तुल खड्का

अथेन्टिक नेतृत्वको खोजी

मुलुक सञ्चालन र व्यवस्थापनको शिरमा हुन्छ- नेतृत्व । नेतृत्वको सक्षमता, सबलता र सशक्तताको परिणामबाट मात्र अपेक्षित लाभ र प्रतिफल हासिल हुने गर्दछन् । एक असल नेतृत्वको विकासको लागि लामो समय खर्चिनु र पर्खिनु पर्ने हुन्छ । चालक जति गतिशील बन्दै गयो देशले त्यति नै लामो दूरीको यात्रा तय गर्न सक्छ । चालक जति नै भिजनरी बन्दै गयो मुलुकमा त्यति नै विकासको भिजिबिलिटी देखिँदै जान्छ ।  नेपालमा लोकतन्त्रको उदयपछि नेतृत्व सधैं अस्थिर र फेरबदल बन्दै गएको छ । देशको विकास र समृद्धिको लागि राजनीनिक नेतृत्व नै मूल पुँजी हो । प्रशासनिक नेतृत्वले एसिस्ट मात्र गर्ने हो । सबै विषय राजनीतिक नेतृत्वको छत्रछायामा हुर्केका हुन्छन् । राजनीतिक नेतृत्व जति संग्लो र कञ्चन हुँदै गयो राज्यका अरू प्रशासनिक, विभागीय र सांगठनिक नेतृत्व त्यति नै स्वच्छ  र सक्षम  हुँदै जान्छन् । जब राजनीतिक नेतृत्व मैलो हुन्छ, तब अरू अंग पनि त्यस्तै काला, अनुदार र कुरूप देखिन्छन् ।  कुनै राजनीतिक दलसँग कार्यकर्ता, जनमत र संगठनको बलियो पकट भएर मात्र हुँदैन, त्यसलाई सिनर्जीको रूपमा क्यास गर्न सक्ने प्रखर नेतृत्वको अपरिहार्यता चाहिन्छ । यस प्रकारका नेतृत्वमा स्पष्ट भिजन, दर्शन र  योजना चाहिन्छ । नेतृत्व केवल संगठनको अगुवा मात्र होइन । संगठनको कुकल रणनीतिकार, कृटनीतिज्ञ, योजनाकार र मुलुक बनाउने कार्ययोजनाको शिल्पकार हो ।  हामी असल नेतृत्वको सधैं खोजी गर्दछौं । त्यसले सधैं दिशा र मार्ग प्रदान गर्दछ भन्ने विश्वास गर्दछौं । नेतृत्वसँग क्वालिटी हुन्छ । ताकत हुन्छ ।  उसले जनमत र मासलाई सही परिचालन गरेर नतिजा दिन सक्छ । जब नेतृत्वले मासलाई र प्राप्त जनमतलाई मुलुक निर्माणका खर्च गर्दछ तब राष्ट्रले न्याय प्राप्त गर्दछ । विकास प्राप्त गर्दछ । समृद्धिको भोग मेट्न पाउँछ । जब उक्त जनमतलाई सीमित वर्ग र समुदायको निमित्त खर्च गर्दछ भने त्यसले सीमित व्यक्तिलाई फाइदा र मुलुकलाई अहित गर्दछ ।   विश्व जगतमा नेतृत्वको सफलता र असफलताको कारण मुलुकले मुहार फेरेका छन् । कुरूप बनाएका छन् । नेतृत्वले गति लिँदा देशले प्वाँख फेरेर नयाँ उडान भरेका छन् ।  नयाँ गन्तव्य भेटाएका छन् । नयाँ क्षितिजमा पुगेका छन् । नयाँ मुलुक बनाएका छन् । मलेसिया एसियाको औद्योगिक राष्ट्रको रूपमा बढिरहेको छ । सायद त्यहाँ मोहम्द महाथिरेले चौबीस वर्ष शासन नगरेको भए आजको मलेसिया बन्ने थिएन । लिक्वान नभएको भए सायद सिँगारिएको सिंगापुर हुने थिएन । नेतृत्व बलियो र कमजोर हुँदा अभियान कसरी कायापलट हुन्छ भन्ने केही अन्तर्राष्ट्रिय दृष्टान्त हेरौं । पेरुमा कम्युनिष्ट पार्टी (साइनिङ पाथ)का अध्यक्ष एवं पेरु क्रान्तिका नेता गोन्जालाको नेतृत्वमा सन् १९८१ बाट सुरु भएको युद्धले गाउँदेखि सहर घेर्ने रणनीतिमा पेरुलाई हल्लाइदियो तर सन् १९९२ मा उनै गोन्जालो पक्राउ परेपछि आन्दोलन कमजोर भयो । अन्नत गोन्जालाको जेलमा नै निधन भयो । क्रान्ति दिशाहिन र अर्थहिन बन्यो हजारौं मान्छेको ज्यान गयो ।  उपलब्धी शून्य भयो ।  पेरुमा गोन्जालो सकिएपछि  कम्युनिष्ट आन्दोलन नै धरापमा पर्‍यो । सायद हिटलर र मुसोलिन नभएको भए दोस्रो विश्वयुद्ध नहुन सक्थ्यो । दोस्रो विश्वयुद्ध नभएको भए विश्वको स्वरूप अर्को हुन सक्थ्यो । छिमेकी मुलुक भारतमा जति प्रयास गर्दा पनि कम्युनिष्ट पार्टीले आकार र स्वरूप ग्रहण गर्न सकेको देखिँदैन । त्यहाँ एक पछि अर्को नेतृत्व समाप्त हुँदै गएपछि अभियान पनि समाप्त हुँदै गएको जस्तो देखिन्छ ।  पुँजीवादी देशहरूको बीचबाट समाजवादी व्यवस्थाको नमुना प्रस्तुत गरेको क्युवामा फेड्रेल फिडेल क्यास्ट्रोको नेतृत्वको भूमिका महत्त्वपूर्ण रहेको देखिन्छ । दक्षिण अफ्रिकामा नेल्सन मण्डेला जन्मिएकै कारण अधिकारको विस्तार र वैधानिकरण  बन्दै गएको गएको तथ्य निर्विवाद नै हो । बर्मामा प्रजातन्त्रको भिल्को झोस्ने र सैनिक शासन झक्झक्याउने काम सायद आङसाङ सुकी नभएको भए जीवन्त सैनिक शासन हुने थियो । प्रजातन्त्रको छोटो बिसौनीपछि म्यान्मारको शासन फेरि सैनिक खोपीमा पुग्यो ।  अलकायदाका संस्थापक ओसामा बिन लादेनको हत्या पछि अलकायदा तहसनहस भयो । यति कमजोर भयो कि फेरि उठ्ने हिम्मत गरेको छैन । अबु बक्र अल–बगदादी हत्यापछि आइएसआइएसको राप नै पत्तासाप भयो ।  रुसमा मिखाइल गोर्भाचोभको अवसानपछि बलियो सोभियत युनियन नै सकियो ।  यी प्रकरणले के जाउँछन् भने देश बनाउने कुराको मूल कडी नै नेतृत्वसँग उभिएको हुन्छ । आजको जस्तो लोकतान्त्रिक दुनियाँमा नेतृत्वको जन्म कसलाई दिने भन्ने कुरा जनताको गर्भमा रहेको छ । नेतृत्वको माथि मूल प्रश्नको निरूपण नेतृत्वको विकासबाट नै हुन्छ ।  हामी कहिलेकाँही राजनीति पार्टीमा कोही व्यक्ति नेतृत्वमा हुनु र नहुनुको अर्थ सरल रेखाको आधारमा विश्लेषण गर्न खोज्छौं । वास्तविक रूपमा त्यसो हुँदैन । र होइन पनि ।  नेतृत्वको प्रश्न कहिलेकाँही बिजगणीतिय र कहिलेकाँही ज्यामितीय हिसाबले बुझ्नुपर्ने हुन्छ ।  नेपालमा मूल राजनीतिक पार्टीको नेतृत्वको अधिकांश समय पार्टी विवाद मिलाउने खर्च भएको देखिन्छ । जनादेश अनुरूपका कार्यदिशा र कार्यभार पुरा गर्नुपर्नेमा पार्टी कार्यकर्ता मिलाउनमा नै मुख्य समय खर्चिँदा पक्कै नतिजा प्रभावित भएको छ । हरेक राजनीतिक पार्टीका मुल नेतृत्व प्रश्न नै प्रश्नले घेरिएका छन् । पार्टी विवादको आन्तरिक कलह बोकेर सरकार सञ्चालन गर्नुपर्ने बाध्यताबाट नेतृत्व मुक्त हुन सकेको देखिँदैन ।   जनताले दिएको जनादेश बासी हुने बेलासम्म पार्टी सुद्दढ हुने सकेका देखिँदैनन् । निर्वाचित दल अर्को निर्वाचन नहुँदासम्म सिधा रूपमा जनताप्रति केन्द्रित हुन्छन् । जनताले आफ्नै प्रतिनिधिलाई खुला रूपमा भेट्न, प्रश्न गर्न र गुनासो गर्न स्वतः पाउँछन् । पार्टीका कार्यकर्तालाई होइन, जनप्रतिनिधिलाई सिधा प्रश्न गर्न र सुझावको लागि जनतालाई ढोका सधै खुल्ला राख्नु पर्दछ । नेतृत्वको गतिशीलताको सिद्धान्त आधारभूत सिद्धान्त हो । जनमतबाट अस्वीकृति र वैधानकिता प्राप्त नभएको नेतृत्वको स्वेच्छारी हुन्छ । नेतृत्व समयको बहावसँगै बग्न सक्नु पर्दछ ।  नेपाल बनाउने आजको प्रश्न नेतृत्वसँग जोडिएको छ ।  आज पनि नेपालको मुख्य प्रश्न नेतृत्वकै वरिपरि घुमिरहेको छ । एक कर्मठ नेतृत्वको खोजी र विकासको लागि लगातार अभ्यास र प्रयास भए पनि सफलता हात परिसकेको छैन । २०६४ सालमा झण्डै दुई तिहाईको जनमत प्राप्त गरेको माओवादीलाई प्राप्त जनमतको मूल मियो नै देश बनाउने नेतृत्वको खोजी हो । उसले त्यसलाई क्यास गर्न सकेन ।  विसं २०७४ सालमा देशका दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादी मिलेर जेट विमान नै निर्माण भयो । चालक दुई भए । त्यो विमान पनि नेपाली राजनीतिको आकाशमा सफलतापूर्वक अवतरण हुन नसकी दुर्घटना भयो । त्यो मत पनि नेतृत्वको स्थायित्व र स्थिरिताको लागि नै  थियो ।  विमान दुर्घटना भएपछि विकासको यात्रा अलपत्र नै भयो । पटक–पटक आन्दोलन, हडताल र आवाजको खोजी राजा रजौटा बनाउन होइन, जनतालाई शासनको अन्तिम शक्ति र शासन सञ्चालनमा जनताको आधिपत्य स्थापित गर्नु नै हो ।  वर्तमान समय युवापुस्ता जेनजीले गरेको सडक प्रदर्शन पनि इथिकल नेतृत्वको खोजी हो । संसारमा लोकतान्त्रिक नेतृत्वको विकास आवधिक निर्वाचन नै हो । योभन्दा अर्को उत्तम विकल्प वर्तमान विश्वमा पाइँदैन । जनता जति बलिया भए नेतृत्व त्यति नै बलियो जन्मिन्छ । जनता चेतनाको हिसाबले कमजोर बन्दै गए कमसल नेतृत्व जन्मिन्छ । कुपोषित विचारले जन्माएको नेतृत्व सधैं रोगी हुन्छ । संसारमा हुने हरेक देशका चुनावले नयाँ नेता जन्माउने, नेतृत्वलाई अनुमोदन गर्ने र स्थापित गर्ने गर्दछन् । हाम्रो जस्तो आफ्‌नै पार्टीका कार्यकर्ता र सीमित वर्गको पहुँचमा सीमित राजनीतिक नेतृत्व परीक्षण कालक्रमसँगै फरक स्वरूपले हुँदै गएको छ । आगामी चुनाव सूचना प्रविधिसँग हुर्केको पिँढीले पक्कै नेतृत्वको सही परीक्षण गर्न सक्छ । जन्मिँदै विश्व हत्केलामा देखेको पिँढीले विकासको शिरा र धमनी देखेको छ । अनुभूत गरेको छ । त्यसले प्रदान गर्ने नेतृत्व अपेक्षा गरे भन्दा फरक हुन सक्छ, त्यसको पूर्वानुमान र स्वीकार गर्न कार्यकर्ताको बीचमा घेरिएको मूल नेतृत्वले सहजै अनुमान नगर्न सक्छ ।  पार्टी नेतृत्वको विकासको मूल सर्त नै आन्तरिक लोकतन्त्र सुदृढ गर्नु हो । कार्यकर्ताले नै प्रश्न गर्न नपाउने पार्टीहरूमा जनताले गुनासो र प्रश्न गर्न पाउनु टाढाको कुरा हो ।  प्रश्नहरूले उत्तरदायित्त्व खोज्छन् । जवाफ माग्छन् । हिसाब खोज्छन् । प्रश्नलाई जति सम्बोधन गर्दै गयो पार्टी नेतृत्व त्यति नै उत्तरदायित्त्व र जनप्रिय हुँदै जाने राजनीतिक सिद्धान्त हो।  फेरि पनि मुलुक हाँक्ने चालक नै राजनीतिक नेतृत्व हो । देशको विकास र अविकासको धेरथोर भार सबैले बोक्नुपर्ने भएता पनि मुख्य भार आज पनि मूल नेतृत्व नै भोग्नुपर्ने राजनीतिक विधिशास्त्रीय मान्यता हो । नेतृत्वको वर्तमान अवधारणाले लोकप्रिय नेतृत्व मात्रै होइन। अथेन्टिक नेतृत्व समेत खोजिरहेको छ । अथेन्टिक नेतृत्वले नै वर्तमानका प्रश्नहरूको उत्तर लिपिबद्ध गर्ने काम गर्दछ ।  वर्तमान विश्वको समकालीन नेतृत्वलाई प्रश्नबाट बाहिरिने छुट छैन । हिजो जवाफ दिए हुन्थ्यो जवाफदेहिता चाहिँदैनथियो । हिजो उत्तर दिए हुन्थ्यो आज उत्तरदायित्व निर्वाह  नगरे हुन्थ्यो । हिजो वचन दिए हुन्थ्यो आज पूरा गर्नु पर्दछ । उत्तर दिने प्रणालीको विकासले पक्कै नेतृत्वलाई बलियो नै बनाउँछ ।  कमजोर बनाउँदैन ।  राजनीतिक नेतृत्व जब आफ्नो भातृ संगठन, कार्यकर्ता र शुभचिन्तकबाट घेरिन्छ । उक्त घेराभन्दा बाहिरको दृष्य देख्दैन वा देख्न खोज्दैन त्यसपछि पतनको बाटो सुरु हुन्छ । हाम्रोमा राजनीतिक दलका मुख्य नेतालाई सामान्य मानिसले भेट्न सक्दैनन् । नागरिकका जनजीविकाका विषय देख्ने भिजिबिलिटी कमजोर हुन्छ र सम्पर्क विच्छेद हुन्छ । अहिलेको राजनीतिक दलको मुख्य समस्या नै यही हो । शासन सञ्चालनसँग कहिलेकाँही जनादेश हुँदाहुँदै पनि बर्हिगमनको बाटो सुखद हुँदैन । समयले लोकतान्त्रिक पद्धति अनुरूप  स्थापित सरकारको पनि दुःखद पतन गराउने गर्दछ । नेपालमा जेनजी युवाहरूको प्रदर्शनले पनि लोकतान्त्रिक विधि र प्रक्रिया बमोजिम स्थापित सरकारलाई  दुई दिनमा नै परास्त गरे । सन् २०२४ मा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि जननिर्वाचित कार्यकारी हुन् तर, विद्यार्थी आन्दोलनले उनले देश छोडेर हिँड्नु पर्ने अवस्था आयो । सन् २०२२ मा श्रीलंकामा आर्थिक संकटको कारण भएको आन्दोलनको कारण राष्ट्रपति गोटाबया राजापाक्षे देश नै छोड्नु पर्‍यो । त्यसकारण नेतृत्वको मौका सधैं आउँदैन । आउँदा देशलाई शिख र झण्डालाई काँधमा राखेर कार्य गर्ने नेतृत्व हुनु पर्दछ । कोही कसैको दबाब र प्रभावमा नपरी सिधा रुपमा जनतासँग झुक्ने नेतृत्वको कद बढ्न जान्छ । परिवर्तनको लय समाउने मार्ग तयार हुन्छ । वर्तमान नेतृत्वले हार्‍यो की जित्यो भन्दा पनि देशले कति जित्छ भन्ने प्रश्न नै मुख्य प्रश्न हो ।

समस्या भ्रष्ट मानसिकतामा

नेपालको शासनसत्तामा आरोह-अवरोह काटमार र छलकपटबाहेक केही पनि छैन । भीमसेन थापा जेलमै सड्नु पर्‍यो । फत्तेजंग चौतारी र माथवरसिंह थापा लगायतहरू काटिनु पर्‍यो । जंगबहादुरको उदय हुन कोतपूर्व घट्नु पर्‍यो ।  राणाशासनको पतन गर्न शहीदहरूले रगत बगाए । प्रजातन्त्र प्राप्त गर्न धेरै मान्छे मर्नु पर्‍यो । समकालीन राजनीतिक दललाई सत्तामा पुर्याउने धेरैले ज्यान बलिदान दिए । १७ हजार मानिसको बलिदानपछि माओवादी सत्तामा पुग्यो । राजालाई सत्ताच्युत गरी दलको शासन प्रारम्भ गर्न धेरै मान्छे जनआन्दोलनको क्रममा मृत्युवरण गरे । हरेक परिवर्तनको निर्णायक बिन्दुमा कुनै न कुनै रूपमा हिंसाको राजनीति निर्णायक भयो ।  कोतपर्वपछि राणा बलिया भए । २००७ सालपछि राजा बलिया भए । २०४६ सालको आन्दोलन, १० वर्षको सशस्त्र द्वन्द्व र २०६३ सालको आन्दोलनले राजनीतिक दल बलिया भए अनि सत्ता सम्हाले ।  यही भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन पनि हिंसात्मक र ध्वंशात्मक बन्यो । धेरै युवाले ज्यान बलिदान गरे । संसद, सिहंदरबार, अदालत, सञ्चार, औद्योगिक प्रतिष्ठान र निजी घरमा व्यापक तोडफोड, लुटपाट र आगजनी भयो। अहिले अर्को पक्ष सत्तामा आइपुगेको छ । रक्तपातपूर्ण यात्राबाट सत्तारोहण जारी छ । यद्यपि, बिचरा जनता कहिल्यै बलिया हुन पाएनन् ।  हामीले सधैं व्यवस्थामा समस्या देख्यौं, संविधानमा र पद्धतिमा समस्या देख्यौं । तर, हाम्रो व्यवहार, नैतिकता र जीनमा भएको समस्या बिर्सियौं । ठूलो समस्या भ्रष्ट मानसिकतामा छ भन्ने बिर्सियौं ।   भ्रष्ट मानसिताको सम्बन्धमा एउटा अन्तर्राष्ट्रिय प्रसंगबाट सुरु गरौं । हालै २०२५ सेप्टेम्बरमा फ्रान्समा ‘ब्लक एभ्रिथिङ’ नामक आन्दोलन चलिरहेको छ । फ्रान्सका राष्ट्रपतिले एमानुएल माक्रोनले त्यहाँ दुई वर्षमा पाँचवटा प्रधानमन्त्री फेरिसकेका छन् । यो प्रदर्शन पनि एक्स, टिकटक, टेलिग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत संगठित छ । यसमा नागरिक स्वतफूर्त सहभागी रहेका छन् । उनीहरूले कारफोर, अमेजन, ओशाँजस्ता ठूला खुद्रा पसलहरूको बहिष्कार, बैंकबाट पैसा झिक्ने अभियान, नगरपालिका भवनजस्ता प्रतीकात्मक स्थानहरूको शान्तिपूर्ण कब्जा, छिमेकी सभा र हड्ताल कोष स्थापना जस्ता कार्य गर्दै आएका छन् ।  उक्त प्रदर्शन हुनुको पछाडि नयाँ प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले राष्ट्रिय बजेटबाट ४३.८ मिलियन फ्रांक कटौती, घाटा घटाउने योजना, दुईवटा राष्ट्रिय बिदा हटाउने प्रस्ताव, पेन्सन फ्रिज गर्ने निर्णय र स्वास्थ्य क्षेत्रमा ५ अर्ब फ्रांकको कटौती गर्ने जस्ता कार्यक्रमका विरुद्ध छन् । नेपालमा पनि भर्खरैमात्र भ्रष्टाचार नियन्त्रण र सुशासन सुनिश्चितताको माग गर्दै युवापुस्ता जेनजीले गरेको आन्दोलनको कारण सरकार विघटन भई नयाँ सरकार निर्माण भएको छ । युवाले राजनीतिक र प्रशासनमा हस्तक्षेप बढाई भ्रष्टाचार निर्मूल पार्न अठोट गरेका छन् ।  फ्रान्स र नेपालमा सँगसँगै आन्दोलन भएपनि मागहरूमा व्यापक फरक छ । फ्रान्सको आन्दोलन नागरिकले प्राप्त गर्ने शासकीय सेवासुविधा कटौतीको विषयमा छन् भने नेपालमा जेनजीका माग शासकीय सुधार र सुशासनमा केन्द्रित छन् ।  सरकार विरुद्धको आन्दोलन धनी र गरिबी दुवै देशका नागरिकले गर्दछन् । फ्रान्स हाम्रोभन्दा विकसित र कम भ्रष्टाचार हुने मुलुकको सूचीमा पर्दछ । फ्रान्स भ्रष्टाचार सूचकांक, २०२५ मा १०० मा ६७ अंक प्राप्त गरी अंकतालिकाको २५औं स्थानमा रहेको छ । जबकि नेपाल ३४ अंक प्राप्त गरी १०७ औं स्थानमा रहेको छ । यसको अर्थ हो- नेपाल अत्यधिक भ्रष्ट मुलुकमा पर्दछ भने फ्रान्स भ्रष्टाचार निकै कम हुने मुलुकको सूचीमा पर्दछ । नेपालका भ्रष्टाचार बढ्दै जानुका पछाडि विविध कारण भएता पनि जवाफ दिनु नपर्ने डिप स्टेट प्रणालीको विकास हुनु नै हो ।  नेपालमा भ्रष्टाचार निवारणका विधिगत प्रयास आजभन्दा ३५ वर्ष अगाडिबाट नै भएको हो । यद्यपि अपेक्षाकृत रूपमा भ्रष्टाचार न्यूनीकरण हुन सकेन । यसका पछाडि धेरै कारण होलान् । त्यसमध्येको एउटा कारण हो– भ्रष्ट मानसिकता । अझ तिखो रूपमा भन्दा लुटेरा मानसिकता हो ।  भ्रष्ट मानसिकता के हो र कोसँग छ भन्ने केही तथ्य उजार गरौं । २०८१ साल चैत्रमा  दुर्गा प्रसाईंहरूले राजा फर्काउन गरेको आन्दोलनमा लुटपाट मच्चियो । खासगरी नेपाली व्यापारी मीनबहादुर गुरुङले सञ्चालन गरेको भाटभटेनी लुटियो । दिनदहाडै  लुटपाट भयो । राज्य निरीह सावित भयो । त्यही समयमा यातायात बन्द भयो, कर्फ्यु लाग्यो, सवारीसाधन चल्न पाएनन् । त्यही मौकामा पठाओ, राइडरहरूले अफलाइन सेवा दिए । सय रुपैयाँमा यात्रा गर्न सकिनेमा दुई/तीन समय समेत लिन भ्याए । अप्ठ्यारोको बेला मानवीयता देखाउनु पर्नेमा झन् लुटियो । यिनै राइडरहरूले पंक्तिकारसँग कयौं पटक नेता, कर्मचारी र व्यापारी सबै भ्रष्ट भएको सुनाउँदै गाली व्यक्त गरे । आफूले नपाउँसम्म अरूलाई भ्रष्ट भन्ने, मौका पाए आफू त्योभन्दा दोब्बर लुट्ने संस्कार र अभ्यास नै भ्रष्टाचारको जडो हो ।  भदौ २३ गते युवाहरूले गरेको आन्दोलको क्रममा कलिला विद्यार्थीको मृत्युपछि उत्पन्न परिस्थितिले भदौ २४ गते आगजानी र लुटपाट मच्चियो । यस पटकको निशानामा व्यापारिक भवन, प्रशासनिक भवन, भौतिक संरचना, निजी सम्पत्ति र होटलसमेत परे । यसले अर्बौंको क्षति गरेको छ । यसको वास्तविक क्षति अध्ययनले देखाउला तर यसमा देखिएका दृष्य निकै दर्दनाक छन् ।  जित्न कसले जित्यो थाहा छैन तर, राज्यले अर्बौं क्षति भोग्न पर्‍यो । यस पटक पनि फेरि निशानामा परेको भाटभटेनीमा आगजानी र लुटापाट भयो । यसको प्रतिफलमा हजारौं मान्छेको रोजीरोटी गुमेको छ । लगानी गर्नेको मनोबल कमजोर भएको छ, व्यवसायी हतोत्साहित भएका छन् । होटलहरू जले, हजारौं काम गरी खानेहरू बेरोजगार हुनुपर्‍यो । व्यवसायीलाई क्षति पुग्यो । राज्यलाई कर घाटा निश्चित छ । लगानी सुरक्षा नहुँदा लगानी वातावरण धराशायी भयो । सरकारी भवन जलेर नष्ट भए । सहज रूपमा सेवा दिनसक्ने अवस्था छैन ।  हामी राज्यप्रति कति गैरजिम्मेवार छौं ? हामी हाम्रो दायित्व निर्वाह गर्न किन सक्दैनौं ? हाम्रो रगतमा अपराध मात्रै छ ? परोपकार किन छैन ? गम्भीर प्रश्न हामीमाथि नै छ । यसले बढ्दै गएको साक्षरता अर्थहिन देखाउँछ । चेतनाको स्तर कमजोर देखाउँछ । यस्तो चेतनाले लोकतन्त्र धान्न सक्दैन । उद्यमशीलता प्रवद्र्धन गर्दैन ।   यसलाई फ्रान्सँग जोडेर हेरौं । फ्रान्समा भएको आन्दोलनमा असन्तुष्ट प्रर्दशनकारीले ठूला महल र व्यापारिक सामान नकिन्ने अभियान चलाएका छन्, अवज्ञा गरेका छन्, बहिष्कार गरेका छन् । हामीलाई मन पर्दैन भने बहिष्कार गर्ने अधिकार छ । त्यहाँ गएर खरिद नगर्ने अधिकार छ । राजस्व चुहावट गरेको मुद्दा गर्ने अधिकार छ । तर तोडफोड गर्ने, लुटपाट गर्ने, जलाउने अधिकार छैन । लोकतन्त्रमा समस्याका निकास बलबाट होइन, विवेक र कानुनबाट खोज्नुपर्छ । कसै उपर चित्त बुझ्दैन भने अदालत छ । अनुसन्धान गर्ने निकाय छन् । पात्र हटाउने हो । प्रवृत्ति हटाउने हो । संस्था ध्वस्त गर्ने होइन ।  साक्षरता बोकेका तर सचेतना शून्य भएका रोगीप्राणीले सभ्यता प्रदर्शन गर्न नसक्ने रहेछन् । सभ्यता र सम्पदाको जर्गना गर्न नसक्ने रहेछन् । फेरि फ्रान्सँग जोडर हेरौं– त्यहाँ प्रदर्शनकारीले नगरपालिका भवन शान्तिपूर्ण कब्जामा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर हाम्रोमा भने ठ्याक्कै उल्टो भयो । सबैथोक खरानी बनाइदिए । नागरिकलाई बर्दी बिनाका प्रहरी भनिन्छ । सरकार जवाफदेही भएन भन्दैमा हामीलाई पनि जवाफदेही नहुने छुट छैन । भ्रष्ट पद्धतिको विकास भयो भन्दैमा आफू पनि भ्रष्ट बन्नु हुन्न । यस आन्दोलनमा लुटेरा मानसिकता जबरजस्त देखियो ।  नतिजा नदिने प्रक्रिया खोज्ने र हरेक सार्वजनिक काममा व्यक्तिगत लाभ खोज्ने कर्मचारीतन्त्र सुध्रिएन भने नेताको जस्तै भैरवनाथ गणमा गएर सुरक्षा लिनुपर्छ भन्ने सन्देश समेत छोडेको छ । प्रदर्शनका क्रममा भएका घटनाका फुटेज बाहिरिएका छन् । लुट्नेहरूको ताँती देखिन्छ । यस्ता भ्रष्ट मानसिकता र निर्लज्ज मानसिकताले समृद्ध नेपाल बन्दैन । विकसित देशमा आन्दोलन पनि रचनात्मक हुन्छ, सिर्जनशील हुन्छ । तर, नेपालमा जस्तो सरकार, त्यस्तै नागरिक । सरकार र नागरिकको मिल्दो कम्बिनेशन छ ।  भ्रष्टाचार भ्रष्ट मानसिकताको उपज हो । भ्रष्ट मानसिकता हुनेहरू अवसर नपाउँदा भ्रष्टाचारको विरोध गर्छन् । नेता, राजनीतिज्ञ, कर्मचारी, पत्रकार र व्यापारी सबैलाई गाली गर्छन्  । पायो भने लुट्छन् भन्ने तथ्य फेरि उजागर भएको छ ।  हामी सबै अटाउने र सबै रमाउने समाज खोज्छौं । तर, यस्तो दरिद्र मानिसकताले त्यो सम्भव छैन । राज्यका हरेक क्षेत्रमा काम गर्ने कर्ताहरूको जन्म समाजको कोखबाट भएको हुन्छ । फेरि समाज व्यक्तिहरूबाटै निर्माण हुन्छ । पाइला–पाइला ठग्ने मात्र हो भने यो देश कहिल्यै बन्दैन । जुन देशका नागरिक बलिया छन्, त्यो देश बलियो हुन्छ, लोकतन्त्र जीवन्त हुन्छ । जब नागरिक नै भ्रष्ट भए तिनले जन्माउने नेतृत्व पनि भ्रष्ट नै सावित हुन्छ । भनिन्छ- हरेक समाजले आफ्नो गक्ष अनुसारको नेता जन्माउँछ । समाजबाट कर्मचारी, व्यापारी, पत्रकार वा अन्य पेशाकर्मी बन्दछन् ।  म कस्तो छु ? मैले के गरेको छु ? स्वमूल्यांङकन नै जरुरी छ । सुधार आफैंबाट, आफ्नै परिवारबाट जरुरी छ । सूचना, प्रविधि र सञ्जाल तथा रोबोटिक युगको मानिसले व्यवहार उही दास र ढुङ्गेयुग अनुसारको गरेर विकास कहिल्यै हुँदैन । विकासको साझेदार नागरिक पनि हुन् । सचेत र विवेकशील नागरिकले मात्र मुलुक र संविधानको रक्षा गर्न सक्छ । भ्रष्टाचारविरुद्ध खबरदारी गर्नसक्ने हिम्मत गर्न सक्छ । आफै भ्रष्ट समाजको अनुहारमा कुरूप देखिन्छ ।  यसपटकको प्रदर्शनले जनताप्रति सिधा रूपमा उत्तरदायी नहुने र जनसराेकारका विषयलाई नजरअन्दाज गर्ने सरकारको बहिर्गमन संविधानको धाराबाट मात्र होइन, सडकको राप र चापले पनि बहिर्गमन हुन्छ भन्ने सन्देश छोडेको छ । जनभावनाको अवमूल्यन गर्ने, क्षमतावान व्यक्तिलाई पन्छाउने, आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक दल, तिनका कार्यकर्ता र जनमतको दुरुपयोग गर्ने दललाई नागरिकप्रति सचेत र संवेदनशील हुन थप्पड हानिदिएको छ ।  नतिजा नदिने प्रक्रिया खोज्ने र हरेक सार्वजनिक काममा व्यक्तिगत लाभ खोज्ने कर्मचारीतन्त्र सुध्रिएन भने नेताको जस्तै भैरवनाथ गणमा गएर सुरक्षा लिनुपर्छ भन्ने सन्देश समेत छोडेको छ । अबको पुस्ता सेवा खोज्छ, आसन र भाषण होइन, सुनिश्चितता खोज्छ, शासन होइन भन्ने आदेश राज्य संयन्त्रलाई दिएको छ । अतः युवाले कसैलाई सत्ताको घोडाबाट भुइँमा पछार्न र कसैलाई सत्ताको सिंहासनमा चढाउने रगत चढाएका छैनन् । भ्रष्टाचार नियन्त्रण गरी जनआक्रोश र जनअसन्तुष्टिलाई सम्बोधन गर्न पठाएका छन्  । सुशासनको माग गरेर मृत्युवरण गर्ने युवाको रगतलाई न्याय गर्नु अन्तरिम सरकारको मुख्य अभिभारा हो ।