जाडोमा छाला फुट्ने समस्या र उपचारको विधि
हरेक व्यक्तिको शरीरमा मौसम अनुसार परिवर्तन आउने गर्दछ । गर्मी महिनामा मानिसको शरीरमा धेरै पसिना तथा तरल पदार्थ आउने गर्दछ, जसको कारण छाला चिल्लो हुने र चिपचिप हुने गर्दछ । जाडो महिनामा मानिसको शरीरमा कम मात्रामा पसिना आउँछ । गर्मी समयको भन्दा जाडोमा हाम्रो शरीरमा आउने चिल्लो पदार्थ कम आउने हुन्छ । जाडोको समयमा बढी सुख्खा हावा चल्ने भएकाले हाम्रो शरीरभित्र भएको आर्द्रता वा पानीको मात्रा सोसिने हुनाले छाला बढी सुख्खा हुने गर्दछ । जाडोमा बढी एसी तथा हिटर ताप्ने हुनाले पनि छाला बढी सुख्खा हुने गर्दछ । जसका कारण ओठ, गाला तथा हात–खुट्टा फुट्ने समस्या बढी हुन्छ । जाडो मौसममा छालाको प्राकृतिक तेल उत्पादन पनि घट्छ, जसले गर्दा छालाको सुरक्षात्मक तह कमजोर हुन जान्छ । विशेषगरी हात, खुट्टा र ओठ जस्ता भागहरू सबैभन्दा पहिले प्रभावित हुन्छन्, किनकि यी भागहरू लगातार चिसो हावाको सम्पर्कमा रहन्छन् । छाला फुट्न नदिन के गर्ने ? थोरै सावधानी र सही स्किन–केयर रुटिन अपनाएमा यो समस्याबाट सजिलै जोगिन सकिन्छ । मनतातो पानीले नुहाउने, मोइस्चराइजर लगाउने, पर्याप्त मात्रामा हाइड्रेटेड रहने र पौष्टिक भोजन गर्ने बानीले छालालाई चिसो हावाको असरबाट बचाउन सकिन्छ र यसलाई नरम तथा स्वस्थ बनाइराख्न सकिन्छ । शरीरको छाला फुट्न नदिन धेरै तातो पानी भएको ठाउँमा बस्न वा नुहाउन हुँदैन । शरीर नुहाइसकेपछि छालामा नरिवलको तेल लगाउनुपर्छ । यस्तै, लोशन र क्रिम लगाउन राम्रो मानिन्छ । शरीरमा क्रिम, तेल, पञ्जा, टोपी, मास्कलगायत लगाएर ढाक्दा फुट्ने सम्भावना कम हुन्छ । दैनिक नुहाउने व्यक्तिले हप्ताको दुई वा तीन दिन मात्र साबुन तथा सेम्पुको प्रयोग गर्नुपर्छ । दैनिक साबुन तथा सेम्पु प्रयोग गर्दा छाला बढी मात्रामा फुट्न सक्छ । यस्तै, नुहाइसकेपछि सिधै ऊनी कपडा लगाउन हुँदैन । शरीरमा पहिले सुतीको कपडा लगाएर मात्र ऊनी कपडा लगाउनु राम्रो हुन्छ । जाडो याममा पानी प्रशस्त मात्रामा पिउनुपर्छ । (छालारोग विशेषज्ञ डा. अनु सुवेदी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन्)