काठमाडौं । बिहिबार प्रधानमन्त्री केपी ओलीले एकान्तकुनामा पानी जहाज कार्यालयको उद्घाटन गर्दैछन् । यता पानी जहाज कार्यालय उद्घाटनकै संघारमा भारतले नेपाल आउने पानी जहाज रुटको डीपीआर तयार पारेको छ ।
मिनिष्ट्री अफ सिपिङ इण्डियाले नेपालको गण्डक नदि(नारायणी)सम्म आउने पानी जहाजको डीपीआर तयार पारेको हो । भारतले सिमा भन्दा ४० किलोमिटर तल बाघासम्मको डीपीआर तयार पारेको हो ।
गंगा नदि बेसिनबाट कार्गाे र पेसेन्जर बोक्ने जहाज नारायणी नदि हुँदै नेपालसम्म आईपुग्ने छ । नेपालमा पानी जहाजको सम्भावना खोज्न गठित समितिका संयोजक माधव बेलबासेले दासढुंगासम्म पानी जहाज ल्याउन सकिने तथ्य फेला परेको बताए । ‘हामीले दासढुंगासम्म पानी जहाज ल्याउन सकिने तथ्य फेला पारेका थियौं, भारतले बाघासम्मको डीपीआर नै बनाईसकेको छ’, बेलबासेले भने ।

पानी जहाज सञ्चालनका लागि भारतले तयार पारेको रुट
यो अध्ययनले नेपाललाई गंगा नदि हुँदै बंगलादेशसम्म पानी जहाज सञ्चालनका लागि बाटो खुल्ला गर्नेछ । दासढुंगाबाट नेपाल भारत सिमा हुँदै बेथिया, धुमरिया घाट, कल्याणपुर, वैशाली हुँदै गंगा नदिसम्म पानी जहाज कुद्नेछ । गंगा नदिबाट कोलकत्ता तथा हल्दियासम्म पुग्नेछ । यसरी पानी जहाज सञ्चालनमा आएपछि नेपाललेको आयात तथा निर्यातमा ढुवानी लागत स्वात्तै घट्ने बताइन्छ ।
यस अघि नेपाल भारत सिमाको बाल्मिकी नगरसम्म अध्ययन गर्ने भनिएको थियो । पानी जहाज सञ्चालनबारे थप छलफल गर्न भारतीय टोली मार्च ३ देखि ९ तारिखमा नेपालमा आउँदैछ । सोही छलफलबाट पानी जहाज सञ्चालन बारे ठोस सहमति हुन सक्ने पनि बेलबासेले बताए ।
प्रधानमन्त्री केपी ओलीले २०७४ चैत २३ गते गरेको भारतको भ्रमणका क्रममा इनल्याण्ड वाटर वे सम्बन्धी सहमति गरेका थिए । सरकारले पानी जहाजको सम्भाव्यता अध्ययनका लागि ३० लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । नेपाली भूभागमा पानीको गहिराई र नदिको चौँडाई पानी जहाज सञ्चालनका लागि उपयुक्त हुन सक्ने अवस्थामा छ । तर भारतले बिभिन्न ठाउँमा नदि तथा बाँध बाधेकाले पानीको सतह र नदिको चौँडाई कम भएकाले सिमा पारी भने केहि समस्या हुनसक्ने बेलबासेले बताए ।
३ मिटर गहिराई र ६० मिटर चौडाईको नदिमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानी जहाज सञ्चालन गर्न सकिने बेलबासेले जानकारी दिए ।भारतले गंगा नदिको कालु घाटमा पानी जहाज सञ्चालनका लागि आवश्यक पूर्वाधारको निर्माण गरिरहेको छ र त्यहाँसम्म २ हजार मेट्रिक टनका जहाज ल्याउने योजना बनाएको छ । पाँच सय टन क्षमताका पानी जहाज नेपाल आउनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।