काठमाडौं । देशभर सवारीसाधनको संख्या करिब ६० लाख पुगेको यातायात व्यवस्था विभागले जनाएको छ । जसमा सबैभन्दा बढी बाइक तथा स्कुटर छन् भने त्यसपछि साना गाडी कार, भ्यान र जीप रहेका छन् । विभागको तथ्यांकको अनुसार गत आर्थिक वर्ष २०४६/०४७ देखि चालु आवको फागुनसम्ममा देशभर ५८ लाख ५० हजार ४ सय ३२ सवारीसाधन दर्ता भएका छन् ।
सबैभन्दा बढी ४७ लाख ४४ हजार ७२ मोटरसाइकल दर्ता भएका विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी, दोस्रोमा तीन लाख ६६ हजार ७२३ साना गाडी कार, भ्यान र जीप दर्ता भएका छन् । तेस्रोमा एक लाख २९ हजार एक सय १९ क्रेन, डोजर, एस्काभेटर र ट्रक रहेको विभागले जनाएको छ ।
सबैभन्दा बढी सवारीसाधन बागमती प्रदेशमा दर्ता भएका छन् । बागमतीमा मात्रै १८ लाखभन्दा बढी साना ठूला गरी सबै सवारीसाधन दर्ता भएका हुन् ।
यस्तो छ गत आव २०४६/०४७ देखि चालु आवको फागुनसम्म गाडीको संख्या

कसले गर्छ जाँचबुझ ?
यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेश राईले सबै सवारीसाधनको जाँचबुझ ७ वटै प्रदेशका यातायात व्यवस्था कार्यालयले प्रत्येक ६/६ महिनाको अन्तरालमा गर्ने गरेको जानकारी दिए ।
उनका अनुसार गाडी दर्ता तथा नामसारी गर्ने बेला परीक्षण गरिन्छ । आयात भएका गाडीहरूको रोड टेस्ट गर्ने बेलामा सवारी परीक्षण कार्यालयहरूले गर्ने गरेको उनले बताए ।
उनले भने, ‘आव २०७४/७५ सम्ममा देशभर दर्ता भएका गाडीहरूको चेकजाँच विभागले नै गर्ने गरेको थियो । तर पछिल्लो समय यो सबै अधिकार प्रदेशलाई दिएको छ । ती कार्यालयले नै प्रदेशभित्रका सवारीसाधनको दर्ता, नामसारी, नवीकरण, खारेजलगायत एक प्रदेशबाट अर्को प्रदेशमा सार्ने काम प्रदेशले नै गर्छ ।’
यसैगरी विदेशबाट आयात गर्ने अनुमति सिफारिस भने विभागबाटै हुने सूचना अधिकारी राईले जानकारी दिए । प्रदेशभित्र चल्ने सवारीसाधनको अनुगमन निरीक्षणलगायत प्रदेशले नै गर्ने उनको भनाइ छ ।
ट्राफिक व्यवस्थापनमा चुनौती
बागमतीमा दर्ता भएका १८ लाखभन्दा बढी सवारीसाधनमध्ये १२ लाख मात्रै उपत्यकाको सडकमा गुड्ने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार उपत्यकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ ।
जामले छोटो दूरी पार गर्न पनि उपत्यकामा घण्टौं लाग्ने गर्दछ । खासगरी कार्यालयको समयमा उचित ट्राफिक व्यवस्थापन हुन नसक्दा सर्वसाधारणले सास्ती खेप्दै आइरहेका छन् ।
प्रवक्ता गिरीका अनुसार ट्राफिक कार्यालयमा झण्डै दुई हजार प्रहरी कर्मचारी छन् । त्यसमध्ये उपत्यकाको सडकमा २४ सै घण्टा १ हजार ७ सय प्रहरी खटिएका उनको भनाइ छ ।
उनले भने, ‘उपत्यकाको ट्राफिक व्यवस्थापनमा निकै समस्या छ । बागमतीमा रहेका १८ हजार सवारीसाधनमध्ये ९० प्रतिशत उपत्यकाको सडकमा गुड्ने गरेका छन् । दिन प्रतिदिन सार्वजनिक गाडीभन्दा निजी गाडीको संख्या थपिँदै गएपछि सास्ती पनि बढ्दै गएको छ ।’
सबै चालकहरू अनुशासित नभएकोले पनि ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको उनले बताए ।
हाल कसरी हुँदैछ उपत्यकाको ट्रफिक व्यवस्थापन ?
ट्राफिक प्रहरीकै कारण प्रयासमा ट्राफिक व्यवस्थापनलाई आवश्यक सुधार गर्दै प्रविधिमैत्री बनाउँदै लगेको प्रवक्ता गिरी बताउँछन् ।
के छ कानुनी व्यवस्था ?
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को हालसम्म पटकपटक गरी १० पटक सम्म संशोधन भएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सवारी सम्बन्धी अपराधलाई परिच्छेद– १० को दफा १६० देखि १६४ सम्म व्यवस्था गरेको छ ।
यो ऐनसँगै यसको कार्यान्वयनका लागि बनेका ‘सडक यातायात नियमावली, २०५४’ पनि लागू छन् ।
यी कानुनी दस्तावेजहरूले सवारीसाधनको दर्ता, चालक अनुमतिपत्र, ट्राफिक नियम, सवारीसाधनको जाँचबुझ, दुर्घटना तथा जरिवाना जस्ता विषयहरूमा स्पष्ट व्यवस्था गरेका छन् ।