काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा पछिल्लो समय नेतृत्व तहमा काम गर्ने कर्मचारीहरूमा रूपान्तरण भइरहेको छ । ठूला वाणिज्य बैंकदेखि, विकास बैंक र वित्त कम्पनीमा नेतृत्व गर्नेहरू अन्य संस्थामा नेतृत्व गर्न पुगेका थुप्रै उदाहरणहरू छन् । ती विभिन्न क्षेत्रमध्ये बीमा क्षेत्र पनि एक हुन् ।
त्यसो त बैंकिङ र बीमा क्षेत्र आर्थिक प्रणालीका दुई महत्त्वपूर्ण भाग हुन् । यी दुवैको भूमिका र कार्यशैलीमा भन्ने भिन्नता छ । नेपालको बीमा क्षेत्र बैंकिङ क्षेत्रको तुलनामा केही पछि विकसित हुन थालेको हो । त्यसअर्थमा बीमाको विकास र विस्तार बैंकिङको तुलनामा केही पछाडि छ ।
बैंकिङ क्षेत्रकै कुरा गर्ने हो भने यसको पहुँच आममानिसमा पुगिसकेको छ । यसको बजार व्यापक भइसकेको छ । बीमामा भने अझै त्यो अवस्था छैन । अझै पनि ठूलो जनसंख्या बीमाको दायरमा आउन बाँकी छ ।
बैंकिङ क्षेत्रमा लामो समय काम गरेर बीमा क्षेत्रमा प्रवेश गरेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूमध्ये सबैले उत्कृष्ट गर्न नसके पनि सकारात्मक प्रभाव भने जमाउन सकेका छन् । बैंकिङबाट बीमा क्षेत्रमा प्रवेश गरेका केही सीईओहरूले राम्रो पफर्मेन्स गरिरहेका छन् ।
ती सीईओहरुले बैंकिङ क्षेत्रमा बटुलेका अनुभवलाई प्रयोग गरेर कम्पनीलाई व्यावसायिक सफलता, आक्रामक बजार विस्तार गर्न सफल भएका हुन् । हुन त बीमा क्षेत्रबाटै करिअर सुरु गरेर यही क्षेत्रमा लामो समय काम गरिसकेका सीईओहरू नभएका होइनन् । बीमा क्षेत्रबाटै आएका सीईओहरूले पनि कम्पनीलाई हाँकिरहेका छन् । कम्पनीको रणनीतिक योजना, बजार विस्तारदेखि कम्पनीको हरेक व्यावसायिक वृद्धिमा उल्लेखनीय काम गरिरहेका छन् । यस समाचार सामग्रीमा बैंकिङ पृष्ठभूमिबाट आएर बीमा क्षेत्रमा प्रवेश गरेर अहिले नेतृत्व गरिरहेका सीईओ र उनीहरूको नेतृत्वमा कम्पनीले गरेको व्यवसायीको विषयमा चर्चा गरिएको छ ।
अशोक खड्का
नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का बैंकिङ क्षेत्रबाट आफ्नो करिअरको सुरुवात गरेका हुन् । नेकोमा आउनुअघि खड्का माछापुच्छ्रे बैंकमा कार्यरत थिए । सन् १९९४ बाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका खड्काले तत्कालीन इन्डोसेज बैंक हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट जागिर सुरु गरेका थिए । त्यसपछि उनी विभिन्न संंस्थामा शाखा प्रबन्धक हुँदै कर्मसियल बैंकमा सहायक व्यवस्थापक भएका थिए ।
खड्काले डिजिटल बैंकिङको विस्तारमा विशेष भूमिका निभाएका थिए । त्यस्तै विभिन्न बैंक तथा वित्तीय संस्थाका कार्यरत रहँदा खड्काले संस्थाको विकास, वित्तीय अनुशासन र जोखिम व्यवस्थापनमा विशेष योगदान पुर्याएका थिए ।
नेकोमा खड्का पहिलोपटक नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएका थिए । वि.सं २०७६ साल साउनमा उनी सीईओको रूपमा नियुक्त भए । पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकै कारण उनले दोस्रो पटक सीईओको जिम्मेवारी पाए । दोस्रोपटक खड्का वि.सं २०८० सालमा सीईओमा नियुक्त भएका हुन् ।
उनले आफ्नो कार्यकालमा कम्पनीलाई एउटा उचाइमा पुर्याउन सफल भएका छन् । आर्थिक वर्ष २०७६/७७ मा ४८ करोड २६ लाख २२ हजार रुपैयाँ खुद नाफा गरेको नेको इन्स्योरेन्सले त्यसपछिका वर्षहरूमा निरन्तर नाफा बढाउँदै लगेको छ । आव २०८०/८१ सम्म आइपुग्दा कम्पनीको खुद नाफामा ४८ करोड रुपैयाँबाट एक अर्ब रुपैयाँ पुर्याएको छ । यसरी पाँच आर्थिक वर्षसम्ममा आइपुग्दा कम्पनीको नाफामा १०७.७० प्रतिशतको वृद्धि देखिन्छ ।
त्यस्तै, आव २०७६/७७ मा एक अर्ब ९९ करोड ५० लाख कुल बीमा शुल्क संकलन गरेको कम्पनीले आव २०८०/८१ मा आइपुग्दा २ अर्ब ९५ करोड २४ लाख रुपैयाँ पुर्याएको छ ।
कुल दाबी भुक्तानीमा पनि कम्पनीले राम्रो पफर्मेन्स गरेको तथ्यांकबाट देखिन्छ । आव २०७६/७७ मा ७६ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले आव २०८०/८१ मा आइपुग्दा १३५.११ प्रतिशतले बढेको छ । कम्पनीले आव २०८०/८१ मा एक अर्ब २४ लाख रुपैयाँ कुल दाबी भुक्तानी दिन सफल भएको छ ।
प्रवीण रमण पराजुली
नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रवीणरमण पराजुली पनि बैंकिङ पृष्ठभूमिबाट आएका हुन् । उनीसँग नेपालको वित्तीय र बीमा क्षेत्रमा २० वर्ष काम गरेको अनुभव छ । उनले नेपाल लाइफमा २०७९ साउन ४ गतेदेखि सीईओको कार्यभार सम्हाल्दै आएका छन् । सीईओमा नियुक्त हुनुअघि पराजुली नेपाल लाइफमा डीसीईओका रूपमा काम गरेका थिए ।
नेपाल लाइफमा जागिर सुरु गर्नुअघि पराजुलीले रिलायन्स लाइफ इन्स्योरेन्समा चार वर्ष सीईओका रूपमा नेतृत्व गरिसकेका छन् । उनी रिलायन्स लाइफमा विंस २०७४ पुस २ मा सीईओमा नियुक्त भएका थिए । रिलायन्स लाइफमा रहँदा उनी कम्पनीलाई थप उचाइमा पुर्याउन सफल भए ।
बीमा क्षेत्रमा प्रवेश गर्नुअघि पराजुली बैंकिङ क्षेत्रमा थिए । विं.स २०६० मा एनएमबि बैंक लिमिटेडमा काम गरेका पराजुलीले विंस २०६३ देखि २०६६ सम्ममा कम्पनीको प्रमुख-लगानी अधिकृतको रूपमा काम गरेका थिए ।
त्यसपछि नबिल बैंकमा मर्चेन्ट बैंकिङ प्रमुखको रूपमा काम गरेर उनी विंस २०६७ देखि २०७४ सालसम्म नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको सीईओ भएर काम गरेका थिए ।
पराजुलीले काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबाट वित्तमा एमबीए गरेका छन् । उनले चण्डीगढको डीएभीबाट सिनियर स्कूल सर्टिफिकेट परीक्षा र भारतको मंगलोर विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापनमा स्नातक गरेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० मा २ अर्ब १ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले खुद नाफा ५.८४ प्रतिशतले बढाएर २ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै, आव ८०/८१ मा कम्पनीको कुल बीमा शुल्क संकलन ९.९२ प्रतिशतले बढेको छ ।
आव २०७९/८० मा ३७ अर्ब १६ करोड २८ लाख रुपैयाँको व्यवसाय गरेको कम्पनीले आव आव ८०/८१ मा ४० अर्ब ८४ करोड रुपैयाँको व्यवसाय गरेको छ । कम्पनीको जीवन बीमा कोष आव २०८०/८१ मा आइपुग्दा २० प्रतिशतको वृद्धि भएर १ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
नारायणबाबु लोहनी
रिलायबल लाइफ इन्स्योरेन्सका सीईओ नारायणबाबु लोहनी रिलायबल लाइफमा पहिलो पटक २०७४ सालमा सीईओमा नियुक्त भएका थिए । त्यसपछि उनी दोस्रो पटक २०७८ साल साउन १९ गते सीईओको रूपमा दोस्रो कार्यकालका लागि काम सुरु गरेका हुन् ।
बीमा क्षेत्रमा प्रवेश गर्नुअघि लोहनीसँग एक दशकभन्दा बढी बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव छ । उनले रिलायबल फाइनान्स लिमिटेड र रिलाइबल विकास बैंकमा सीईओ भएर काम गरेका थिए ।
लोहनीले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । आफ्नो नेतृत्व कार्यकालमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सकारात्मक प्रगति गरेको छ । उनले कम्पनीको संस्थागत विकासमा अग्रणी भूमिका निभाएका छन् । साथै उनले उनकै नेतृत्वमा कम्पनीको खुद नाफा पाँच करोड ४९ लाख रुपैयाँबाट ४२ करोड रुपैयाँ पुगेको छ । आव २०७५/७६ मा कम्पनीको खुद नाफा ५ करोड ४९ लाख रुपैयाँ थियो । ६ वर्षको अवधिमा कम्पनीको नाफा ६७ प्रतिशतले बढेर ४२ करोड रुपैयाँ पुगेको हो ।
त्यस्तै, कुल बीमा संकलन २०७.१९ प्रतिशतले वृद्धि भई ४ अर्ब २० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, उनको नेतृत्वमा कम्पनीको जीवन बीमा कोष ७१ करोड ९८ लाख रुपैयाँबाट १० अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
शिवनाथ पाण्डे
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे बैंकिङ पृष्ठभूमिका हुन् । पाण्डे सानिमा रिलायन्समा सानिमा रिलायन्समा २०७९ साल चैत्र ९ गते नियुक्त भएका थिए । यसअघि उनले सूर्या लाइफ इन्स्याेरेन्समा चार वर्ष काम गरिसकेका छन् ।
बीमा कम्पनीमा काम गर्नुअघि उनी लामो समय नेपाल राष्ट्र बैंकमा जागिरे थिए । पाण्डेसँग नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेको अनुभव उनीसँग छ । उनी राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका थिए । त्यस्तै, उनी २० बर्षदेखि बैंकिङ क्षेत्रमा व्यवस्थापकीय पदमा कार्यरत थिए ।
पाण्डेले सूर्या लाइफ इन्स्याेरेन्समा रहँदा कम्पनीको वित्तीय सुधार, संस्थागत सुधारमा उल्लेखनीय परिर्वतन ल्याएका थिए । त्यस्तै उनकै कार्यकालमा सूर्या लाइफले प्राधिकरणले तोकिएको चुक्तापुँजी पुर्याउन सफल हुनुका साथै कम्पनीलाई थप प्रतिस्पर्धी बनाउनमा योगदान पुर्याएका थिए ।
सीईओ पाण्डेले सानिमा रिलायन्समा २ कार्यकाल बिताएर तेस्रो कार्यकाल सम्हालिरहेका छन् । आफ्नो कार्यकालमा पाण्डेले अब्बल गर्न नसके पनि कम्पनीको वित्तीय, संस्थागत सुधार र बजार विस्तारमा सकारात्मक प्रगति गरेको देखिन्छ । दुई आर्थिक वर्षमा कम्पनीको नाफामा उल्लेखनीय वृद्धि देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० कम्पनीले २७ करोड १३ लाख रुपैयाँ नाफा गरेकोमा आव २०८०/८१ मा नाफा ८५ प्रतिशतले बढेर ५० करोड ४५ लाख ८४ हजार रुपैयाँ पुगेका देखिन्छ ।
सीईओ पाण्डेको नेतृत्वमा कम्पनीले आव २०८०/८१ मा ६ अर्ब १८ करोड ५७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । जुन आव २०७९/८० को तुलनामा १० प्रतिशतको वृद्धि हो । त्यस्तै कम्पनीले दुई आवमा जीवन बीमा कोष ३९.३४ प्रतिशतले बढाएर १४ अर्ब १५ करोड तीन लाख रुपैयाँ पुगेको छ । आव २०८०/८१ मा कम्पनीको जीवन बीमा कोष १० अर्ब १५ करोड ५४ लाख रुपैयाँ थियो ।
दिनेशलाल श्रेष्ठ
एशिएन लाइफको सीईओको रूपमा कार्यरत छन् दिनेशलाल श्रेष्ठ। उनीसँग बैंक तथा बीमा क्षेत्रमा एक दशकभन्दा बढी लामो अनुभव छ ।
बीमा कम्पनीमा प्रवेश गर्नुअघि श्रेष्ठ गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीमा सीईओका रूपमा कार्यरत थिए । उनले उक्त फाइनान्समा १९ वर्ष सीईओ भएर काम गरे । उनले त्रिभुवन विश्वविद्यालयबाट वित्तमा एमबिए गरेका छन् ।
उनी एशिएन लाइफमा पहिलो पटक २०७७ सालमा र दोस्रोपटक २०८१ माघमा सीईओमा नियुक्त भएका हुन् । उनले कम्पनीको व्यवसायमा गरेको वृद्धिले नै सीईओका रुपमा दोस्रो काम गर्ने अवसर पाए । सीईओ श्रेष्ठले आफ्नो कार्यकालमा कम्पनीको व्यवसायमा सन्तोषजनक नै प्रगति गरेको देखिन्छ ।
सीईओ श्रेष्ठको नेतृत्वमा कम्पनीले चार वर्षको अवधिमा ३५ प्रतिशतले व्यवसाय बढाएको छ । कम्पनीले आव २०७७/७८ मा ५ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा गरेकोमा आव २०८०/८१ को दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५ करोड रुपैयाँ गरेको छ ।
चार वर्षको अवधिमा कम्पनीको जीवन बीमा कोष ४२ करोड ९९ लाख रुपैयाँ पुगेको छ । आव २०७७/७८ मा कम्पनीको जीवन बीमाकोष २६ अर्ब १३ करोड ४७ लाख रुपैयाँ थियो ।
कम्पनीको वित्तीय विवरणअनुसार आव २०७७/७८ का कम्पनीले खुद बीमा शुल्क ३३ करोड ७८ लाख रुपैयाँ आर्जन गरेकोमा आव २०८०/८१ मा घटेर ३२ करोड ८५ लाख रुपैयाँ मात्रै कमाएको छ । आव २०७९/८० मा भने कम्पनीले ३७ करोड ६७ लाख रुपैयाँ कमाएको थियो ।