काठमाडौं । तपाईंको फेभरेट चिया कुन हो ? यो प्रश्न अहिले काठमाडौंका युवाबीचको सबैभन्दा प्रचलित ‘आइसब्रेकर’ जस्तो बनिसकेको छ । अदुवा, मसला, ब्ल्याक, लेमन, ग्रीन, मट्का, बबल वा ‘डम्प टी’ ! नाम जेसुकै होस्, भेटघाट गर्ने थलो भने चिया पसल नै । अहिले युवा जगतको आदत बनेको छ चियाको चुस्की र चुरोट । स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएपनि काठमाडौंको अधिकांश ठाउँमा खुलेका चिया पसलमा चिया र चुरोटसँग मस्त देखिन्छ युवा पुस्ता ।
कसैले चिया पिउँछ थकान मेट्न, कसैले गफको बहाना गर्न, कसैले तनाव मुक्त गर्न, कसैले टाइम पास गर्न त कसैले चिया पिउँछन् आदत भुलाउन र मन डुलाउन । जे होस्, अहिले काठमाडौंमा सबैभन्दा बढी व्यापार कुनै चिजको चम्केको छ भने त्यो हो चियाको । गन्हाउने काठमाडौंका गल्लीगल्लीमा उकुसमुकुस बनेर चियाको बाफ सुँघ्न युवा जगत लागि परेको छ । जहाँ चियाको स्वादमात्रै होइन, सम्झना र सम्भावनाको बातचित पनि पर्याप्त बुनिन्छन् ।
स्कुले जीवनका चार जना साथीहरू, जुन समयसम्म उनीहरू जीवनको दिशाबारे मात्र होइन, चियाको स्वादबारे पनि निश्चित थिएनन् । स्कुले जीवन सकिएसँगै उनीहरूको गोरेटो पनि बदलियो । तर, सपना भने बदलिएन । स्कुले जीवनमा छुटिएका चार जना साथीहरू पनि मिलेर ललितपुरको इमाडोलमा दुई वर्षअघि खोले ‘चिया पसल’ ।
सिंगो घर, सेकेन्ड ह्यान्ड सामान र केही गरौं भन्ने हुटहुटी भएका चार जना युवाले खोलेको चिया पसलले अहिले राम्रै कमाइ गरिरहेको छ । उनीहरूले अहिले कपनमा पनि एउटा चिया पसलको शाखा खोल्न भ्याइसकेका छन् ।
उनीहरू फरक-फरक पेसामा छन् । समय र स्रोतको उपयोग गरेर चिया पसलमा लगानी गरिरहेका छन् । चिया पसललाई विस्तार गर्दै लैजाने योजना छ उनीहरूको ।
उनीहरूले पकाएको चिया सबैले मन पराएका छन् । शिक्षक, विद्यार्थी, अन्य र घरपरिवारले पनि चिया पसलमा चिया पिउने गरेको सञ्चालक अनिश सुवेदीले बताए । चियासँगै आलुचप, समोसा, पकौडा र भेज मःम बिक्री गर्ने गरेका छन् ।
चिया पसलजस्तै युवाहरूको जमघटको केन्द्र बनेको छ ‘चिया बाटिका’ । घट्टेकुलो चोक नजिकै रहेको चिया बाटिका अहिले स्थानीय युवाहरूको जमघटको केन्द्र बनेको छ । जहाँ चियामात्रै होइन विभिन्न खेलको पनि सुविधा छ ।
लुँडो, चेस र क्यारमसँगै विभिन्न खेलहरू राखेर सञ्चालकले युवाको ध्यान तानेका छन् । पाँच जना साथी-दाजुभाइ मिलेर सुरु गरिएको ‘चिया बाटिका’ अहिले रमाइला गफ र खेलले भरिएको मिनी क्लब बनेको छ ।
पाँच महिनाअघि खोलिएको चिया बाटिकाले राम्रो व्यापार गरिरहेको छ । सञ्चालक अनिश माझीका अनुसार अहिले दैनिक चार हजार बढीको व्यापार हुने गरेको छ । पाँच जना दाजुभाइ तथा साथीहरू मिलेर खोलिएको चिया बाटिकामा अहिले साँझ ९ बजेसम्म युवाहरूको भीड लाग्ने गरेको छ ।
माझी भन्छन्, ‘कुनै बेला विदेश जाने सोच थियो । अब विदेश गए पनि केही सीप सिकेर स्वदेशमै केही गर्नुपर्छ भन्ने मानसिकता बनिसक्यो, देशमै केही पृथक काम गर्न सकिन्छ भन्ने जाँगर आइसक्यो ।’
काठमाडौंको थापागाउँमा सञ्चालित ‘रस्टटी चिया’को चियाको स्वादमा पनि युवाहरू लिप्त बनिसकेका छन् । जसले चिया मात्र होइन, लोकल स्वाद पनि बिक्री गर्ने गरेको छ ।
‘रस्टटी चिया’का सञ्चालक विवश रायमाझी पहिलेदेखि नै व्यापार गरिरहेको बताउँछन् । ‘पहिला घरको माथिनिर सानो पसल थियो, अहिले भीड बढ्न थालेपछि यसलाई विस्तार गर्यौं,’ उनले भने, ‘ पहिलेको तुलनामा अहिले चिया पिउनेको संख्या धेरै बढेको छ ।’
मसला चिया, चटपटे, आलुचप र बटारे यस चिया पसलका उत्पादन हुन् । जहाँ शिक्षक, विद्यार्थी, अफिसर र व्यापारीहरु पनि आउने गरेका छन् । उनले पनि नेपालमा धेरै सम्भावना रहेकोले काम गर्न सकिने धारणा राखे ।
बुद्धनगरको चिया गुफाको पनि आफैमा रहस्यमयी नाम छ । नाममै रहस्य र कथा पनि छ । सो चिया पसलका सञ्चालक महेन्द्र खड्का एक दिन साथीसँग चिया पिउँदै गफिरहेका थिए । त्यतिबेलै उनको साथीले भने, ‘पाँच दिनपछि मेरो चिया पसलको ओपनिङ छ निमन्त्रणा छ ।’
महेन्द्रले सो कुरा सुनेपछि आफ्नो साथी आफूभन्दा एक स्टेप अगाडि भएको महसुस गरे । त्यहाँबाट उठ्ने बित्तिकै साथीभन्दा अगाडि चिया पसल खोलेर देखाउने प्रतिज्ञा गरे । त्यसपछि सुरु गरे ‘लोकेसन’ खोज्न ।
बालकुमारीमा ठाउँ भेट्टाए र साथीको भन्दा अगाडि पसल सुरु गरे । ‘बाघ गुफामा बस्छ र गुफामा ढोका हुँदैन, ग्राहकलाई पनि केही प्राइभेट ठाउँमा बस्न मनपर्छ, सोही कारणले मैले पसलको संरचना नै त्यस्तो बनाएँ,’ उनले भने, ‘रङ्ग पनि कालो र सेतो मात्र प्रयोग गरें ।’
उनको पसलमा ८० प्रतिशत ग्राहक युवा नै हुन् । सूचना प्रविधि क्षेत्रमा काम गर्ने बढी आउने गरेको उनले सुनाए । एक वर्ष अगाडि मात्रै उनले पसल सारेर बुद्धनगर ल्याएका छन् । अहिले बुद्धनगरमै पसल राखेका छन् ।
शंखमूलमा रहेको टी टक पनि अहिले युवाको रोजाइमा छ । स्कुले साथीहरू अंकित, राहिन र निसानको संयुक्त प्रयासले सञ्चालनमा आएको टी टकमा अहिले युवाहरूको भीड लाग्छ ।
उसो त उनी आफू पनि यसअघि चिया पसलमा गएर चिया पिउँदै गफ गर्थे । त्यसैबाट आफूहरूले पनि चिया पसल खोल्ने योजना उनीहरूले बनाए । चियाको चुस्की सँगैको गफगाफले उनीहरूलाई व्यवसायी बनायो । अब उनीहरू यसको शाखा विस्तार गर्ने योजना बुनिरहेका छन् ।
उनीहरू पनि युवाहरू विदेश जानुको सट्टा नेपालमै केही रचनात्मक काम गर्न सुझाव दिन्छन् । उनीहरू चियालाई एउटा आदतभन्दा पनि आफूलाई रचनात्मक र सिर्जनशील बनाउने एउटा प्लेटफर्मका रुपमा अगाडि बढाउन सुझाव पनि दिन्छन् ।
अहिले काठमाडौंका गल्लीगल्लीमा खोलिएका नयाँ-नयाँ चिया पसलहरू स्वाद र सम्बन्धका सारथीमात्रै बनिरहेका छैनन्, संघर्ष र सफलताका संवाहक पनि बनिरहेका छन् । नयाँ चिया संस्कृतिले युवाहरूको सोच र सिर्जनासँगै सम्भावनालाई सार्थक बनाउने साहस पनि दिइरहेको छ ।