काठमाडौं । भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३२ करोड ५२ लाख भ्रष्ट्राचार भएको छ । समाज कल्याण परिषद र अन्य व्यक्तिको मिलेमतोमा भ्रष्ट्राचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टी गरेको छ ।
आयोगले भ्रष्ट्राचारमा संलग्न रहेको भन्दै १४ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरको छ । मुद्दा दायर हुनेहरुमा बद्री प्रसाद न्यौपाने, कुञ्ज बिहारी प्रसाद चौधरी, रबिन्द्र कुमार, मोशनराज शर्मा, मदन कुमार लाल कर्ण, हरी न्यौपाने, टेक बहादुर गुरुङ, रविन्द्र गुरुङ, रत्न गाहामगर, मदन प्रसाद रिमाल, बल बहादर स्वार, प्रेम सिहँ धामी र जगदेव चौधरी रहेका छन् ।
आयोगले गरेको अध्ययनमा जग्गाको हालसम्म तिरिरहेको रकमलाई वृद्धि गरी मासिक ५ लाख ५५ हजार तथा समयावधिलाई बढाई १५ वर्षको लागी फनपार्क मेला संचालन गर्न ठेक्कामा दिने निर्णय गरेको देखिएको छ ।
उनीहरुले सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० को दफा ४ अनुसार नेपाल सरकारले कुनै रकम वा कुनै अन्य कामको ठेक्का बन्दोबस्त गर्न परेमा टेण्डर आमन्त्रित गरी वा बढावढ वा घटाघट गराई ठेक्कामा दिनु पर्नेमा बोलपत्र आव्हान नै नगरी ठेक्का लगाएका थिए ।
