काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नेतृत्व परिवर्तनपछि बजारमा इन्भर्टर र जेनेरेटरको माग दोब्बरले वृद्धि भएको व्यवसायीहरूले बताएका छन् । प्राधिकरणको नेतृत्व परिवर्तनसँगै उद्योग क्षेत्रमा दैनिक १२ घण्टा लोडसेडिङ हुँदा सर्वसाधारणको घरमा अघोषित लोडसेडिङ भइरहेको छ ।
सरकारले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दिएपछि एकातिर प्राधिकरण आर्थिक संकटमा परेको छ भने अर्कोतिर सर्वसाधारणको घरमा लोडसेडिङ ब्यूँतिएको छ ।
गत शुक्रबार प्राधिकरणमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले मूलतः लोडसेडिङ कै विषय उठाए । कार्यक्रममा सहभागी राजाराम तण्डुकारले पछिल्ला समय नियमित लोडसेडिङ भएकोमा आक्रोस पोखे । लोडसेडिङ गर्नै पर्ने अवस्था हो भने किन लोडसेडिङको तालिका सार्वजनिक नगरेको भनि प्रश्न गरे ।
तर प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पहिलाको तुलनामा बढी बिजुली जाने समस्या नरहेको दावी गरे । ‘विभिन्न कारणले समय-समयमा बत्ति जान सक्छ तर त्यसलाई लोडसेडिङ भएको भन्न मिल्दैन,’ उनले जवाफमा भने ।
लोडसेडिङ वृद्धि भएपछि इन्भर्टर तथा जेनेरेटरको व्यापार वृद्धि भएको छ । अशोक लेल्याण्डको आधिकारिक बिक्रेता आईएमई मोर्टसका सेल्स हेड सेचन ढकाल अहिले जेनेरेटर र इन्भर्टरको व्यापार दोब्बरले बढेको बताउँछन् । ‘आजभोलि जेनेरेटर र इन्भर्टरको माग बढिरहेको छ । दैनिक १०/१५ जना जेनेरेटर खरिदका लागि आउने गरेका छन्, विगतका महिनामा दैनिक औसतमा ५ जनासम्म आउँथे, इन्भर्टर किन्ने ग्राहक धेरै हुनुहुन्छ,’ उनले भने ।
ढकालका घरायसी ग्राहकदेखि उद्योगी समेतले जेनेरेटर र इन्भर्टरको माग गरिरहेका छन् । डिपार्टमेन्टल स्टोर, हाउजिङ, होटल, कार्यालयलगायत अन्य प्रयोजनका लागि पनि जेनेरेटर र इन्भर्टरको माग भइरहेको उनले सुनाए ।
महिन्द्रा ग्रुपको आधिकारिक बिक्रेता अग्नि मोटो इंकका महाप्रबन्धक प्रत्युष श्रेष्ठ पछिल्लो समय अघोषित लोडसेडिङ बढ्दै गएपछि जेनेरेटर, इन्भर्टरलगायत ऊर्जाका वैकल्पिक साधनको माग ह्वात्तै बढेको बताए ।
‘यसअघि महिनामा एउटा/दुइटा मात्रै जेनेटर बिक्री हुन्थ्यो । तर, अहिले हप्तामा ३/४ वटासम्म बिक्री हुन थालेको छ,’ उनले भने । नेपाली बजारमा अहिले महिन्द्रा, आइसर, क्रिलोस्कर, पारवल ब्राण्डका इन्भर्टर तथा जेनेरेटर खरिद बिक्री हुने गरेका छन् ।
कुलमान प्राधिकरणमा आउनुअघि सर्वसाधारणले दैनिक १८ घण्टाको लोडसेडिङको समस्या खेप्नुपरेको थियो । त्यतिबेला मासिक ७ अर्बभन्दा बढीको इन्भटर र जेनेरेटर आयात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ । लोडसेडिङको अन्त्यसँगै यस्तो व्यापार नगन्य भएको थियो ।
ईभीलाई पनि समस्या
बिजुली नियमित नहुँदा विद्युतीय गाडी (ईभी) धनीलाई पनि समस्या भएको छ । विद्युतीय माइक्रोबस व्यवसाय गर्दै आएको सिन्धुली दूधौली नगरपालिकाका अमर गुरुङले लोडसेडिङका कारण व्यवसाय गर्न कठिन भएको बताए ।
उनले काठमाडौंदेखि दुधौलीसम्मको रुटमा दुइटै विद्युतीय माइक्राे बस चलाउँदै आएका छन् । तर, पछिल्लो समयमा दैनिक रूपमा आधा घण्टादेखि दुई घण्टासम्म बिजुली अवरुद्ध हुन थालेपछि गाडी चार्ज गर्न समस्या भइरहेको दुखेसो उनले सुनाए ।
‘पहिला उत्साही भएर गाडी खरिद गरियो, अहिले समयमै चार्ज गर्न पाइएको छैन । अघोषित लोडसेडिङले हाम्रो व्यवसाय चौपट पार्ने डर लागिरहेको छ,’ उनले भने ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजन पनि प्राधिकरणमा कुलमान छँदा नगएको बत्ति अहिले दैनिक रूपमा जान थाल्नु स्वार्थसमूहको चलखेल भएको बताउँछन् । ‘कुलमान प्राधिकरणमा हुँदा लोडसेडिङ भएन तर अहिले नियमित बिजुली अवरुद्ध भइरहेको छ । यसमा व्यावसायिक राजनीति भइरहेको छ, जसका कारण उपभोक्ताहरू जेनेरेटर र इन्भर्टर खरिद गर्न बाध्य छन् । सरकारले जनतामाथि लोडसेडिङ गरेर आर्थिक भार थपिरहेको छ,’ उनले भने ।
लोडसेडिङ भएको छैन : प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले भने हाल देशभर विद्युत आपूर्तिमा कुनै समस्या नभएको दाबी गर्दै आएको छ । प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले घरायसी ग्राहकका लागि २४ सै घण्टा विद्युत सेवा उपलब्ध रहेको र आगामी दिनमा पनि लोडसेडिङ नहुने जिकिर गरे ।
प्राधिकरणका अनुसार कुल विद्युत जडित क्षमता ३ हजार ५१२ मेगावाट भए पनि उत्पादन औसतमा १ हजार १७५ मेगावाट रहेको छ भने विद्युतको उच्च माग २ हजार ७७ मेगावाट पुगेको छ । बाँकी माग भारतबाट विद्युत आयात गरी पूर्ति गरिँदै आइएको छ ।