
कास्की । पोखरामा १८५०० जना दर्शक क्षमता भएको अन्तराष्ट्रिय स्तरकाे फुटबल प्याराफिट (रंगशाला) को निर्माण शुरु भएको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उक्त रंगशालाको आइतबार शिलान्यास गरेका हुन् । १ अर्ब २८ करोड २२ लाख रुपैंया लागत अनुमान गरिएकाे उक्त प्याराफिटको निर्माण एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्रा (जेभी) ले गर्न लागेका हुन् । उक्त प्याराफिट फ्रान्सेली गुणस्तर र सामाग्रीको प्रयोग गरेर निर्माण हुने बताइएको छ ।
प्याराफिटको शिलान्यास गर्दै खेलकुदमन्त्री विश्वकर्माले यो प्याराफिट निर्माणपछि पोखरामा खेल पर्यटनको विकास हुने र यसमार्फत आर्थिक समृद्धि हासिल गर्न योगदान हुने बताए । अन्तर्राष्ट्रिय मापदण्डअनुसारका खेल पूर्वाधार निर्माण गर्ने योजना सरकारको रहेको उल्लेख गर्दै उहाँले रङ्गशाला निर्माणका लागि निर्माण कम्पनीलाई उपयुक्त वातावरण बनाइने उनले स्पष्ठ पारे । मन्त्री विश्वकर्ताले संसारमा खेलिने सबै खेल सञ्चालनका लागि प्राकृतिक रुपमा गण्डकी प्रदेशसमा सम्भावना रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले खेलकूद मन्त्रालय र राखेपले पोखरालाई ‘स्पोर्टस् टुरिजम सिटी’का रुपमा विकास गर्न प्रस्ताव तयार पारिरहेको जानकारी गराउँदै सो प्रस्ताव पोखरा महानगरलाई हस्तान्तरण गरिने बताए ।
प्रदेशसभा सदस्य राजीव पहारीले नेपालमा पूर्वाधार निर्माणमा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै फुटबल स्टेडियम तोकिएकै समयभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिए । निर्माण कम्पनीका प्रतिनिधि अनुप आचार्यले गुणस्तरीय निर्माणसहित नमूना हुने गरी निर्धारित समयमै सम्पन्न गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले स्टेडियमको काम सकिएपछि पोखरामा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको ढोका खुल्ने बताए । रासस