काठमाडौं । कृषि विकास बैंक, पालुङ्ग शाखाको आयोजना गरेको एक दिने वित्तिय कार्यक्रम सम्पन्न भएको छ । बैंककाे क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक बाबुकाजी थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम बैंकको बित्त तथा लेखा विभागका विभागिय प्रमुख यज्ञप्रकाश न्यौपानेले उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, उपमेयर खड्ग गोपाली, विभिन्न सहकारीका अध्यक्ष, व्यवस्थापक, कलेजका शिक्षक, स्कुलका प्रधानाध्यापक, समाजसेवी, स्थानिय कलेजमा बिबिएस अध्ययनरत १५ जना विद्यार्थी तथा सर्वसाधारण गरी करीब ५० जना सहभागी थिए ।
उक्त अवसरमा बैंकको मुख्य कार्यालयका केन्द्रिय सुपरीवेक्षक यज्ञप्रकाश न्यौपानेले बैंकले स्थानिय स्तरमा लामो समय देखी गरेको सेवाका विषयमा जानकारी गराएका थिए । त्यसैगरी शाखा पालुङ्गका लेखपालद्धय संगीता थापा तथा निशा थापामगरले उद्यमशीलताको पूर्वाधारको रुपमा रहेको कर्जाका लागि आवश्यक पर्ने कागजात तथा प्रक्रिया, बैंकले हालै ल्याएको निशुल्क सुविधाहरु जस्तैः भिसा कार्ड, मोबाईल बैंकिंग, ईन्टरनेट बैंकिगं, सिआस्वा, डिम्याट खाता आदिका बारेमा जानकारी गराउंदै विभिन्न प्रकारका खाताका प्रकार, बैंकले तयार पारेको जिंगल प्रदर्शन, अत्याधुनिक विद्युतीय बैंकिंग सुविधाका सम्बन्धमा समेत प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बैंकले आयोजना गरेको यस प्रकारको कार्यक्रम फलदायी रहेको, बैंकसंग मिलेर भविष्यमा अन्य विकास निर्माण कार्यमा समेत हातेमालो गरी अगाडी बढ्न सकिने बताए । उक्त अवसरमा बैंकको क्षेत्रिय कार्यालय, वीरगञ्जका निर्देशक बाबुकाजी थापाले वित्तीय साक्षरताको अर्थ र आवश्यकता, नेपालको आर्थिक तथा वित्तीय प्रणाली, वचत गर्दा हुने फाईदा, आदिका बारेमा प्रशिक्षण दिएका थिए । निर्देशक थापाले सहभागीहरुबाट उठेका जिज्ञासाहरुको जवाफ दिंदै सफा नोटको महत्व, समृद्ध देश निर्माणको आधारको रुपमा रहेको विप्रेषण, घरायसी बजेट निर्माणको महत्वको आदिका बारेमा सचेतना गराउंदै कार्यक्रमको समापन भएको थियो ।