
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । बिहीबार बिहान ललितपुरको एकान्तकुनामा एक समारोहका बीच कार्यालय उद्घाटन भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहने कार्यालयमा सहसचिव नेतृत्वमा १६ कर्मचारीको दरबन्दी छ । पानीजहाज चलाउनु पहिले आवश्यक गृहकार्य गर्नुपर्ने भएकाले कार्यालय स्थापना र कर्मचारी खटाउने काम भएको हो ।
मन्त्रिपरिषदको पुस ३० गते बसेको बैठकले पानीजहाज कार्यालय खोल्ने र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको थियो ।
पानीजहाज सञ्चालनबारे योजना बनाउन संलग्न जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेका अनुसार भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगानदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउन थालेको छ । नेपालले पनि नारायणी नदीमा केन्द्रित भएर योजना बनाइरहेको छ ।
भारतले आफ्नो सीमाभित्रमा एक वर्षमा पूर्वाधार बनाउने र नेपालले त्यसकै सहयोगले पानीजहाज चलाउने सरकारको योजना छ । गंगा नदीबाट नारायणी नदी हुँदै नेपालसम्म आईपुग्ने गरी पानीजहाज चलाउने तयारी हो । यो पानीजहाजलाई नारायणी नदीको दासढुंगासम्म नै ल्याउन सकिने अध्ययन टोलीको ठहर छ ।
बिहीबार कार्यालय उद्घाटन भएपनि पानी जहाज कहिलेबाट सञ्चालन हुन्छ भन्ने बारेमा अहिले निश्चित भइसकेको छैन ।