काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडकखण्डमा ओभरलोडका कारण एकपछि अर्को गरी पुलहरू भाँचिँदै गएका छन् ।
पछिल्लो पटक नवलपरासीको मध्यविन्दु नगरपालिका- २ चोरमारास्थित गिरुवारी खोलामा रहेको १८४ मिटर लामो पुल ओभरलोडका कारण भाँचिएको छ ।
सोमबार राति पश्चिमबाट पूर्वतर्फ आइरहेको यात्रुबाहक बस पुलको बीच भागमा बिग्रिएपछि अन्य सवारीसाधनहरू पुलमै रोकिए । पुलले अत्यधिक भार थेग्न नसक्दा लच्किएर डेढ फिट तल झरेको र फलामका डण्डीहरूमा क्षति पुगेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले जानकारी दिए।
जहाँ चार महिनाकै अन्तरालमा दुईवटा ठूला फलामे पुल भाँचिएका छन् । पुल भाँचिएपछि पुनः नेपाली सडक र पुलको गुणस्तरको विषयमा बहस हुन थालेको छ ।
प्रमुख लामिछानेका अनुसार पुल डेढ फिट तल झरेको छ भने पुलको माथिपट्टिको भागमा रहेका फलामका डण्डीहरूमा क्षति पुगेको छ ।
उनले भने, ‘पुलको बीच भागमा पश्चिमबाट पूर्वतर्फ आइरहेको यात्रु बोकेको बस बिग्रियो । त्यहीँ बसका कारण अरू गाडी पुलमा जम्मा भएर रोकिए, पुल साँघुरो भयो । ओभरलोड थेग्न सकेन अनि पुल भाँचिन पुग्यो ।’
उनले पुलको क्षतिबारे अध्ययन गर्न सडक विभागबाट टोली आएको जानकारी दिए ।
पुलको स्थलगत अध्ययन गर्न सडक विभागबाट सिनियर डिभिजनल इन्जिनियर विशाल भट्टराईको टोली चोरमारामा पुगेको छ ।
उनका अनुसार पुलको अध्ययन गरेर विभागको टोली काठमाडौं फर्किसकेको छ ।
पुलको अध्ययनपछि भाँचिएको पुल चाँडै निर्माण हुने उनी बताउँछन् । उनले भने, ‘पुलमा त्यति ठूलो क्षति भएको छैन । अब पुल छिट्टै मर्मतका लागि नापजाँचको काममा लागिरहेका छौं । काम आजैदेखि सुरु भएको छ ।’ यो पुल विसं २०३१ मा निर्माण गरिएको थियो ।
यस्ता खालका पुलमा एउटा मात्रै भागले काम गरेन भने पनि सबै फेल हुनसक्ने सडक विभागका पुल अध्ययन गर्न गएको सिनियर डिभिजनल इन्जिनियर विशाल भट्टराई बताउँछन् ।
डाइभर्सनमार्फत् गाडी वारपार
पुल भाँचिएपछि सवारीसाधनहरूलाई चोरमार र अरुणखोलाबाट दायाँबायाँ डाइभर्सन गरेर आवागमन गराइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासीका सूचना अधिकारी तथा प्रहरी डिएसपी मधु नेपालले जानकारी दिए ।
उनका अनुसार मंगलबार रातिदेखि पुल नजिकैबाट ड्राईभर्सन निर्माण गरेर सबै प्रकारका सवारीसाधनहरु वारपार भइरहेका छन् ।
पुलको काम नहुँदासम्मका लागि उक्त वैकल्पिक मार्गको प्रयोग हुने उनी बताउँछन् ।
मध्यविन्दु नगरपालिका–२, चोरमारा बजार तथा अरुणखोलाबाट बाटो प्रयोग गरी सिधै राजमार्गमा निस्कने गरी डाइभर्सन निर्माण गरिएको हो ।
४० दिनमा विनयी खोला पुलमा गाडी गुड्ने
यसअघि गत वर्षको पुस २६ गते पनि भारतीय हेभी ट्रक पास हुने क्रममा दुम्किबासस्थित विनयी खोलाको पुल पनि यसैगरी भाँचिएको थियो । उक्त पुलको निर्माण हाल भइरहेको पुल मर्मत आयोजनाका इन्जिनियर शिव खनालले बताए ।
उनका अनुसार पुलको लगभग ७० प्रतिशत काम सम्पन्न भइसेको छ । उनी भन्छन्, ‘पुलको काम सोचेअनुरूप भइरहेको छ । हाल ढलानको काम गरिरहेका छौं । अबको ४० दिनभित्र पुलमा गाडी गुड्छ ।’
उक्त भारतीय हेभी ट्रकमा सामान ल्याउने कम्पनी शिवम् सिमेन्टले सरकारलाई ८६ लाख रुपैयाँ क्षतिपूर्ति समेत तिरेको थियो । पुल भाँचिएपछि बनाइएको डाईभर्सन पनि दुई पटकसम्म खोलाले बगाएको थियो ।
बारबार पुलमा समस्या
झन्डै तीन वर्षअघि पनि चोरमारा पुलमा प्वाल परेको थियो ।
यसैगरी, नवलपुरको गैंडाकोटको जयश्रीपुल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला ओभरलोडकै कारण भाँचिएका थिए । जीर्ण अवस्थामा रहेका यी पुल विगत १० वर्षदेखि मर्मत गर्दै सञ्चालनमा ल्याउने गरिएको छ ।
के भन्छन् पूर्वाधार विज्ञ ?
पूर्वाधार विज्ञ रामप्रसाद घिमिरेले सुरुमा पुल निर्माण गर्दा सानो क्षमताका गाडी हेरर पुलको डिजाइन गरिएको बताउँछन् । यस्तो अवस्थामा हेभी गाडीमा ओभरलोड गरेर सामान ल्याउँदा पुल भत्किनु स्वाभाविकै मान्छन् उनी ।
यसैगरी, नदीखोलामा गिट्टी बालुवा निकाल्नाले तलको फाउन्डेसन (आधारभूत संरचना) समेत बिग्रने हुनाले यस्ता खालका समस्याहरू आउने गर्छन् ।
उनी ठूला ओभरलोड तथा हेभी गाडीहरू पुलमा चल्न रोक लगाइनुपर्ने बताउँछन् ।
उनले भने, ‘ठूला आभरलोड तथा हेभी गाडी पुलमा चलाउन दिनु हुँदैन । यदि चलाउनैपर्ने भएमा डाईभर्सन निर्माण गरेर चलाइनुपर्छ । यस्तो व्यवस्थापन गर्न सकिएन भने पुल पुनः निर्माणको विकल्प नै छैन ।’
उनका अनुसार खासगरी महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ र अरनिको राजमार्गका ५० वर्ष नाघेका पुलहरूमा यी र यस्ता घटना नियमित हुने जोखिम रहेको बताउँछन्।
के छ कानुनी व्यवस्था ?
कानुनी व्यवस्थाअनुसार भारवहन अनुगमन तथा नियन्त्रणका लागि सम्बन्धित निकायहरूले व्यक्ति, फर्म वा कम्पनीहरूले स्थापना गरेका तौलपुलको प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ ।
भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ अनुसार मालवाहक सवारीसाधनको अगाडिको ‘एक्सल’ को अधिकतम’ एक्सल लोड’ छ मेट्रिक टनभन्दा बढी हुनु हुँदैन ।
उक्त नियमले पछिल्लो समय प्रतिएक्सल (चार पाङ्ग्रा) १०.२ मेट्रिक टन वजन राखेर सवारीसाधन सडकमा सञ्चालन गर्न सकिने जनाएको छ ।
सो निर्देशिकाको अनुसूचीमा पाँच एक्सल (१८ पाङ्ग्रा) भएका सवारीसाधनको भारवहन क्षमता ४० .२ मेट्रिक टन रहने उल्लेख गरिएको छ ।
सर्वाधिक वजन परिकल्पना गरिएको यस्तो सवारीसाधनमा अगाडिको एक्सलमा दुई पाङ्ग्रा, बीचको एक्सलमा चार पाङ्ग्रा र पछाडिको तीनवटा एक्सलमा १२ पाङ्ग्रा रहने उल्लेख छ ।
तर उक्त अनुसूचीको सवारीले बोक्न पाउने अधिकतम वजन सवारीको अगाडिको वा अन्य दुईपाङ्ग्रा जोड्ने एक्सल, एकल एक्सल, ट्यान्डम एक्सल र ट्राइडम एक्सलको योगफल हुने भनिएको छ। उक्त मापदण्ड अनुसार अधिकतम कुल वजन ५९.२ टन हुन आउँछ ।