काठमाडौँ । प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न १२ भारतीय नागरिकलाई पक्राउ गरेको छ । साइन ग्रुपका नाममा अवैध नेटवर्किङ व्यवसाय चलाइरहेका उनीहरूलाई प्रहरी परिसर काठमाडौंले शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ परेकामा साइन ग्रुपको प्रमुख कार्यकारी निर्देशक बताउने नयाँदिल्ली घर भएका रसिद नसिम, भारतको इलाहबादका अजितकुमार सिंह र मोहमद सारजिल, छत्तिसगढका निरजकुमार मिश्र, गिरीश उपाध्याय र आयुष उपाध्याय, उत्तरप्रदेश घर भएका अशोक कुमार र रमेश रामा, उत्तर प्रदेशकै सुनिल उपाध्याय र कासिफ सकिल, बैंग्लोर घर भएका महेन्द्र सिंह र ठेगाना प्रस्ट नभएका भारतीय नागरिक गजेन्द्र कुमार छन् ।
उनीहरूले नेटवर्क विस्तार गर्न भन्दै एक सय ७० जना भारतीयसहित करिब तीन सयलाई तालिम दिँदै थिए । यो समूहले दुबईमा प्रधान कार्यालय तथा भारतको लखनउ, हङकङ र मौरिससमा शाखा कार्यालय रहेको बताउँदै पिरामिड शैलीको नेटवर्क व्यवसाय विस्तार गर्न खोजेको प्रहरीको दाबी छ ।
अभिमुखीकरण शैलीको कार्यक्रममा १२ सय ५० डलर जम्मा गरेर खाता खोल्न सकिने, जसमा कम्पनीले त्यति नै रकम थप गरिदिने र ६ महिनापछि क्रेडिट कार्ड पाइने बताइएकोथियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।