काठमाडौं । बैंक अफ काठमाण्डूले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दाको सुनुवाईको लागि कानुनी परामर्श दाताहरुको टोली चाइना पठाएको छ । उक्त मुद्दाको सुनुवाई चीनको न्यायलयमा फागुन ३ गते हुने भएको छ ।
बैंकले मेलम्ची खानेपानी आयोजनाको तत्कालीन चिनीया ठेकेदार चाइना रेल्वे १५ ब्युरो ग्रुपको चाइना कन्सट्रक्सन बैंक मार्फत काउन्टर ग्यारेन्टी प्राप्त गरी उक्त काउन्टर ग्यारेन्टीको सुरक्षणमा मेलम्ची खानेपानी आयोजनालाई ६६लाख २० हजार अमेरिकी डलर तथा १४लाख युरो बराबरको ग्यारेन्टी जारी गरेको थियो । मेलम्ची र चिनीँया ठेकेदार कम्पनीबीच करार सम्झौताभंग भएकाले उक्त ठेकेदार कम्पनीले हालेको रिट निवेदनको आधारमा चीनस्थित न्यायालयले चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमाण्डूलाई दिन नपर्ने आदेश जारी गरेको थियो ।
अन्र्तराष्ट्रिय नियम र अभ्यास अनुसार चाइना कन्सट्रक्सन बैंकले बीओकेलाई जारी गरेको काउन्टर ग्यारेन्टी एउटा स्वतन्त्र र शर्तहीन दायित्व हो । चीनस्थित अदालतबाट काउन्टर ग्यारेन्टीको भुक्तानी बन्द गर्दा सर्वसाधारणको निक्षेपमा क्षति पुगेको हुँदा यस मुद्दाप्रति नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको आवश्यक सहयोग र समन्वयबाट उक्त गुमेको रकमफिर्ता गर्ने प्रकृयाको सहजीकरण हुनेछ ।