प्रा.डा. खेमराज भुसाल

जाडोसँगै स्वास्थ्य जोखिम बढ्दै, ‘सामान्य रुघाखोकी पनि घातक हुन सक्छ’

काठमाडौं । चिसो बढ्दै जाँदा भाइरस र ब्याक्टेरियाले शरीरमा विभिन्न प्रकारका असर पार्न थाल्छन् । चिसोले किटाणुहरूको सक्रियता बढाउने भएकाले नाक, घाँटी, फोक्सो र छातीसम्बन्धी रोगहरू जाडोमा धेरै देखिन्छन् । विशेषगरी भाइरल निमोनिया, घाँटीको संक्रमण, रुघाखोकी, दम बढ्ने समस्या यो मौसममा बढी देखिन्छ  । चिसोमा कम उमेरका बालबालिका र धेरै उमेरका वृद्धवृद्धा बढी प्रभावित हुन्छन्, किनकि उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ । जाडो सहन सक्ने क्षमता कम भएकाले सामान्य संक्रमणले पनि जटिलता निम्त्याउन सक्छ । दमका बिरामीका लागि जाडो झनै संवेदनशील समय हो । चिसोका कारण अक्सिजनको मात्रा घट्न, स्वास नली साँघुरिन र इन्फेक्सनको खतरा बढ्न सक्छ । यस्तो अवस्थामा बिरामीलाई अस्पताल भर्ना गरेर बाफमार्फत औषधि दिनुपर्ने, संक्रमण रोक्न एन्टिबायोटिक दिनुपर्ने र कहिलेकाहीँ जीवनरक्षक उपचार आवश्यक पर्न सक्छ । अस्पताल आउने चिसोका बिरामी बढ्दै त्रिवि शिक्षण अस्पताल लगायत देशभरका विभिन्न अस्पतालमा अहिले बिरामीको संख्या बढिरहेको छ । रुघाखोकी, ज्वरोलगायत विभिन्न स्वास्थ्य समस्या ल्याएर बिरामीहरू अस्पताल आइरहेका हुन्छन् । चिसोमा रुघाखोकी लाग्नु, ज्वरो आउनु सामान्य मानिए  पनि कहिलेकाहीँ अवस्था असामान्य भइदिन्छ ।   रुघाखोकी एक–दुई दिनमै निको भयो, खोकी धेरै लागेन भने आत्तिनु पर्दैन । तर दुई–तीन दिनसम्म पनि निको भएन, खोकी धेरै लाग्यो, स्याँस्याँ बढ्यो, खकारमा रगत देखियो, ज्वरो पनि धेरै बढ्यो भने त्यस्तो अवस्थामा अस्पताल गइहाल्नुपर्ने हुन्छ।  कहिलेकाँही  सामान्य जस्तै लाग्ने यस्ता ज्वरो, रुघाखोकी पनि गम्भीर रूपमा परिणत हुने गर्छन् । सामान्य मानिएको यस्ता संक्रमणले ज्यान जान सक्ने सम्भावना पनि धेरै हुने गर्छ । जाडोको बेलामा मुटुको नली पनि खुम्चने, हृदयघात पनि बढी हुने हुँदा कसैलाई ग्यास्टिक जस्तो दुखाइ भयो तर छातीको बीचमा पनि दुख्यो र त्यो दुखाइ बिस्तारै चिउडो, दाहिने वा देब्रे हाततिर सर्दै जाने दुखाइ पनि बढी हुँदै जाने हो भने अस्पताल आउनुपर्छ । हृदयघातको सम्भावना उच्च चिसोमा हृदयघातको सम्भावना पनि उच्च हुन्छ । चिसोमा मुटुलाई सप्लाइ गर्ने नली खुम्चिन्छ । नली खुम्चँदा अक्सिजनको आवश्यकता बढी पर्ने तर सप्लाइ कम हुने अवस्था हुन्छ । बाहिरका अन्य नली पनि केही खुम्चने हुँदा मुटुलाई भार थपिन्छ । जसले गर्दा यस्तो समयमा हृदयघातको सम्भावना बढी हुन्छ । हामीले यसका लागि खानपानमा ध्यान बढी दिनुपर्छ । नियमित शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ ।    जाडोको समयमा रक्तनलीहरूले बाहिरतिर हिटलस नहोस् भनेर खुम्चिन्छन् । यसरी खुम्चिँदा थुप्रै असरहरू आउँछन् । यसो हुँदा अचानक ब्लड पेसर बढ्ने हुन्छ ।  यसो हुँदा मुटुको रोगीहरूलाई हृदयघात, प्यारालाइसिस जस्ता समस्याहरू आउन सक्छन् । मुटुले रगत पेलेर शरीरका विभिन्न भागमा पठाउनुपर्ने हो यसमा हुँदा उसले बढी बल लगाउनुपर्ने अवस्था आउँछ ।  यस्तो बेला मुटुलाई बढी अक्सिजन चाहिने तर त्यसको सप्लाई नपुग्ने हुन्छ । यस्तो हुँदा डिमाण्ड सप्लाईको मिसम्याच हुन जान्छ । जसले गर्दा पनि मुटुको रक्तसञ्चारमा मांशपशीमा अलि नपुग्ने हुन्छ । यो बेलामा फोक्सोको संक्रमण, छातीको संक्रमण,  निमोनिया संक्रमण बढी हुने गर्छ । मुटुसम्बन्धी बिरामीलाई पनि यस्तो बेला गाह्रो हुन्छ । भाइरल इन्फुलुएन्जा पनि यस्तो बेला आउँछ । श्वासप्रश्वास प्रणालीमा माथिल्लो भागको संक्रमण बढी हुने र तल्लो भागको निमोनिया बढी हुने, भाइरल निमोनिया पनि बढी हुने हुन्छ ।  निमोनिया गराउने किटाणु सक्रिय चिसोमा सबैभन्दा बढी देखिने अर्को समस्या हो निमोनिया । जसबाट धेरै व्यक्ति प्रभावित भइरहेका छन् । निमोयिालाई ख्यालठट गर्दा ज्यान जाने सम्भावना बढी हुन्छ । निमोनिया भनेको फोक्सोको संक्रमण हो । कुनै पनि किटाणुका कारण फोक्सोमा सुजन हुन्छ । नेपाली जनमानसमा चिसोले गर्दा निमोनिया बढी हुन्छ भन्ने भ्रम छ।  तर निमोनिया चिसोले गर्दा हुने होइन । निमोनिया किटाणुले गर्दा हुन्छ । कुरा के हो भने चिसोका कारण निमोनिया लाग्ने किटाणुको विकास बढी हुन्छ । जसले गर्दा चिसोमा निमोनियाका बिरामीहरू हुने गर्छन् । निमोनीयाबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको भ्याक्सिन हो । ब्याक्टोरियल निमोनिया, भाइरल निमोनीयाको भ्याक्सिन बालबालिका र वृद्धवृद्धाहरूलाई लगाउनुपर्छ ।  यसो हुँदा चिसोमा सक्रिय हुने किटाणुले पनि संक्रमण गर्न सक्दैनन् । मानसिक स्वास्थ्यमा पनि असर चिसोको समयमा मान्छेको मुडमा पनि परिवर्तन आउँछ । डिप्रसन, एन्जाइटी समस्या भएकाहरूलाई पनि यस्तो बेला बढी समस्या हुने गर्छ । काम गर्न मन नलाग्ने, मन नरमाइलो भइराख्ने हुन्छ । कहिलेकाँही उनीहरूलाई पनि अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउनसक्छ । यस्तो समस्या भएका व्यक्तिहरूले घाममा बस्ने, बढी हिँडडुल गर्ने, आफ्नौ दैनिक कामकाजलाई बढाउने र चिसोबाट बच्ने गर्नुपर्छ । यस्तो हुँदा मन रमाइलो हुने  र  खुसी बनाउने न्युरो ट्रान्समिटरहरू हुन्छन् तिनको मात्रा बढ्छ ।  अहिले नेपाल लगायत विश्वमा दीर्घरोगका बिरामीको संख्या बढ्दै छ । यसको मुख्य कारण खानपान र दैनिक जीवनशैलीले हुन्छ ।  सागसब्जी कम खाने, फाष्टफुड बढी खाने गर्दा नागरिकको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । तौल नियन्त्रमा नहुने, बढ्दै जाने समस्या बढी देखिने गरेको छ । मान्छे नहिँड्ने समस्या अहिले सबैभन्दा बढी देखिँदैछ  । धुम्रपान, सुर्तीजन्य पदार्थ, अल्कोहलको प्रयोग बढी हुँदा पनि धेरै रोगहरू आइरहेका छन् भने  लागिरहेका रोग पनि बढी सक्रिय भएर जोखिम बढिरहेको छ । यसका लागि स्वास्थ्य खानपान, नियमित शारीरिक व्यायाम निकै आवश्यक छ ।  कसरी बच्ने ? दीर्घरोग भएका, रोग प्रतिरोधसँग लड्ने क्षमता कम भएका र अन्य सामान्य व्यक्तिले पनि यस्तो बेला चिसोबाट बच्नुपर्छ । यसका लागि सबैभन्दा पहिले दैनिकी र जीवनयापनमा सुधार ल्याउनैपर्छ ।  धेरै हदसम्म खानपान सन्तुलित बनाउन सकियो भने धेरै रोगबाट बच्न सकिन्छ ।  रोगबाट बच्नु भनेको धेरै ठूलो कुरा हो । रोग लागिसकेपछि निको पार्न निकै गाह्रो हुन्छ । पैसा र समय सबै वर्वाद हुन्छ । यसका लागि सबैभन्दा खानपान र जीवनशैलीमा बढी ध्यान दिनुपर्छ ।  यसका लागि नियमित जाँच गर्ने सन्तुलित आहारबिहार अपनाउने, तौल नियन्त्रण गर्ने हो । ब्लडप्रेसर, सगरग र कोलेस्टेरोलको मात्रा पनि बेला बेला जाँच गरेर हेर्नेपर्छ । जाडोमा शरीर चिसो भयो भनेर तातो बनाउन अल्कोहलको मात्रा धेरै लिने, स्मोकिङ धेरै गर्ने चलन पनि बढ्दै गएको छ । यत्तिकै पनि जाडोमा हृदयघातको सम्भावना बढी भएको बेला यसले झन बढाउँछ । यस्ता कुराको सेवन नगरिकन चिल्लो र बोसो पनि धेरै नभएको तातो झोलिलो कुराहरू, भिटामिन सीयुक्त अमिला फलफूल खानुपर्छ । जसले गर्दा शरीर न्यानो पनि रहन्छ र पोषिलो पनि रहन्छ । (जनरल फिजिसियन प्रा.डा खेमराज भुसालसँग गरिएको कुराकानीमा आधारित)