
नवलपरासी । कुल ११४० किलोमिटरको जहाज यात्रामा नेपाली सीमाबाट समुन्द्रसम्म पानजहाजमा पुग्न सकिने निष्कर्ष निकालिएको छ । गंगा नदीसम्म ३०० किलोमिटर र त्यसपछि ८४० किलेमिटरको यात्रापछि समुन्द्री सतहमा पुग्न सकिने निष्कर्ष सम्भाव्यता अध्ययन गर्न गठित नेपाल भारतका अधिकारीको संयुक्त समितिले निकालेको हो ।
नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत पहिले चरणमा गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन सकिएको छ । टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेसँगै उक्त निष्कर्ष निकालिएको अवलोकनपश्चात यस क्षेत्रमा पानीजहाज सञ्चालनको सम्भावना उच्च रहेको नेपाली टोलीका संयोजक एवं जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेलवासेले जानकारी दिए ।
उक्त टोली फर्किएपछि यस क्षेत्रमा समेत पानीजहाज सञ्चालन गर्ने सम्भावनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने टोलीमा सहभागी वाणिज्य आपूर्ति मन्त्रालयका उपसचिव तर्कराज भट्टले जानकारी दिए । नेपालमा पानीजहाज सञ्चालन गर्ने उद्देश्यले जल यातायातअन्तर्गत पहिलो चरणको प्रक्रियामा शुरु भएको टोलीमा सहभागी जल तथा ऊर्जा आयोगको सचिवालयका सिनियर डिभिजन इञ्जिनीयर महेश्वर श्रेष्ठले बताए ।
पानीजहाजलाई नेपाली भूमिमा कत्रो, कसरी र कुन रूपमा ल्याउन सकिन्छ भनेर अध्ययन गर्ने जिम्मेवारी पाएसँगै नेपाल र भारतको संयुक्त टोलीले ‘फिल्ड’मा अवलोकन गरी फर्किएको हो ।