बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन विधेयक पारित

<p>काठमाडौं । राष्ट्रियसभा बैठकबाट बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको आइतबार बसेको तेस्रो बैठकले उक्त विधेयक पारित गरेको हो । बैठकमा अन्य पाँच [&hellip;]</p>

काठमाडौं । राष्ट्रियसभा बैठकबाट बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको आइतबार बसेको तेस्रो बैठकले उक्त विधेयक पारित गरेको हो ।

बैठकमा अन्य पाँच विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन् । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यस्तै, अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, २०७५, भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

‘विज्ञापनसम्बन्धी विधेयक नियमनमुखी मात्रै’

राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।’

विधेयकको सैद्धान्तिक छलफलका क्रममा मन्त्री बाँस्कोटाले विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि बन्देज नलगाउने गरी आएको स्पष्ट पार्दै नियमनमुखी मात्रै भएको बताए ।

विश्वमा प्रचलित नियमअनुसार नै विधेयकमा व्यवस्था उल्लेख गरिएको अवगत गराउँदै उनले विधेयक समानुपातिक विज्ञापन प्रणालीमा पनि आधारित रहेको जानकारी गराए । विज्ञापन गर्दा बालबालिका, लैङ्गिक र जनसरोकारका विषयमा समेत सचेत हुनुपर्ने विषय विधेयकमा रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते दिउँसो १ बजे बस्नेछ । रासस

Share News