काठमाडौं । सरकारले रेलमार्गको निर्माण र पानी जहाज सञ्चालनको योजनालाई उच्च प्राथमिकतामा राखेको छ । संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा मेची-महाकाली रेलमार्गको निर्माण, केरुङ-काठमाडौं- पोखरा-लुम्बिनी रेलमार्ग र काठमाडौं-बिरगञ्ज रेलमार्गलाई उच्च प्राथमकितामा राखेको हो ।
त्यस्तै, कोशी, गण्डकी र कर्णाली नदिमा पानी जहाज सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था पनि आगामी आर्थिक बर्षभित्रै गरिसक्ने योजना सरकारले अघि सारेको हो ।
अहिले केरुङ काठमाडौं रेलमार्गको अध्ययनका लागि चिनियाँ प्राबिधि टोली नेपाल भ्रमणमा आएको छ । प्रधानमन्त्री केपी ओलीको आगामी चीन भ्रमणमा सो रेलमार्ग निर्माण सम्बन्धी सम्झौता गर्ने सोँच सरकारले बनाएको छ ।
त्यस्तै, मेची महाकाली रेलमार्गको निर्माणलई थप तिब्रता दिने सरकारले बताएको छ । काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणका लागि भारत सरकारसँग सम्झौताको तयारी भैरहेको छ । विस्तृत सम्भाव्यता अध्ययन गरेर रेलमार्ग निर्माण गर्ने नेपाल भारत सरकारको योजना छ ।
त्यस बाहेक प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा गरेको सम्झौता अनुसार नेपालका ठुला नदिहरुमा पानी जहाज सञ्चालनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्ने सरकारी योजना छ ।
रेल र पानी जहाजका चर्का भाषण गर्दा अघिल्लो प्रधानमन्त्री कार्यकालमा ओलीको व्यापक आलोचना भएको थियो । तर यसपाली भने ओलीले निती तथा कार्यक्रममै रेल र पानी जहाजलाई उच्च प्राथमिकतामा राखेका हुन् ।