स्टारडमसँगै स्टार्टअप, व्यवसायमा जम्दै सेलिब्रेटी

क्यामेराको फ्ल्यास, सिने पर्दाको झिल्को र स्टेजको तालीभन्दा पर सेलिब्रेटीहरूको जीवनमा अर्को संसार छ- साइड व्यवसाय । जुन उनीहरुको आम्दानीको मुख्य स्रोतमात्र होइन पहिचानको दोस्रो आयाम, सुरक्षित भविष्य र आत्मनिर्भरताको प्रतिबिम्ब पनि हो । विगतमा हलिउड र बलिउडका कलाकार तथा सेलिब्रेटीहरु व्यवसायमा आबद्ध भएका कथाहरू सुन्ने तपाईं हामीहरू अब नेपालकै सेलिब्रेटीहरु पनि व्यवसायमै आबद्ध भए भन्ने खबर सुनिरहेका छौं । जसरी सेलिब्रेटीहरुले आफ्नो कलामार्फत कौशलता देखाए, त्यसैगरी व्यवसायमा पनि जमिरहेका छन्, चम्किरहेका छन् । 

नेपाली अर्थतन्त्रको सानो बजारमा रहेको सीमित अवसर र सङ्कुचित पारिश्रमिक प्रणालीमा सुख सयलको जीवन जिउन कठिन नै छ । यही यथार्थलाई आत्मसात गर्दै धेरै सेलिब्रेटीहरु व्यवसायमा आबद्ध भएका छन् । कतिपय घरजग्गा कारोबार, कतिपय कृषि, शिक्षा, कफी सपदेखि इलेक्ट्रोनिक्सदेखि रेष्टुरेन्टसम्मकका व्यवसायमा सक्रिय बनेका छन् । आज हामीले व्यवसायमा आबद्ध भएका कलाकारको विषयमा यो सामग्री तयार गरेका छौं । 

कृषिमा सरोज 

पुर्ख्यौली व्यवसायलाई आधुनिक रुप दिएर व्यवसाय गरिरहेका नेपाली सेलिब्रेटी हुन् सरोज खनाल । ‘भस्मासुरको नली हाड’ नामक चलचित्रबाट सन् १९८७  बाट नेपाली सिनेमामा प्रवेश गरेका खनालले हाल सम्म छ दर्जन नेपाली सिनेमामा अभिनय गरेका छन् ।                                                                                                                                                        
उनी नेपाली चलचित्रको नायक मात्र नभएर कृषि प्रधान देशमा कृषक नायक भन्ने उद्देश्यका साथ कृषिमा लागेका छन् । चितवनको रत्ननगरमा रहेको उनको पारिवारिक व्यवसाय ‘खनाल पोल्टि’ मा अहिले उनी आबद्ध छन् । केही समय अमेरिकामा बस्दा त्यहाँको कृषि देखेपछि प्रभावित भएर नेपालमा पनि कृषि सुरु गरेको धारणा उनको छ । त्यस फार्मबाट उनले उन्नत जातको कुखुरा, कुखुराको दाना र मल उत्पादन गर्ने गरेका छन् । 

क्रिकेटसँगै कफी व्यवसायमा रोहित

उसो त क्रिकेटर रोहित कुमार पौडेललाई कफी खासै मन पर्दैन । तर, उनले कफी पारखीका लागि कफी सप सञ्चालनमा ल्याएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन रोहितले एक साताअघि मात्र बुद्धनगरमा आफ्नो जर्सीको १७ नम्बरबाट १७ बिन्स क्याफे सञ्चालनमा ल्याएका छन् । खेलजस्तै व्यवसायमा पनि उनी रणनीतिक सोचका साथ अघि बढेका छन् । 

स्वप्निल शर्मा गायनसँगै व्यवसायमा 

स्वप्निल शर्मा ‘दि स्याडाेज ब्यान्ड नेपाल’का महत्त्वपूर्ण सदस्य हुन् । सन् १९९७ बाट साथीहरूसँग मिलेर रक ब्यान्डमा संलग्न भई ‘सुन हाम्रो सानो आवाज’ नामको एल्बममार्फत गायन यात्रा सुरु गरि चर्चित बनेका हुन् । 

उनी अहिले गायनसँगै व्यवसायमा पनि आबद्ध छन् । उनको पर्पल हाज रक बार, एडुक्वेस्ट नेपाल नामक शिक्षा परामर्श कम्पनी, फज स्टुडियो नेपाल, संगीत पाठशाला, फुच्चे रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । पर्पल हाज रक बार ठमेलमा छ भने एडु-क्वेस्ट नेपाल कमलादीमा रहेको छ । यस कम्पनीमार्फत विदेश अध्ययनको परामर्श, भिसा आवेदन सहायता, करिअर काउन्सिलिङ, लगायत सेवा दिइन्छ । 

रेष्टुरेण्ट व्यवसायमा पुजा 

पूजा शर्मा नेपाली कलाकारिता जगतमा चर्चित नायिका तथा निर्माता हुन् । सन् २०१२ को ‘थ्रि लभर’ चलचित्रबाट सिनेमामा डेब्यू गरेकी उनी ‘प्रेम गीत’ बाट चर्चामा आएकी हुन् । उनले हाल सम्म डेढ दर्जन चलचित्रमा काम गरिसकेकी छन् । उनी अहिले व्यवसायमा पनि व्यस्त छिन् । उनको ललितपुरको झम्सिखेलमा ‘ट्याग स्पोर्ट्स एण्ड लाउन्ज बार’ सञ्चालन गरिरहेकी छन् । उनले रेष्टुरेण्टबाट कमाएको पैसाले चलचित्र निर्माणमा खर्च गर्ने बताउँदै आएकी छन् । 

थिएटर र रेष्टुरेण्टमा दयाहाङको लगानी 

नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा व्यस्त नायक हुन् दयाहाङ राई । लामो समयसम्म रङ्गमञ्चमा नाटक गरेर पछि चलचित्रमा प्रवेश गरेका उनले दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् । सन् २००६ मा ‘अनागरिक’ चलचित्रबाट डेब्यु गरेका उनी ‘लुट’ चलचित्रबाट चर्चामा आएका हुन् । उनले अभिनयसँगै रेष्टुरेण्टमा पनि लगानी गरेका छन् । ‘मण्डला थिएटर’ मा पनि उनकाे लगानी रहेकाे छ । लेञ्चा खिम रेष्टुरेण्टमा बङ्गुरको मासुको स्पेशल परिकार पाइने गरेको छ भने यस रेस्टुरेन्ट मा प्रायः कलाकारको जमघट हुने गरेको छ । उनले जीवनशैली सहज बनाउन र साथीहरूको जमघट स्थल पनि आवश्यक पर्ने भएकोले रेष्टुरेण्ट व्यवसाय थालेको बताउँदै आएका छन् । 

दिपक-दीपा र वर्षा-संजोग जोडी पनि व्यवसायमा 

पछिल्लो समय दिपक-दीपा र वर्षा-संजोगको जोडी पनि व्यवसायमा सक्रिय छ । कलाकारितामा जोडी बनाएका दीपकराज गिरी र वर्षा राउत पनि व्यवसायमा छन् । कोरोना भाइरस (कोभिड -१९) को कारण व्यापार ठप्प हुँदै गर्दा वर्षा-संजोग जोडीले नयाँ बानेश्वरमा ‘चिया अड्डा’ नामको चिया पसल सुरु गरेका थिए । अहिले सो पसलका विभिन्न ठाउँमा शाखाहरू छन् । उनीहरुको ‘गेजु’ चाइनिज रेष्टुरेण्टमा समेत लगानी छ । संजोग सेयर बजारका लगानीकर्ता समेत हुन् । 

चिया अड्डामा दीपकराज गिरी र दीपाश्री निरौलाको समेत लगानी छ । हेर्दा चिया व्यापार सामान्य देखिन्छ तर नेपालीमा चिया पिउने संस्कृति रहेकाले यो व्यापार थालेको उनीहरुले बताउँदै आएका छन् । हिट फिल्म ‘छक्का पञ्जा’ सिरिजका अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको लगानीमा सिनेमा हल समेत सञ्चालनमा छन् । 

फुटबलसँगै चियामा किरण 

राष्ट्रिय फुटबल टोलीका प्रमुख गोलकिपर किरण चेम्जोङ नेपालमा मात्र नभएर विदेशमा समेत प्रख्यात रहेका छन् । उनले राष्ट्रिय टिममा सन् २००८ मा स्थान बनाएका थिए भने हाल उनी नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै १०४ खेल खेल्ने खेलाडी हुन् । उनको उपस्थितिमा नेपालले पहिलो पटक साफ चेन्पेनसिप फाइनल (२०२१), साफ यू-२३ (२०१६) विजेता लगायत थुर्पै उपलब्धि नेपालले हासिल गरेको छ । किरण फुटबलको मात्र नभएर व्यवसायको पनि खेलाडी हुन् । उनी बानेश्वरमा रहेकको चिया टाइम्सको सञ्चालक हुन् । चियाका पारखीहरुको यहाँ भीड लाग्ने गरेकाे छ । 

शिल्पा मास्केको कोरियन रेस्टुरेन्ट

शिल्पा मास्के नेपाली चलचित्रमा मात्र नभएर हलिउडमा समेत चर्चित छिन् । उनको चलचित्र यात्रा ‘दि ब्रेकअप’ बाट सन् २०१९ बाट सुरु भएको थियो । हालसम्म उनले एक दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् । उनले कुपन्डोल हाइट्समा भएको डोक्डो साराङ रेस्टुराँ सञ्चालन गर्दै आएकी छन् । रेस्टुरेन्ट व्यवसायको बाहेक छोटा फिल्म, व्यावसायिक विज्ञापनमा व्यस्त रहने मास्केले आफ्नै रुचीका कारण अन्य व्यवसायमा लागेको बताउँदै आएकी छन् । 

हिमालय जावामा श्वेता खड्का 

नेपाली चलचित्रको अभिनेत्री श्वेता खड्का ‘कान्छी’ चलचित्रको निर्माता पनि हुन् । ‘कहाँ भेटिएला’ चलचित्रबाट सन् २००८ मा नेपाली सिनेमामा प्रवेश गरेकी उनले अभिनय गरेका चलचित्र पनि हिट भएका छन् । उनी अहिले चलचित्रबाट टाढिएर व्यवसाय क्षेत्रमा जमेकी छन् । उनले लामो समयदेखि विभिन्न ठाउँमा हिमालय जावा ब्राण्डको कफी सप तथा क्याफे र रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेकी छन् । हिमालयन जावामा कफी, खाना, प्रख्यात छ भने बारिस्टा र बेकरीको प्रशिक्षणसँगै उपकरण बिक्री, फ्रेन्चाइज अवसर, मोबाइल एपमार्फत अर्डरको समेत सुविधा दिँदै आइरहेकाे छ । साथै उनको ‘अल्टिमोडिल’ भन्ने अनलाइन व्यवसाय, ‘ट्रिकी एण्ड पिंक्सी’ भन्ने एक ट्रेनिङ सेन्टर, इन्टिरियल डिजाइनिङको व्यवसाय पनि छ । 

केदार र जितु होटल व्यवसायमा 

केदारप्रसाद घिमिरे (माग्ने) र जितु नेपाल हाँस्य व्यङ्ग्य क्षेत्रमा चर्चित कलाकारको छवि बनाएका कलाकार हुन् । यी दुवै जनाले लेखन, निर्देशक तथा निर्माताको काम पनि गर्दै आएका छन् । घिमिरे टेलिसिरियल मेरी बास्सैबाट र नेपाल जीरे खुर्सानीबाट चर्चामा आएका हुन् । 

उनीहरू छक्का पञ्जा चलचित्रमा पनि सँगै थिए । उनीहरू दुवै जना रङ्गमञ्चसँगै होटल व्यवसायमा पनि जमेका छन् । उनीहरुको काठमाडौंको चेन क्याफे तथा होटल ‘ए वान’मा लगानी रहेको छ । ए वानले राम्रो आम्दानी गरिरहेको उनीहरुको धारणा छ ।  नेपालमा २०७२ मा विनाशकारी भूकम्प आएपछि व्यवसाय आवश्यक छ भन्ने महसुस गरेर होटल सञ्चालन गरेको उनीहरुको धारणा छ । 

सलोन बस्नेतको बार

बाल कलाकारको रुपमा सन् १९९९ मा ‘नेपाली बाबु’ चलचित्रबाट डेब्यु गरेका सलोन बस्नेत अहिलेका चर्चित नायकका रुपमा चिनिन्छन् । उनले तीन दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । अभिनेता बस्नेतको ललितपुरको पुल्चोकमा ‘बैठक लाउन्ज बार’ सञ्चालन गर्दै आएका छन् । उनले रेष्टुरेण्ट एण्ड बारबाट राम्रै आम्दानी भइरहेको प्रतिक्रिया दिँदै आएका छन् । उनको बुबा र काका पनि चलचित्र क्षेत्रमै सक्रिय छन् । 

पर्यटन व्यवसायमा रेजिना 

आफ्नो मान्छे चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका रेजिना उप्रेती पनि चर्चित अभिनेत्रीकै रुपमा परिचित छन् । उनले करिब पाँच दर्जन चलचित्रमा अभिनय गरेकी छन् । रेजिनाको पारिवारिक व्यवसाय नै ट्राभल एण्ड टुर हो । उनको एजेन्सीले युरोप, अमेरिका लगायतका देशमा ट्राभल तथा टुरको व्यवस्थापन गर्दै आएको छ । उनी पनि अहिले सोही व्यवसायमा सक्रिय छिन् । उनले पनि चलचित्रमा अभिनय गरेर मात्र कलाकारले जीविकोपार्जन गर्न नसकिने भएकोले साइड व्यवसायका रुपमा पर्यटन रोजेको बताउँदै आएकी छन् । 

करिश्मा मानन्धरको इलेक्ट्रोनिक्स व्यापार

नेपाली फिल्म क्षेत्रमा सदाबहार अभिनेत्रीको परिचय निर्माण गरेकी करिश्मा मानन्धर पनि व्यवसायमा आवद्द छिन् । उनले इलेक्ट्रोनिक्स सामानको व्यापार गर्दै आएकी छन् । उनले ‘रिसिक ट्रेडिङ कन्सर्न’ कम्पनीमार्फत व्यापार गर्दै आएकी छन् । यस कम्पनीले इन्टेक्स ब्रान्डका इलेक्ट्रोनिक्स सामानको बिक्री गर्छ । यो कम्पनी बोस ब्राण्डका होम सप्लायर्स, इन्टेरियर र भवन निमार्णका सामग्रीको आधिकारिक वितरक पनि हो । सन् १९८८ मा सन्तान चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी अहिले पनि सक्रिय छिन् । उनले दर्जनौं चलचित्रमा अभिनय गरेकी छन् । 

स्वास्थ्य र घरजग्गा कारोबारमा खुस्बु

नेपाली चलचित्रमा परिचित अभिनेत्री तथा गायिका हुन् खुस्बु खड्का । सन् २०१२ मा चलचित्रमा अभिनय गरेर यो क्षेत्रमा प्रवेश गरेकी उनले आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् । अहिले उनको ‘रियलस्टेट’ को व्यवसाय छ, साथै उनी स्वास्थ्य सामग्रीको समेत व्यापार गर्दै आएकी छन् । उनले विदेशबाट स्वास्थ्य सामग्री आयात गरेर नेपालमा बिक्री गर्ने गरेकी छन् । 

रेष्टुरेण्टमा नम्रताको लगानी

मोडलिङ, चलचित्रमा अभिनय तथा निर्माताको रुपमा पनि राम्रो परिचय बनाएकी नम्रता श्रेष्ठ पनि अहिले व्यवसायमा व्यस्त छिन् । उनले सन् २००८ बाट नेपाली चलचित्र सानो संसारमा अभिनय गरेर रङ्गमञ्चमा प्रवेश गरेकी थिइन् । उनले दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी छन् । थुप्रै हिट फिल्ममा अभिनय गरेकी नम्रताको काठमाडौंको ज्ञानेश्वरमा एटिक रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा छ । साथै यो रेस्टुरेन्टको लाजिम्पाट र ठमेलमा पनि शाखा रहेको छ । 

हँसाउने ठाउँमा केकीको लगानी 

अभिनेत्री केकी अधिकारी पनि कलाकारिताको अलावा टेलिभिजन कार्यक्रम निर्माणमा व्यस्त छिन् । बहुचर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्माताका रुपमा केकी सक्रिय छिन् । पछिल्लो समय दीपक श्रेष्ठको निर्देशन रहेको फिल्म ‘घिन्ताङ’को अभिनय सकेकी उनी चलचित्र निर्माताको रूपमा पनि परिचित छिन् । केकीले ‘कमेडी च्याम्पियन’नामक हँसाउने चर्चित टेलिभिजन रियालिटी शोमा निर्माताको रुपमा कार्यरत छिन् । 

घरजग्गा कारोबारमा भावना 

सन् २०१२ बाट ‘मस्ती’ चलचित्रमार्फत कला क्षेत्रमा सक्रिय बनेकी भावना गुरुङ पनि व्यवसायमा सक्रिय छिन् । विभिन्न चलचित्रमा राम्रो पफर्मेन्स गरेर चर्चा पाएकी उनी अहिले घरजग्गाको व्यवसायमा आबद्ध छिन् । उनले जीवनलाई सहज रुपमा अगाडि बढाउनुका लागि व्यवसाय गरेको बताउँदै आएकी छन् । 

वर्षा पनि व्यवसायमा 

नेपाली चलचित्रमा परिचित नाम हो वर्षा सिवाकोटी । सन् २०१४ ‘नाई नभन्नु ल २’ चलचित्रबाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी उनी त्यसपछि चर्चामा आएकी थिइन् । उनी मोडल पनि हुन् । वर्षा सिवाकोटीको नेपाल मेडिसिटि हस्पिटल अन्तर्गत स्किन सिटी नामको क्लिनिक छ । सो क्लिनिकको उनी प्रमुख कार्यकारी अधिकृत हुन् । यो क्लिनिकले छाला, कपाल र नङ्ग सम्बन्धी समस्याको उपचार गर्छ । सिवाकोटीको नेतृत्वमा स्किन सिटीले अन्य ठाउँमा पनि सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । 

रेष्टुरेण्ट र बुटिक व्यवसायमा पवित्रा 

चर्चित कोरियोग्राफरका रुपमा परिचित पवित्रा आचार्यले पनि अहिले व्यवसायमा व्यस्त छिन् । अभिनयलाई मुख्य पेशाका रुपमा अगाडि बढाइरहेकी उनले मोडलिङ, नित्याङ्गना, कोरियोग्राफीमा समेत राम्रो छाप बसालेकी छन् । उनले आधा दर्जन चलचित्रमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् । 

केही समय यता उनी नित्य बुटिक नामक व्यवसाय सञ्चालन गर्दै आइरहेकी छन् । उनले हातबाट निर्मित विभिन्न डिजाइनको कपडा बिक्री गर्ने गरेकी छन् । बुटिकका कपडाका लागि उनले अनलाइन सेवा पनि दिने गरेकी छन् । बुटिकसँगै उनको रेस्टुरेन्ट व्यवसाय समेत रहेको छ । उनले त्यसलाई खाली समयको सदुपयोग स्वरूप व्यवसाय गरेको बताउँदै आएकी छन् । 
  

Share News