काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सेयर बजार विकासमा नयाँ कार्यक्रम आउने अनुमानका आधारमा लगानीकर्ता हौसिएका छन् । अभिवृद्धि कर(भ्याट) नलाग्ने र बजार सुधार हुने सम्भावना देखिएपछि सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार दिनको ४ वजे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । बजेटमा नयाँ कार्यक्रम आउने अनुमानका आधारमा निरन्तर ओरालो लागिरहेको सेयर बजार सोमबार एकाएक उकालो लागेको छ । सोमबार मात्रै बजार ३५ अंकले बढेर नेप्से परिसुचक १ हजार ३३६ अंकमा पुगेको छ ।
मंगलबार आउने नयाँ बजेटले बजारको विकासका लागि महत्वपुर्ण व्यवस्था अघि सार्ने आसमा सोमबारको नेप्से एक्कासी उकालो लागेको लगानीकर्ताको भनाई छ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले नयाँ बजेटले सेयर बजारको विकासका लागि महत्वपुर्ण व्यवस्थाहरु अघि सार्ने बताएका छन् । साथै, प्रधानमन्त्री केपी ओलीले सेयर बजारमा भ्याट लगाउनु नहुने बताएका थिए । प्रधानमन्त्रीले प्रतिवद्धता जनाएपछि लगानीकर्ता भ्याट नलाग्नेमा ढुक्क छन् । तर उनीहरु ३० प्रतिशत आयकर तिर्न तयार रहेका छन् । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले सेयरमा भ्याट नलगाउन अर्थमन्त्रीलाई आग्रह गरिएको बताए । ब्रोकरहरुले वित्तिय सेवामा सहभागी भएर ३० प्रतिशत आयकर तिर्न तयार रहेको तर सेयरमा भ्याट लगाउन नहुने सुझाव अर्थमन्त्रीलाई दिएका थिए ।
नेपाल इन्भेष्टर्स फोरमले पनि सेयरमा भ्याट नलगाउन अर्थमन्त्रीलाई सुझाव दिएको थियो । फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सेयर बजारको विस्तार र विकासका लागि भ्याट लगाउनै नहुने स्पष्ट पारे । सेयरमा भ्याट लगाउन नहुने चौतर्फी दबावकाबीच सरकारले बजेट ल्याउँदैछ । सेयर बजारका लगानीकर्ता सोही बजेट कुरेर बसिरहरको छन् ।
साेमबारकाे बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । कुल १६८ कम्पनीको ४७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी सिटिजन बैंकको ५ करोड रुपैयाँ बढीको प्रमोटर सेयर किनबेच भएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको पनि २ करोड रुपैयाँको प्रमोटर सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १० वटै समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह २७२ अंकले उकालो लागेको छ । त्यस्तै, होटल १०१, माइक्रोफाइनान्स ५९, विकास बैंक ४८, हाइड्रोपावर र उत्पादनमूलक ४७ र बैंकिङ समूह २५ अंकले उकालो लागेका छन् ।