काठमाडौं । २०७४ गत माघ १५ गते वर्तमान प्रधानमन्त्री केपी ओलीले नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधीसँगको भेटमा सेयर बजारमा भ्याट नलाग्ने स्पष्ट पारेका थिए । अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाकै पहलमा त्यतिबेला सेयरमा भ्याट नलगाउन सरकारी निकाय राजी भएको थियो । तर यतिबेला तिनै डा. खतिवडा अर्थमन्त्री छन र करको दायरा व्यापक बढाउने तयारीमा देखिन्छन् ।
हिजो सेयरमा भ्याट लगाउनु हुन्न भन्ने डा. खतिवडाले आज भ्याट लगाउँलान की भन्ने त्रासले सेयर बजार ओरालो लागिरहेको छ । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले सेयरमा भ्याट नलगाउन अर्थमन्त्रीलाई आग्रह गरिएको बताए । ब्रोकरहरुले वित्तिय सेवामा सहभागी भएर ३० प्रतिशत आयकर तिर्न तयार रहेको तर सेयरमा भ्याट लगाउन नहुने सुझाव अर्थमन्त्रीलाई दिएका थिए ।
नेपाल धितोपत्र बोर्डले ऐन संसोधन गरेरै भएपनि सेयरमा भ्याट लगाउन नहुने स्पष्ट अडानसहितको सुझाव अर्थमन्त्रीलाई दिएको छ । ‘नयाँ बजेटले सेयर बजारको विकासका लागि महत्वपुर्ण व्यवस्थाहरु अघि सार्नेछ, के के ल्याउँदैछ भन्ने चाँही अहिले नभनौं’, बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले विकासन्युजसँग भनेका थिए ।
नेपाल इन्भेष्टर्स फोरमले पनि सेयरमा भ्याट नलगाउन अर्थमन्त्रीलाई सुझाव दिएको थियो । फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सेयर बजारको विस्तार र विकासका लागि भ्याट लगाउनै नहुने स्पष्ट पारे । सेयरमा भ्याट लगाउन नहुने चौतर्फ दबावकाबीच सरकारले भोली अर्थात जेठ १५ गते आगामी आर्थिक बर्षको बजेट ल्याउँदैछ । सेयर बजारका लगानीकर्ता सोही बजेट कुरेर बसिरहरको छन् ।
व्र्तमान प्रधानमन्त्री केपी ओलीले बामपन्थी सरकार गठन हुनै लाग्दा सेयर बजारमा भ्याट लाग्ने त्रास फैलाएको आरोप लगाउँदै भनेका थिए,‘बामपन्थी सरकार गठन हुनै लाग्दा सेयरमा भ्याट लगाउने षडयन्त्र भैरहेको छ, आजसम्म सेयरमा भ्याट लगाउन आवश्यक किन ठानिएन, हामी गम्भिर भएका छौं, तपाईहरु ढुक्क हुनुस, नयाँ सरकार आएपछि सेयर बजारमा उछाल आउँछ, नयाँ सरकारले लिने नितीका कारण सेयर बजार उकालो चढ्छ ।’
महालेखा परिक्षकले ब्रोकर कम्पनीसँग भ्याट असुल्नुपर्ने तथ्य उजागर गरेपछि कर दाता सेवा कार्यालय त्रिपुरेश्वरले ३ वटा ब्रोकर कम्पनीलाई करिब ३ करोड कर निर्धारण गरेर पत्र काटेको थियो । सो कर निर्धारणका विरुद्ध ब्रोकर कम्पनीहरु आन्तरिक राजश्व विभागमा पुनरावेदनमा गएका थिए । सो कार्यालयले सेवा सेक्युरीटीज प्राली, सुन्धारा सेक्युरीटीज प्राली र इन्भेष्टमेन्ट मेनेजमेन्ट प्रालीलाई करिब ३ करोड कर निर्धारण गरेको थियो ।

सेयरमा भ्याट लगाउन नहुने भन्दै धितोपत्र बोर्डले निकालेको विज्ञप्ति