काठमाडौं । यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने भएको छ । यसअघि सरकारले २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने बताए पनि साधन र स्रोतको व्यवस्थापन, जनशक्ति आदि कारणले तीन घण्टा कम अर्थात् २१ घण्टामात्रै सञ्चालन गर्न लागिएको हो ।

विमानस्थलमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय उडानलाई थप प्रभावकारी बनाउन सञ्चालनमा नयाँ पन दिन लागिएको हो । एउटामात्रै विमानस्थल हुँदा सामान्य दुर्घटना हुँदा समस्या आउने, लामो समयसम्म जहाज आकाशमा नै होल्ड गर्नुपर्नेजस्ता जटिलताका कारण पनि सरकारले दिन, रात दुवै समयमा विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो ।
हवाई ट्राफिक व्यवस्थापन तथा उडान र अवतरणमा देखिएका समस्या समाधानका लागि पनि सञ्चालन अवधि बढाइएको हो ।हाल विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पु¥याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्मको हुनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन अवधि लम्ब्याउन निर्देशन दिएका थिए।
विमानस्थलको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि सबै किसिमको तयारी गरिएको छ । त्यसका लागि अध्यागमन, सुरक्षाकर्मी, ग्राउण्ड ह्यान्डलिङलगायतमा समेत थप जनशक्ति व्यवस्थापन तथा सेवा सुविधासमेत बढोत्तरी गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम विमानस्थल सञ्चालनको अवधि थपिएको र त्यसका लागि प्राधिकरणका तर्फबाट आवश्यक तयारी सम्पन्न भएको बताए ।
सुरक्षा निकायलगायत विमानस्थलका साझेदार सबै निकायसँग समन्वय गरी सेवालाई चुस्त र प्रभावकारी बनाउने तथा भविष्यमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापनको सबै तयारी सकिएको प्राधिकरणले जनाएको छ ।
हाल विमानस्थलमा ६७ एटिसीले छुट्टाछुट्टै कार्य समयमा काम गर्छन् । विमानस्थल सञ्चालन २१ घण्टा पु¥याउँदा ८५ देखि ९० एटिसी आवश्यक पर्छ । प्राधिकरणसँग हाल २५० एटिसी छन् ।
विमानस्थलबाट अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक करीब ४०० उडान अवतरण हुने गरेको छ । जसमा आन्तरिकतर्फ हेलिकप्टरसहित करीब ३५० र अन्तर्राष्ट्रियतर्फ दुई नेपालीसहित ३० वटा वायु सेवा प्रदायकले दैनिक १०० भन्दाबढी उडान भर्दै आएका छन् । रासस