तत्काल अडियाे भिडियाे सञ्चार गर्न प्रहरीले ‘र्यापिड कम्युनिकेशन प्रणाली’ प्रयाेग गर्ने

<p>काठमाडौं । तत्काल अडियाे भिडियाेसहित सञ्चार गर्न नेपाल प्रहरीले ‘र्यापिड कम्युनिकेशन प्रणाली’लाई देशैभरि विस्तार गर्ने तयारी थालेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्न रेडियो सेट, ड्रोन, सिसी क्यामरापछि हालसालै मात्र भित्रिएको उक्त प्रविधिलाई सातै प्रदेशमा लैजाने तयारी नेपाल प्रहरीले गरेको हो । हाल प्रयोग भइरहेको रेडियो सेटबाट आवाज मात्रै पठाउन सकिने भए [&hellip;]</p>

काठमाडौं । तत्काल अडियाे भिडियाेसहित सञ्चार गर्न नेपाल प्रहरीले ‘र्यापिड कम्युनिकेशन प्रणाली’लाई देशैभरि विस्तार गर्ने तयारी थालेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्न रेडियो सेट, ड्रोन, सिसी क्यामरापछि हालसालै मात्र भित्रिएको उक्त प्रविधिलाई सातै प्रदेशमा लैजाने तयारी नेपाल प्रहरीले गरेको हो ।

हाल प्रयोग भइरहेको रेडियो सेटबाट आवाज मात्रै पठाउन सकिने भए पनि अहिले भित्र्याइएको नयाँ प्रविधिसहितको सेटमार्फत भने श्रव्यदृश्य एकैसाथ पठाउन सकिन्छ । ब्रोडब्याण्ड प्रविधिमा आधारित यो प्रणालीअन्तर्गत अहिले प्रहरीले ५० सेट भित्र्याएर अतिविशिष्ट व्यक्ति (भिभिआइपी) आउँदा र विपद्का बेलामा प्रयोग गर्दै आइरहेको छ ।

“अहिले जहाँ विपद् हुन्छ र भिभिआइपीको मुभमेन्ट हुन्छ, त्यहाँ लगेर प्रयोग गर्दै आइरहेका छौँ”, प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा राजीव सुब्वाले भने “अब भने सातै प्रदेमा लैजाने तयारी गरिएको छ ।” उनका अनुसार घटनास्थलमा भिडियो खिच्दाखिच्दै प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टरबाट दृश्य निगरानी गर्न सकिने यसको विशेषता हो ।

बाह्य विशिष्ट पाहुना आउँदा सिसी क्यामरा राख्न नसकेको ठाउँमा यही सेटको प्रयोग भएको बताउँदै उनले भिडियोसहित आउने भएकाले शान्तिसुरक्षा कायम गर्न प्रभावकारी हुने बताए । ताररहित फोरजी प्रविधिमा आधारित यसबाट एउटै च्यानलमा बसेर धेरै प्रयोगकर्तासँग श्रव्य, दृश्य र सन्देश आदानप्रदान गर्न सकिन्छ । विपद् तथा आपत्कालीन अवस्था र अन्य सञ्चार सेटमा सम्पर्कविहीन हुँदा पनि यसले काम गर्ने सुब्बाको भनाइ छ । आपत्कालीन अवस्थामा १५ मिनेटमै जडान गरी सञ्चालन गर्न सकिने यो प्रविधिको ५० वटा सेट प्रहरीसँग छ ।

यस्ता प्रविधिको प्रयोगले शान्तिसुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि महत्वपूर्ण सहयोग पुग्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विभिन्न घटना हुँदा सिसी क्यामरा लगायतको प्रविधिका कारण अपराधीसम्म पुग्न सहज हुने गरेकाले प्रविधिलाई अझै उच्चतम प्रयोग गर्नेतर्फ ध्यान दिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

दृश्य प्रविधिअन्तर्गत पर्ने ड्रोनको प्रयोग अवाञ्छित गतिविधि तथा ट्राफिक व्यवस्थापनमा प्रभावकारी हुन्छ । उपत्यकाको सवारी चाप अनुगमन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनमा यसको प्रयोग सफल मानिन्छ । ड्रोनको प्रयोगलाई अझै विशिष्टीकृत गर्ने योजना नेपाल प्रहरीको छ । नेपाल प्रहरीले सिसी क्यामरा भने २०६१ देखि प्रयोगमा ल्याएको हो । काठमाडौँ, भक्तपुर र ललितपुरमा ४७४ वटा तथा राजमार्ग तथा मुख्य शहरी क्षेत्रमा दुई हजार ९१६ सिसी क्यामरा प्रयोग भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीले हालै लागू गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत श्रव्यदृश्य प्रविधि प्रयोग गर्न प्रेरित गर्ने, थप स्थापना र विस्तार गर्ने नीतिलाई प्रभावकारी बनाउने थालेको छ । समुदायसँगको सहकार्यले शान्ति सुरक्षामा थप बल पुगेको प्रहरीको भनाइ छ । रासस

Share News