काठमाडौं । बिहीबार साँझ सामाजिक सञ्जालमा अन्धकार रहेका तस्विरले ढाकिए । झ्याप्प झ्याप्प बिजुली जाँदा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई धेरैले सम्झे । कतिपयले अहिलेका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई सालो केटो भन्दै व्यंग्य गरे । लामो समयको अन्तरालपछि बिहीबार धेरै बेर बिजुली आपूर्ति ठप्प भएको भन्दै शाक्यप्रति आक्रोश पोखे ।
बिहीबार देशभर छिनछिनमै बिजुली आउने-जाने क्रम जारी रह्यो । जसले गर्दा उपत्यकासहित देशभर जनजीवन प्रभावित नै बन्न पुग्यो ।
बिजुली झ्याप्प झ्याप्प जाने-आउने क्रम बढेपछि नेतादेखि कार्यकर्ताले हैरानी भएको भन्दै सामाजिक सञ्चालमै आलोचना गरे भने सर्वसाधारणले आन्दोलनमै उत्रिने सम्मको चेतावनी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई इकिंत गर्दै वाहा ! सालो केटो कस्तो कमाल भन्दै व्यंग्य गरे थिए । व्यंग्य गर्दै उनले सालो केटोले ‘अघोषित लोडसेडिङ सुरु गर्यो ।’ भनेर लेखेका छन् ।
यस्तै, हाँस्य व्यङ्ग्य क्षेत्रका चर्चित कलाकार केदारप्रसाद घिमिरे (माग्नेबुढा) ले पनि बिजुली झ्याप्प झ्याप्प गएपछि सामाजिक सञ्जालमा ‘सालो त सालो कसको सालो ! सालो त्यो सालो आएसी अन्धकार र कालो !!’ भन्दै लेखेका छन् । घिमिरे टेलिसिरियल मेरी बास्सैबाट चर्चित छन् ।
यस्तै, ललितपुरका स्थानीय राजाराम तण्डुकारले सामाजिक सञ्जालमै लाइभ आएर ललितपुरको पाटनढोकामा
शुक्रबार ‘अघोषित लोडसेडिङ बन्द गर विद्युत महसुल वृद्धि गर्न पाइँदैन डेडिकेटेड ट्रंक लाइनको बक्यौता असुल गर ।’ भन्दै हितेन्द्रविरुद्ध आन्दोलन गर्नुपर्ने धारणा राखे ।
पछिल्लो केही सातादेखि साँझ होस् वा दिउँसो झ्याप्प‑झ्याप्प बिजुली जाने क्रम बढिरहेकै छ। उसो त जनमानसमा नेपाल विद्युत प्राधिकरणबाट घिसिङलाई निलम्बन गरेपछि लोडसेडिङ हुन्छ कि भन्ने त्रास छ ।
चौतर्फी आलोचना भएपछि हितेन्द्रले शुक्रबार स्युचाटारमा पत्रकार सम्मेलन गर्दै प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गएको जानकारी दिए । झ्यापझ्याप बत्ती जानेबित्तिकै लोडसेडिङ हुन्छ भन्ने भ्रममा नपर्न उनले आग्रह गरे ।
उनका अनुसार पिक आवरमा भारतबाट विद्युत् आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा आएको प्राविधिक समस्याका कारण केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।
उनले भने, ‘यो समस्या आजको होइन । कुलमानजी छँदा पनि थियो । यसलाई धेरै ठुलो रुपमा लिएर हल्ला नफैलाऔं । यो लोडसेडिङ होइन । भारतको समस्या हो । म यसअघि २०७८ सालमा प्राधिकरणमा आउँदा पनि यस्तै प्रश्न उठेको थियो । त्योबेला पुस/माघको समयमा पटकपटक बिजुली झ्यापझ्याप गएको थियो ।’
उनले यो समस्यालाई अबको ६ महिनामै समाधान गर्ने दाबी गरे । हावाहुरी, वर्षा र चट्याङ पर्ने समय भएकाले कहिलेकाहीँ समस्या आउने भएका यसलाई ठूलो मुद्धा बनाउन नहुने उनको भनाइ छ । साथै, प्राधिकरणमा पैसा शून्य रहेकाले खडेरी लागेको उनले बताए ।
शाक्यले भने, ‘हाम्रो आन्तरिक उत्पादन कम छ । हाल १४ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । पिकिङ समयमा करिब २ हजार मेगावाट माग छ । विद्युत् प्रसारण लाइनमा पिकिङ समयमा विद्युत् ट्रिप भएकाले प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता सीमा नाघेको छ । अहिले हुने विद्युत् लोड क्षमता धान्न नसक्ने अवस्थामा छ । बालाजु र स्युचाटारको लोडले गर्दा चाँडै ओभर लोड हुने अवस्था छ ।’
विद्युत् प्रणालीको धेरै ठाउँमा समस्या रहेको र आफैंले यो समस्या एलडीसीमा बसेर हेरिरहेको उनले बताए ।
‘भारतको प्रणालीबाट विद्युत् आएन भने हामीलाई ठुलो समस्या पर्छ । प्राधिकरणको प्रसारण लाइन र प्रणाली सुधार गरिरहेका छौं । सुधार ल्याउन १/२ वर्ष समय लाग्छ,’ उनले भने ।