्याट तिरेको भन्दै सरकारले होङ्सी सिमेन्टलाई सम्मान गरेको छ । यदि बाई द बुकमा भनिए अनुसार १ खर्ब ७१ करोड भ्याट तिरेको भए बुद्ध एयरलाई नै सरकारले सबैभन्दा ठूलो करदाता भनेर घोषणा र सम्मान गर्ने थियो । 

तेस्रो, सरकारले सबै किसिमका वस्तु तथा सेवामा १३ प्रतिशतका दरले भ्याट लगाउँदै आएको छ । १ खर्ब ७१ करोड भ्याट तिर्नको लागि भ्याटबाहेक ७ खर्ब ७४ अर्ब ६९ करोड रुपैयाँको बिक्री हुनुपर्छ । भ्याटसहितको कारोबार ८ खर्ब ७५ अर्ब ४० करोडको हुनुपर्छ । यो रकम नेपालमा सबैभन्दा बढी कारोबार गर्ने नेपाल आयल निगमको भन्दा २०० प्रतिशतभन्दा बढी हुन आउँछ भने नेपाल सरकारको सोही आर्थिक वर्षको कुल बजेटको ५७.२० प्रतिशत हुन आउँछ, जुन असम्भव छ ।

चौथो, बुद्ध एयरको रेटिङ गर्दै इक्रा नेपालले मार्च २०२४ मा प्रकाशित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० का कम्पनीले १२ अर्ब १६ करोड रुपैयाँको व्यापार गरेको उल्लेख छ । अघिल्लो वर्ष १० अर्ब ९ करोडको व्यापार गरेको उल्लेख छ । आर्थिक वर्ष २०७८/७९मा १० अर्ब ९ करोडको व्यापार गर्ने कम्पनीले आर्थिक वर्ष २०७९/८०मा १२ अर्ब १६ करोडको व्यापार गर्नु स्वाभाविक हुन्छ । तर, आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब १६ करोडको व्यापार गर्ने कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ७४ अर्बको व्यापार गर्न सक्दैन । 

यस विषयमा वास्तविकता जान्नका लागि कम्पनीका सञ्चार अधिकृत दिपेन्द्र कर्ण, रेभेन्यू विभाग प्रमुख गणेश लोहनी, मार्केटिङ डारेक्टर रुपेश जोशीसँग सम्पर्क प्रयास गर्यौ यद्यपि हाम्रो प्रयास सफल भएन । उल्लेखित चार तथ्य केलाउँदा बाई द बुकमा लेखिएझै बुद्ध एयरले आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब ७१ करोड रुपैयाँ भ्याट बुझाएको दाबी गलत नै भएको बुझिन्छ ।
 

Share News