रुपन्देही । प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उनको गएराति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहेका ओलीको १६ दिनमा काठमाडौँको मेडिसिटी अस्पतालमा गएराति १ बजे निधन भएको अस्पतालले पुष्टि गरेको थियो ।
उनको पार्थीव शरीरलाई अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालय काठमाडौँमा राखिएको र दिउँसो हेलिकोप्टरमार्फत दाङ ल्याउने कार्यक्रम रहेको नेकपा प्रदेश कार्यालय सचिव बलराम अधिकारीले जानकारी दिए ।
प्रदेशसभा सदस्य ओलीको निधनमा प्रदेशसभाको १९ गते बस्ने बैठकमा शोक प्रस्ताव पारित गरिने सचिव पुनले जानकारी दिए । ओली पूर्व नेकपा एमालेबाट दाङको क्षेत्र नं ३ को ख बाट प्रदेशसभाका लागि सांसद बनेका थिए । दङ्गीशरण गाउँपालिका–६ लेटार निवासी ओलीका श्रीमती, दुई छोरा छन् ।
उपमहानगरका वडा शोकमा बन्द हुने
पाँच नं प्रदेश अन्तर्गत दाङ क्षेत्र नं ३ ख का सांसद उत्तरकुमार वलीको निधनमा तुलसीपुर उपहानगरपालिकाले आज ३ ख अन्तर्गतका वडा कार्यालय बन्द गरेको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार उक्त क्षेत्रमा पर्ने १, २, १० र ११ नं वडा कार्यालय आज एक दिन बन्द गर्नाका साथै १३ दिनसम्म वडा कार्यालयमा शोक पुस्तिका राख्नका लागि निर्देशन पनि दिइएको छ । रासस