काठमाडौं । फागुन १६ गतेदेखि काठमाडौंमा सानाकिसान सम्मेलन हुने भएको छ । २ दिन सम्म हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओली गर्ने छन् । सानाकिसान विकास लघुवित्त संस्था, नेपाल कृषि सहकारी केन्द्रिय संघ र सानाकिसान सहकारी संस्थाको सामुहिक आयोजनामा सम्मेलन हुन लागेको हो । प्रत्येक ४ वर्षमा हुने सो सम्मेलनको मुल नारा ‘सानाकिसानको सम्बृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ रहेको छ ।
सम्मेलनमा देशभरका करिब १ हजार सानाकिसान प्रतिनिधि एवं विभिन्न क्षेत्रका राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी निर्माता आदि गरी कुल १२ सय जनाको सहभागिता रहने छ । सानाकिसानहरुमा उद्यमशीलता विकास गराई कृषि सहकारी मार्फत कृषिक्षेत्रको रुपान्तरण गर्ने अभियान रहेको छ ।
गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादनविकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षण जस्ता दीगो विकास लक्ष्यले निर्दिष्ट गरेका लक्ष्यहरु हासिल गर्ने सम्बन्धमा सम्मेलनमा १४ सत्रमा प्रस्तुत हुने २८ वटा कार्यपत्र तथा दशौं भिडियो एवं अनुभवहरु केन्द्रित हुनेछन् ।
यसबाट सानाकिसानहरुको संस्थागत दिगो विकास, कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि, प्रशोधन, बजारीकरण तथा मूल्य श्रृङखला अभ्यास आदिको सिकाई एवं आगामी कार्य दिशा निर्धारण गर्न सहयोग पुग्ने जनाएकाे छ । वि.सं. २०३२ देखि सञ्चालित सानाकिसान विकास कार्यक्रमले ७० जिल्लामा करिब ९ सय सानाकिसान कृषि सहकारी संस्थाहरुको स्थापना गरी ८ लाख विपन्न तथा सानाकिसान परिवारलाई सेवाप्रदान गर्दै आएको छ ।