पनौती विद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने

<p>काठमाडौं । काभ्रेको खोपासीमा रहेको २.४ मेगावाट जडित क्षमताको पनौती जलविद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच विद्युत गृहलाई शैक्षिक र अनुसन्धान केन्द्रको रुपमा प्रयोग तथा विकास गर्ने गरी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । धुलिखेलमा बिहीबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र [&hellip;]</p>

काठमाडौं । काभ्रेको खोपासीमा रहेको २.४ मेगावाट जडित क्षमताको पनौती जलविद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच विद्युत गृहलाई शैक्षिक र अनुसन्धान केन्द्रको रुपमा प्रयोग तथा विकास गर्ने गरी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

धुलिखेलमा बिहीबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं विश्वविद्यालयका उपकूलपति प्रा.डा रामकण्ठ मकाजू श्रेष्ठले एमओयूमा हस्ताक्षर गरेका हुन् । एमओयूको म्याद १० वर्षसम्म रहने छ । दुवैको सहमतिमा एमओयूको म्याद थप्न सकिने व्यवस्था गरिएको छ । तीन महिनाको सूचना दिएर एमओयू खारेज गर्न सकिने छ । एमओयू बिहीबारबाटै कार्यान्वयनमा आएको छ ।

प्राधिकरणलाई वित्तीय भार नपर्ने गरी विद्युत गृहको सदृढीकरण, नयाँ संरचना निर्माण लगायतका सम्पूर्ण काम विश्वविद्यालयले गर्ने छ । विद्युत गृहबाट अहिले उत्पादन भइरहेको ऊर्जा नघट्ने गरी विश्वविद्यालयले त्यस्ता संरचनाको प्रयोग गर्ने छ । विद्युत गृहबाट गत वर्ष २६ लाख ३० हजार युनिट विद्युत उत्पादन भएको थियो । विद्युत गृहको सञ्चालन भने प्राधिकरणले नै गर्ने छ ।

विश्वविद्यालयले सिभिल, मेकानिकल, इलेक्ट्रिकल जलविद्युत लगायतका इन्जिनियरिङ विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि जस्ता शैक्षिक कार्यक्रम तथा तालिम सञ्चालनका लागि विद्युत गृहको स्वामित्वमा रहेका संरचना र जग्गाको प्रयोग गर्ने छ । विद्युत गृहका टर्बाइन, जेनेरेटर, नहर लगायतका संरचनाको सुदृढीकरण विश्वविद्यालयले आफ्नै खर्चमा गर्ने व्यवस्था एमओयूमा गरिएको छ ।

प्राधिकरण र विश्वविद्यालयले ज्ञान तथा सीप साटासाट गर्न संयुक्तरुमा तालिम, सम्मेलन, कार्यशाला, शैक्षिक लगायतका कार्यक्रम सञ्चालनबाट नाफा प्राप्त भएमा त्यसको १० प्रतिशत प्राधिकरणले पाउने व्यवस्था गरिएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विश्वविद्यालयले आफ्नै खर्चमा विद्युत गृहको क्षमता स्तरोन्नती गर्ने, अहिले त्यहाँ रहेका संरचनाको सुदृढीकरण तथा नयाँ बनाउने लगायतका काम गर्ने जानकारी दिए । यसबाट प्राधिकरणको सम्पत्तिको संरक्षण र सदुपयोग हुने उनले बताए ।

सरकार र तत्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा पनौती विद्युत गृहको निर्माण भएको थियो । विद्युत गृह ३१ असार २०२२बाट सञ्चालनमा आएको थियो । विद्युत गृह अहिले जीर्ण अवस्थामा सञ्चालन भइरहेको छ ।

 

Share News